• १० मंसिर २०८१, सोमबार

‘मिडिया’ बाहिरका खबर

blog

मेरो टिममा प्रिय साथीहरू यहाँहरूलाई थाहै छ, अहिले हामीले निर्वाचन प्रचार गर्न, पार्टीको ¥याली गर्न पाएका छैनौँ । हाम्रा पार्टीका नेता, कार्यकर्तालाई अपहरण गरिएको छ, पक्राउ गरिएको छ । तिनका परिवारका सदस्यलाई समेत हतोत्साही गरिएको छ । हाम्रा सन्देशहरू पाकिस्तानका रेडियो, टिभीबाट पनि प्रतिबन्धित छन् । त्यसैले हामीले यो एआई प्रविधिको प्रयोग गरेर हाम्रा आग्रह र सन्देशहरूलाई यहाँहरू समक्ष ल्याउने प्रयास गरेका हौँ ।’ 

पाकिस्तानमा सम्पन्न पछिल्लो आमनिर्वाचनमा प्रचारप्रसारका लागि पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले एआई (आर्टिफिसियल इन्टेलिजेन्स्) को प्रयोग गरेका थिए । गत डिसेम्बर १८ मा उनको सामाजिक सञ्जालको टिमका सहयोगीमार्फत आएको इमरान खानको यो सन्देश पनि एआईकै थियो । उनलाई पाकिस्तानको प्रहरीले गत मे महिनामा पक्राउ गरेको थियो । त्यसको विरोधस्वरूप आन्दोलन भएपछि पाकिस्तानको सञ्चार प्राधिकरणले खानको समाचार प्रकाशन, प्रसारणमा नै रोक लगाएको थियो । उनको पक्राउविरुद्ध भएको आन्दोलनले उग्र रूप लिएपछि देशैभर तीन दिनसम्म इन्टरनेटसमेत बन्द गर्नु परेको थियो ।

 त्यसपछि भएको आमनिर्वाचनमा पनि उनको पार्टी तेहरिक–इ–इन्साफका क्रियाकलापमा सरकारको निगरानी सुरु भयो । यो निगरानीलाई सरकारले निर्वाचनताका झनै बढाउँदै लगेको थियो । उनीहरूलाई निर्बाध रूपमा सभा सम्मेलन गर्न र प्रचारप्रसार गर्न एवं सञ्चार माध्यमबाट चुनावी प्रचार गर्न पनि दिइएको थिएन । देशका सञ्चार माध्यममा आफ्ना कुनै समाचार नआउने भएपछि खानको पार्टीले चुनाव प्रचारकै लागि पनि वैकल्पिक मिडियाको प्रयोग गरेको हो । यसका लागि उसले अहिलेको सञ्चारमा निकै चर्चामा आइरहेको विधा भनौँ या विधि एआईको प्रयोग ग¥यो । पार्टीका सदस्यले एआईमार्फत सन्देश बनाउने र सामाजिक सञ्जालमार्फत प्रचार गर्ने गरेका थिए तर निर्वाचनको परिणाम सरकारले सोचेको भन्दा बढी नै आयो । राज्य नियन्त्रित त स्वाभाविकै थियो, अन्य सञ्चार माध्यमले पनि खानको पार्टीका समाचार लेख्न तथा प्राथमिकतामा राख्न डराए । त्यहाँका अखबार, रेडियो र टिभीहरू निर्वाचनका बेलामा हुनुपर्ने जति स्वतन्त्र पनि भएनन् । प्रायः सबैले सरकारको निर्देशिका नै पछ्याए । निर्वाचनको परिणामले भने वैकल्पिक मिडियाको प्रयोगलाई अनुमोदन गरिदियो । सो पार्टीले अपनाएको निर्वाचन प्रचारको विधि र विधाले नै आफ्ना मतदातासम्म सन्देश पु¥यायो ।

अर्को छिमेकी मुलुक भारतको हालै सम्पन्न निर्वाचनमा पनि त्यहाँका आमसञ्चार माध्यमको कर्मलाई कुनै न कुनै कोणबाट पाकिस्तानसँग जोडेर हेर्न मिल्छ । यद्यपि, यहाँ उता जस्तो कुनै अमुक दलको प्रचार गर्न मिडियामाथि कहीँकतैबाट रोक लगाइएको भने होइन । तथापि, निर्वाचनताका मिडियाले लिएको पक्षधरता भने यसका अध्येता, अनुसन्धानकर्ताका लागि अध्ययन गर्न लायक थियो । यहाँका परम्परागत (पत्रपत्रिका र टेलिभिजन) ले प्रायः भारतीय जनता पार्टीकै पक्षमा वकालत गरेको स्पष्टै देखिएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीको विकल्पमा अहिले नै भारतमा कोही तयार नरहेको, नदेखिएको समाचारीय आशय धेरैले पस्किए । चुनावी प्रचारका बेलामा पनि ती पत्रपत्रिकाले भरमग्दुर आफ्ना पेजलाई मोदीमय बनाउने प्रयास जारी राखे । यो क्रम मतदानपछिका ‘पोल सर्भे’ मा पनि देखिन्थ्यो, जहाँ भाजपाको स्पष्ट बहुमत प्राप्त हुने प्रक्षेपण गरिएको थियो । 

