• १९ असार २०८१, बुधबार

निःशुल्क शिविर कुर्नुपर्ने बाध्यतामा नरैनापुरवासी

blog

सिराज खान

नेपालगन्ज, असार १७ गते । बाँकेको दुर्गम र अति नै पिछडिएको मानिने नरैनापुर गाउँपालिकाका अधिकांश जनताले अझै पनि राम्रो उपचार सेवा पाउन निःशुल्क स्वास्थ्य शिविर नै कुरेर बस्नुपर्ने बाध्यता छ । गाउँपालिकामा रहेको अस्पताल र स्वास्थ्य केन्द्रहरूले स्तरीय सेवा नदिँदा पालिकाका अधिकांश जनताले कि त रोग लुकाएर बस्नुपरेको छ कि बेला बेलामा सञ्चालन गरिने निःशुल्क स्वास्थ्य शिविरहरू कुरेर बस्नुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ । 

नेपाली सेनाको श्री बज्र दल गणद्वारा नरैनापुरमा हालै आयोजित निःशुल्क स्वास्थ्य शिविरमा पुगेका अधिकांश बिरामीले आर्थिक अभाव र सेवा अभावले उपचारबाट वञ्चित हुनु परेको गुनासो गर्नुभयो । निःशुल्क स्वास्थ्य जाँच र औषधि वितरण गरिने थाहा पाएपछि एक घण्टा पैदलयात्रा गरेर शिविरमा पुग्नुभएकी नरैनापुर गाँउपालिका–६ की ७० वर्षीया निशादर पठानिनले स्थानीयस्तरमा स्तरीय उपचार पाउन नसक्दा यस्तै शिविर कुरेर बस्नुको विकल्प नरहेको बताउनुभयो । उहाँले लामो समयदेखि शरीर र छाती दुख्ने समस्याले पीडित भए पनि स्थानीयस्तरमा उपचार नपाएको तथा नेपालगन्ज जाने पैसा नभएकाले रोग पालेर बस्नु परेको दुःखेसो सुनाउनुभयो । सोही प्रकारले नरैनापुर–५ का नसिम खाँले आर्थिक अभावले लामो समयदेखि उपचार गराउन नसकेको जनाउँदै बेला बेलामा हुने निःशुल्क शिविर कुरेर बस्ने अनि त्यसमै गएर स्वास्थ्य जाँच गराउने गरिएको बताउनुभयो । उहाँले यदि बेला बेलामा यस्ता शिविर नहुने हो भने नरैनापुरका धेरै बासिन्दाले उपचार नै नपाउने अवस्था रहेको प्रस्ट्याउनुभयो । 

यो दुःखेसो नरैनापुरका पठानिन र खाँको मात्र नभई सो पालिकाका अधिकांश गरिब र विपन्नको हो । उहाँहरूले नरैनापुरमै स्थायी रूपमा राम्रो र स्तरीय उपचार सेवा पाउने व्यवस्था गरिनुपर्ने माग गर्दै भवन मात्र बनाएर नहुने भएकाले उपकरण र राम्रा चिकित्सक पनि आवश्यक रहेको बताउनुभएको छ । नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर राखेको थाहा पाएर ठुलो सङ्ख्यामा स्थानीयहरू टाढा टाढाबाट गर्मीको समेत पर्वाह नगरी सेवा लिन आउनुभएको सेनाको बज्र दल गणका गणपति रविन श्रेष्ठले बताउनुभयो । उहाँले सो शिविरमा ६७० जनाले स्वास्थ्य उपचार गराएर निःशुल्क औषधी लिएर लाभान्वित भएको बताउनुभयो । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले स्वास्थ्य उपचारको क्षेत्रमा अहिले पहिलेको जस्तो जटिल अवस्था नरहेको जनाउँदै तर आवश्यक उपकरण र विशेषज्ञ चिकित्सकको अभावले खोजेको जस्तो उपचार दिन नसकिएको बताउनुभयो । उहाँले त्यसका लागि सम्बन्धित निकायसँग पटक पटक माग गरिएको जनाउँदै फेरि पनि माग गर्ने बताउनुभयो ।