• १२ असोज २०८१, शनिबार

स्वरोजगार बन्दै महिला

blog

मुडा बन्न सीप सिक्दै महिला । तस्बिर : गोरखापत्र

अमरराज नहर्की

तनहुँ, असार ६ गते । तनहुँका घिरिङ गाउँपालिका महिलाहरू सीप सिक्न थालेका छन् । घिरिङ पालिकाले महिलालाई सीप सिकाएर स्वरोजगार बन्न प्रोत्साहन गर्न थालेपछि सीप सिक्न थालेका हुन् ।

पालिकाले जीविकोपार्जन कार्यक्रममार्फत विभिन्न सीप मूलक तालिम गरेर स्वरोजगार बन्न हौसला प्रदान गरेको छ । स्वरोजगार बन्न झोला बनाउने र मुडा बनाउने तालिम पालिकाले दिइसकेको छ भने चाँडै नै बुटिक तथा सिलाई कटाई तालिम सञ्चालन गर्ने भएको छ । 

महिलाहरूले खेर गएको समयको सदुपयोग गर्दै सीप सिकेर घरमै बसेर आम्दानी गर्न सकुन् भनेर महिला लक्षित जीविकोपार्जन कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाको उपाध्यक्ष राधादेवी अधिकारीले बताउनुभयो । सीप प्रदान गर्न सकियो भने सानो लगानीमा पनि व्यवसाय गर्न सकिने भएकाले आर्थिक अवस्थामा सहयोग पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

उत्पादित समान बिक्री गर्न समस्या नहोस् भनेर गाउँपालिकाले व्यवस्थापन गरिरहेको उपाध्यक्ष अधिकारीले बताउनुभयो । झोला बनाउन सीप सिक्नु भएकाको बिक्रीको लागि गाउँपालिकामा भित्र रहेको ३७ वटा विद्यालयसँग समन्वय गरिएको उपाध्यक्ष अधिकारी बताउनुहुन्छ । अधिकारीले भन्नुभयो, "चुलोचौको र पानीपँधेरामा सीमित हुने महिलाले सीप सिकेर आयआर्जन गरी आत्मनिर्भरको बाटो रोजुन् भन्नको लागि तालिम प्रदान तथा बिक्रीको व्यवस्थापनमा सहयोग गरेका छौँ ।" 

वडा नम्बर १ मा झोला बनाउने, वडा नम्बर ३ मा मुढा बनाउने वडा नम्बर ५ मा सिलाई तालिम प्रदान गरिसकिएको छ भने वडा नम्बर ४ मा बुटिक तालिम प्रदान गर्ने तयारी भएको गाउँपालिकाले जनाएको छ ।

पालिकाकाले जीविकोपार्जन कार्यक्रमको लागि १४ लाख रुपियाँ बजेट विनियोजन गरिएको थियो । आयआर्जन न्यून भएका धेरै महिला सीप सिक्नबाट वञ्चित हुने गरेकाले महिला लक्षित कार्यक्रमको लागि बजेट विनियोजन गरिएको हो ।