• १९ असार २०८१, बुधबार

वैरागी काइँला र एलपी जोशीलाई पुरस्कृत गरिने

blog

काठमाडौँ, असार १७ गते । जनकविकेशरी धर्मराज-सावित्री थापा प्रतिष्ठानले २०८० सालको जनकविकेशरी धर्मराज-सावित्री थापा लोक संस्कृति-साहित्य पुरस्कार र जनकविकेशरी धर्मराज-सावित्री थापा लोक गीत-सङ्गीत पुरस्कारका लागि स्रष्टाको नाम घोषणा गरेको छ ।

प्रतिष्ठानले जनकविकेशरी धर्मराज-सावित्री थापा लोक संस्कृति-साहित्य पुरस्कार आयामिक सिद्धान्तका प्रवर्तकमध्येका एक आयामवादी कवि वैरागी काइँला र जनकविकेशरी धर्मराज-सावित्री थापा लोकगीत-सङ्गीत पुरस्कार लोक संस्कृतिकर्मी एलपी जोशी (लक्ष्मीप्रसाद जोशी)लाई प्रदान गर्ने भएको हो ।  

प्रतिष्ठानका अध्यक्ष मदनराज थापाका अनुसार नेपाली लोकसंस्कृति-साहित्यको श्रीवृद्धिमा निरन्तर समर्पित भई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान गरेकाले कवि काइँलालाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो । त्यसैगरी विगत ६ दशकदेखि नेपाली लोकगीत गायन र सङ्कलन गर्दै लोकगीत सङ्गीतको समुन्नतिमा लागि परेर यस क्षेत्रमा विशिष्ट योगदान दिँदै आउनुभएका लोकसंस्कृतिकर्मी जोशीलाई २०८० सालको जनकविकेशरी धर्मराज–सावित्री थापा लोक गीत-सङ्गीत पुरस्कार प्रदान गर्न लागिएको हो ।

पचास हजार राशिका यी दुवै पुरस्कार आगामी साउन १ गते प्रदान गरिने अध्यक्ष थापाले बताउनुभयो । नेपालको लोक संस्कृति तथा लोकगायनका क्षेत्रमा लामो समय काम गर्नुभएका जनकविकेशरी धर्मराज थापा तथा उहाँकी धर्मपत्नी सावित्री थापाको स्मृतिमा जनकविकेशरी धर्मराज-सावित्री थापा प्रतिष्ठानले यी पुरस्कारको स्थापना गरेको हो । रासस