• १८ असार २०८१, मङ्गलबार

बजेट पुनर्लेखनको माग गर्दै चार दलले बुझाए ज्ञापनपत्र

blog

मुख्यमन्त्रीलाई चार दलले ज्ञापनपत्र बुझाउँदै । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

जनकपुर, असार १६ गते  । मधेश प्रदेशको बजेट पुनर्लेखनसहित तीन बुँदे माग गर्दै चार दलका संसदीय दलका नेताहरूले संयुक्त रूपमा आइतबार मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । मधेश प्रदेश सभामा आर्थिक वर्ष २०८१-०८२ को पेस भएको बजेट त्रुटिपूर्ण भएको मुख्यमन्त्री र मन्त्रीहरू स्वयम्ले स्विकारिसकेको दाबी गर्दै बजेट पुनर्लेखन गरी प्रदेश सभामा छलफल गराउन चार दलका नेताले माग गरेको हो । 

मधेश प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक रानीकुमारी शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता कञ्चन बिच्छद्वारा संयुक्त रूपमा हस्ताक्षरित ज्ञापनपत्र मुख्यमन्त्री सतिशकुमार सिंहलाई बुझाउनुभएको छ । बुझाएको ज्ञापन पत्रमा, "आर्थिक वर्ष २०८१-०८२ को प्रदेश सभामा पेस भएको बजेट सन्दर्भमा यही असार १३ गते मुख्यमन्त्रीको कार्यकक्षमा बसेको सर्वदलीय बैठकमा मुख्यमन्त्री, अर्थमन्त्रीबाट प्राप्त जानकारी अनुसार पीएलएमबीआइएस ह्याकरहरुबाट ह्याक गरी कार्यक्रम तथा बजेट रकम प्रविट गरिएको एवम् बजेट त्रुटिपूर्ण भएको मुख्यमन्त्री र मन्त्रीहरूबाट स्वीकार गरिसकेको छ," उल्लेख गरिएको छ ।

बजेट त्रुटिपूर्ण रहेको स्विकारिसकेको हुनाले सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन हुनुपर्ने, बजेट पुनर्लेखन गरी प्रदेश सभामा छलफल हुनुपर्ने र बजेट पुनर्लेखन गर्दा सबै संसदीय क्षेत्रमा सन्तुलित बजेट कायम हुनुपर्ने ज्ञापनपत्रमा माग गरिएको छ ।