 निर्वाचनका बेला प्रयोगमा आउने सबै प्रकारका प्रचारका शैली यस पटक पनि देखियो भारतमा । भारतको मिडिया उद्योगको तुलना दक्षिण एसियाको परिधिभित्र सीमित राखेर पुग्दैन । त्यो सिङ्गो उद्योग नै चुनावमा तटस्थ हुन सकेन । धेरै अखबारहरूले त भाजपाको चुनावी नारा ‘चार सौ पार’ मा सम्पादकीय नै लेखे भने टेलिभिजनहरूले भाजपाको यो चुनावी नारालाई आफ्नो लोगोसरह नै स्थान दिए तर कतिपय घटनामा यस्तो लाग्थ्यो सञ्चार माध्यम अधिकांश सत्तापक्षीय र सामाजिक सञ्जालहरू कांग्रेस र उसको नेतृत्वको इन्डिया एलाइन्ससँग थिए । प्रायः अखबार र टेलिभिजनहरूले अहिले नै इन्डिया एलाइन्स सत्तामा उक्लिने कुनै गुञ्जायस नरहेका दृष्टान्त पेस गरिरहेका थिए । यति मात्र होइन कि कांग्रेसको गठबन्धन पहिलेभन्दा पनि कमजोर हुने आकलन गरिरहेका थिए तर परिणाम भने भनिए जस्तो भाजपाको स्पष्ट बहुमत आएन । सत्ताका लागि गठबन्धनको आवश्यकता परिणाममा देखियो । 

युट्युब र सामाजिक सञ्जालको प्रभाव र अवस्थाका कारण हुन सक्छ कांग्रेस नेता राहुल गान्धीले पनि युट्युबको प्रयोगमै जोड दिए । जस्तो कि उनको ‘भारत जोडो’ अभियानको सुरुवात नै उनले युट्युबबाट गराएका थिए । कांग्रेसका कार्यकर्ताले युट्युब र सामाजिक सञ्जालको प्रयोग यसरी गरे कि त्यसरी अघिल्लो चुनावमा भाजपाले गरेको थियो । 

फेरि यो आलेखको आशय सामाजिक सञ्जालमा भाजपा कमजोर रहेको भन्नु होइन किनभने नरेन्द्र मोदीको सामाजिक सञ्जालको ‘भ्युअर्स्’ संसारका अरू कुनै नेताको भन्दा कम छैन । त्यसैले उनीहरू पनि यो माध्यमको प्रयोग गरिरहेकै थिए । मुलुकका प्रमुख र पुराना सञ्चार माध्यमहरूले साथ दिइरहँदा भाजपाले पनि वैकल्पिक मिडियाको प्रयोग गरिरहेकै थियो ।

यस सन्दर्भमा केही वर्षअघिको अमेरिकी राष्ट्रपतीय निर्वाचनको पनि कुरो यहाँ कोट्याउनु सान्दर्भिक नै होला । डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा विजयी हुन्छन् भनेर लेख्ने मिडिया त्यस समय अमेरिकामा लगभग थिएनन् भने पनि हुन्छ । सबैले हिलारी क्लिन्टनको मात्र चर्चा गरेका थिए । चुनावताकाका समाचारीय सामग्री (कन्टेन्ट) हेर्दा लाग्थ्यो ती सबै ट्रम्प विरोधी मात्र थिए तर ट्रम्प भने आफूले निर्वाचन जित्ने नै दाबी गरिरहेका थिए । हुन त चुनावका बेलामा आफूले निर्वाचन हार्छु भनेर सार्वजनिक रूपमा कुनै उम्मेदवारले भन्दैन तर अमेरिका जस्तो देश र त्यहाँका पनि मूलधारका मिडियाले ट्रम्पले कुनै पनि हालतमा निर्वाचन नजित्ने भने पनि उनकै पक्षमा परिणाम आएपछि तेस्रो विश्वको पत्रकारिता पनि सोच्न बाध्य भयो । उता पनि पत्रपत्रिका एकातिर परिणाम अर्कोतिर भयो । जनमतले ट्रम्पलाई छान्यो, मिडियाको अनुमान फेल खायो । त्यसपछि भन्न थालेका हुन्– ट्रम्पले ‘फेक मिडिया’ भनेर ।

अमेरिकी मिडियाप्रति उनको तर्क हुने गर्दथ्यो, ‘अमेरिकी मिडिया सबै फेक हुन् । यिनले गरेका कुनै पनि अनुमान मिल्दैनन् किनभने यिनीहरू मलाई कुनै पनि हालतमा जित्दैन भन्थे तर अमेरिकी नागरिकले भने मलाई भोट दिने निर्णय सुरुमै गरिसकेका थिए ।’ यस कारण पनि ट्रम्प अमेरिकी मिडिया अमेरिकी नागरिकको मनमुटुसम्म पुग्नै नसकेको आरोप लगाउने गर्दथे । उनले आफ्नो कार्यकालभर अमेरिकी मिडियालाई ‘फेक मिडिया’ भनेरै बिताए । उनी कुनै सार्वजनिक सभासम्मेलनमा उपस्थित भयो कि मिडियाको सम्बोधन नै फेक मिडिया भनेर गर्दथे । ट्रम्पले थेगो जस्तै बनाएको यो ‘फेक मिडिया’ वाक्यांशमा प्रायः संसारका अरू देशमा पनि चर्चा भएको हो । अनि ती देशका शासकले पनि आफू अनुकूल समाचार नलेख्ने मिडियालाई फेक मिडिया भनेरै गाली गर्न सिकेका थिए ।

