• १३ असार २०८१, बिहिबार

प्रधानाध्यापकसहित पदाधिकारीलाई क्षमता विकास तालिम

blog

तालिममा सहभागी प्रधानाध्यापक, विव्यसका पदाधिकारी तथा सदस्यहरु ।

चन्द्र पन्दाक

ताप्लेजुङ, असार ६ गते । शैक्षिक गुणस्तर सुधारको योजना बनाइ कार्यान्वयन गर्न लागेको ताप्लेजुङको मैवाखोला गाउँपालिकाले प्रधानाध्यापकसहित व्यवस्थापन समितिका पदाधिकारीका लागि क्षमता तालिम सञ्चालन गरेको छ । 

शैक्षिक गुणस्तर सुधार केन्द्रित बृहत् शैक्षिक सम्मेलन सम्पन्न गरेको केही समयपछि गाउँपालिकाले क्षमता विकास तालिम सञ्चालन गरेको हो । शैक्षिक गुणस्तर सुधारको योजनालाई मूर्त रूप दिन दुई दिने क्षमता विकास तालिम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो । 

अध्यक्ष वनेमका अनुसार गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापक, सम्बन्धित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक अभिभावक सङ्घका अध्यक्षलाई सहभागी गराई तालिम सञ्चालन गरिएको हो । 

तालिम अर्थात् गोष्ठीमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न स्थानीय सरकारले साथ दिने र स्थानीय तहका जनप्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थीबिच निर्वाह गर्नुपर्ने भूमिका बारेमा व्यापक छलफल भएको छ । 

शैक्षिक गुणस्तर सुधार्न गाउँपालिकाले सबै किसिमको पहल, प्रयत्न र आवश्यक सहयोगमा कमी हुन नदिने गोष्ठीमार्फत गाउँपालिका अध्यक्ष वनेमले प्रतिबद्धता जनाउनुभयो । 

यता शैक्षिक गुणस्तर सुधार्न वार्षिक लक्ष्य तय गर्नुपर्ने, लक्ष्यअनुसार योजनाको कार्ययोजना बनाइ कार्यान्वयन गर्नुपर्ने, मासिक रूपमा कार्यान्वयन पक्षको प्रगति समीक्षा गरेर अघि बढ्नेलगायतका विषयमा आवश्यक निर्णय पनि भएको गाउँपालिकाले जनाएको छ ।

तालिममा गाउँपालिकाभित्रका २८ वटै विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक अभिभावक सङ्घका अध्यक्ष सहभागी हुनुभएको गाउँपालिका प्रवक्ता चन्द्रकुमार तामाङले जानकारी दिनुभयो ।

मैवाखोला गाउँपालिकाले दुई दिने बृहत् शैक्षिक सम्मेलन आयोजना गरेको थियो । उक्त सम्मेलनले ४२ बुँदे मैवाखोला घोषणासत्रसँगै शैक्षिक सुधारका लागि १० बुँदे साझा सङ्कल्पपत्र र विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक सङ्घका लागि छुट्टै १७ बुँदे सङ्कल्पपत्र पारित गरेको छ ।