• १९ असार २०८१, बुधबार

बोलबम मन्दिर नयाँ स्वरूपमा

blog

बुटवल समाचारदाता

बुटवल, असार १७ गते । पश्चिम नेपालको पशुपतिनाथ भनेर परिचित रुपन्देहीको सैनामैना नगरपालिका–१ मा रहेको ऐतिहासिक पर्रोहा परमेश्वर बोलबम धाम मन्दिरले नयाँ स्वरूप पाएको छ । मन्दिरको पहिलो चरणको पुनर्निर्माणको काम सम्पन्न भएसँगै मन्दिर मनमोहक र आकर्षक देखिएको छ । 

सङ्घीय सरकार र सैनामैना नगरपालिकाको पहलमा पर्रोहा परमेश्वर बोलबम धामलाई लुम्बिनी प्रदेशकै प्रमुख धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्ने गरी पहिलो चरणको पुनर्निर्माणको काम सम्पन्न भएको हो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामबली चौधरीले मन्दिरको गुरुयोजना बनाएर पहिलो चरणको काम सम्पन्न भएको बताउनुभयो । 

पहिलो चरणमा धामको पुनर्निर्माणका लागि छ करोड ५७ लाख रुपियाँ खर्च भएको छ । पुनर्निर्माणमा सङ्घीय सरकारको ७० प्रतिशत र ३० प्रतिशत स्थानीय सैनामैना नगरपालिकाको खर्च भएको हो । अध्यक्ष चौधरीले लागत साझेदारीमा बोलबम क्षेत्र विकास परियोजना स्वीकृत भएपछि पुनर्निर्माणको काम भएको र दोस्रो चरणमा करिब आठ करोडको लगानीमा थप निर्माणको काम हुने बताउनुभयो । मन्दिरको २३ कट्ठा जग्गामा गुरुयोजना तयार भएको र मन्दिर पुनर्निर्माणमा प्यागोडा शैलीको कलात्मक काठ, ढुङ्गा, सुर्खी इँटाको प्रयोग गरी तामाको छाना र गजुर राखिएको छ । 

मूल मन्दिर ५४ फिटको रहेको छ । धामका कार्यालय सचिव हरि शर्मा गौतमले मन्दिर पुनर्निर्माण भएपछि पर्रोहा बोलबम धाम मन्दिर आकर्षक देखिनुका साथै यस क्षेत्रको धार्मिक पर्यटक बढ्ने आशा गरिएको बताउनुभयो । दोस्रो चरणको कामसमेत सम्पन्न भएपछि बोलबम क्षेत्र विकास कोष स्थापना गरी मन्दिरको दीर्घकालीन गुरुयोजना बन्ने उहाँको भनाइ छ ।

गुरुयोजना अनुसारको मन्दिरको पुनर्निर्माणका लागि सङ्घीय र प्रदेश सरकारबाट थप सहयोगको अपेक्षा गरिएको बताइएको छ । अध्यक्ष चौधरीले स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, सङ्घसंस्था र स्थानीयको साथ आवश्यक रहेको बताउनुभयो । सैनामैना नगरपालिकाले धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्ने गरी गुरुयोजना बनाएर पुनर्निर्माणको काम सुरु गरेको थियो ।  अब दोस्रो चरणको पुनर्निर्माणको काम छिटै सुरु हुने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।