त्यसो भए कहाँ छ त सूचना ? अहिलेको खोजीको विषय यही हो । माथिका तीन दृष्टान्तले पनि सूचना अर्थात् खबर कहाँ छ भन्ने प्रश्नको जवाफ खोज्न प्रेरित गर्छ । साथै यसले मिडियाका सामग्री पढेर आमधारणा बनाउने गरेका नागरिकले अहिले कसरी बनाइरहेका छन् भन्ने पक्षलाई पनि उजागर गर्न सिकाउँछ । केही वर्षअघि यो प्रश्नको निर्विकल्प उत्तर आउँथ्यो– सूचना सञ्चार माध्यमसँग छ । पत्रपत्रिका, रेडियो र टेलिभिजन नै सूचनाका संवाहक, वाहक दुवै थिए । यसमा कसैको प्रतिप्रश्न रहँदैनथ्यो । फेरि पछिल्लो दशकतर्फ फर्र्किएर हेर्दा सूचना अनलाइन मिडिया पोर्टलमा आएर थुप्रियो । सूचनाका वाहक र संवाहक उनीहरू नै हुन पुगे । यो दशकअघि यस्तो अवस्था थियो कि सञ्चार माध्यमहरू (पत्रपत्रिका, रेडियो, टिभी) बाट सूचना लिन्थे र अनलाइन मिडियाले समाचार बनाउँथे तर पछिल्ला दिन फेरिएका छन् । अहिले अनलाइन मिडियाबाट सूचना लिन्छन् र तिनले समाचार बनाउँछन् । समय झन् बलवान् बन्दै गएको छ । प्रविधिको विकास यसरी चुलिँदै गएको छ कि आजको भोलि नै सूचनाको प्रेषण र प्राप्तिका विधि र विधा फरक भेटिन थाल्छन् । त्यसैले पछिल्लो समय अनलाइनले पनि ‘सबै’ सूचनालाई आफ्नो पकडमा राख्न सकेका छैनन् । सूचना अर्थात् जानकारी अहिले नागरिकसँग छ अर्थात् तिनका मिडियासँग । नागरिकका मिडिया भनेको सामाजिक सञ्जाल हुन् । समय बदलिएर यहाँसम्म आइपुग्दा अहिले सञ्चार माध्यमले नागरिकका सञ्जालबाट सूचना या खबर लिन्छन् र समाचार बनाउँछन् । फेरि पनि खोतल्नुपर्ने अर्काे पक्ष के हो भने ती नागरिक अखबार, रेडियो र टिभीका पाठक, श्रोता छैनन् । उनीहरूमध्ये अधिकांश युट्युबका स्रोता बन्दै छन् । अहिले युट्युब हरेर धारणा बनाउने मानिसहरूको सङ्ख्या समाजमा बढ्दै छ । 

त्यसैले अब युट्युबलाई पत्रकारिताको, सञ्चार माध्यमको के कस्तो परिभाषा, विधि र विधानभित्र राख्ने हो त्यो काम गरिहाल्नु पर्छ । जब नागरिकले तिनै मिडिया हेरेर आफ्ना धारणा बनाउन थाल्छन् भने यस्ता विषयलाई राज्यले आफ्नो प्राथमिकताभित्र नपारेर धरै छैन । हुन त मिडिया भन्नासाथ हाम्रो दिमागमा नियमनको सोच घुसिहाल्छ । जब नागरिकका घर–घरमात्र नभएर मन–मनसम्मै त्यो मिडिया पुगिसकेको छ भने त्यसलाई अझ बढी जिम्मेवार, मर्यादित र प्रभावकारी बनाउनु राज्यको कर्तव्यभित्र पर्छ । यसरी सूचना प्रेषण र प्राप्तिका विधि र प्रविधिका परिधि फैलिँदै जाँदा सूचना कहाँ छ भन्ने कुराको निक्र्योल राज्यले र उसको पछिपछि देशका हाल परम्परागत भनिने गरिएका (पत्रिका, रेडियो र टेलिभिजन) मिडियाले पनि पत्ता लगाउनु पर्छ । अन्यथा लक्षित समूह बेगरको विकास जस्तै लक्षित पाठक बेगरका सूचना पनि दिनदिनै खेर जाने खतरा बढ्दै जाने छ । यसो गर्न सके आमसञ्चार माध्यमलाई आफ्ना मार्ग, कार्य पद्धति र आफूले बोक्ने सामग्रीमा समयानुकूल काँध फेर्न सहज हुने छ ।