• १८ असार २०८१, मङ्गलबार

पहिरोमा एघारको मृत्यु

blog

काठमाडौँ, असार १६ गते । शुक्रबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ । गुल्मी, बागलुङ र स्याङ्जा जिल्लाका विभिन्न स्थानमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको हो । 

तम्घास समाचारदाताका अनुसार गुल्मीमा पहिरोले घर पुरिँदा एकै घरका पाँच जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले मालिका गाउँपालिका–६, अर्जै कडेलपाटाका भेषबहादुर कामीको घरमाथिबाट ढुङ्गासहित लेदो पहिरो खस्दा पाँच जनाको पुरिएर मृत्यु भएको जनाएको छ । दुईतले जस्ताले छाएको घर पुरिँदा घरमा रहेका सबैको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले पहिरोमा परी अन्दाजी ५५ वर्षीय भेषबहादुर कामी, निजकी ४८ वर्षीय श्रीमती सुन्तली कामी, २६ वर्षीय बुहारी सीता विक, आठ वर्षीय नातिनी सपना विक र आठ महिनाकी नातिनी विपना विकको मृत्यु भएको जानकारी दिनुभयो । घटनाको स्थलगत मुचुल्का तयार गरी पाँचै जनाको शवलाई गुल्मी अस्पतालमा पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको उहाँले जानकारी दिनुभयो । 

गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले तत्काल राहत र उद्धारका लागि जिल्लास्थित सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले कालीगण्डकी कोरिडोरको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ र २ को सीमा  गरगरेमा सडकमाथि ठुलो ढुङ्गा खस्ने अवस्थामा रहेकाले चनाखो भएर यात्रा गर्न आग्रह गर्नुभएको छ । 

यसैबिच म्याग्दी समाचारदाताका अनुसार बागलुङको गलकोट नगरपालिका–८, काँडेबाँसको बिसौनामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । पहिरोमा परेर बेपत्ता ५५ वर्षीय प्रेम विक र उहाँकी श्रीमती ५० वर्षीय वसन्ती विकको शव शनिबार दिउँसो पहिरो स्थलमा फेला परेको थियो । पहिरोमा परेर विककी बुहारी र नातिनी घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलका अनुसार घरदेखि माथिबाट खसेको पहिरोले विकको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । 

स्याङ्जा समाचारदाताका अनुसार स्याङ्जाको फेदीखोला गाउँपालिका–५, बाँगेमा पहिरोले घरगोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ । ढुङ्गा माटो र टिनले छाएको एकतले घर र गोठ २५ मिटर माथिबाट आएको पहिरोले पुरिँदा ३१ वर्षीय दुर्गा जिटी र उहाँकी छोरी तीन वर्षीया निकिसा जिटीको मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले आमाछोरीको घटनास्थमलै मृत्यु भएको जानकारी दिनुभयो ।