• १० मंसिर २०८१, सोमबार

वाम आन्दोलनको कोसेढुङ्गा

blog

नेकपा (एकीकृत समाजवादी) पार्टीको दसौँ राष्ट्रिय महाधिवेशन आगामी २०८१ असार १६–२० गते काठमाडौँमा हुँदै छ । एमालेबाट २०७८ असोजमा छुट्टिएर बनेको एकीकृत समाजवादी पार्टीको पहिलो पटक महाधिवेशन हुने भए पनि कम्युनिस्ट आन्दोलनकै निरन्तरता स्वरूप दसौँ महाधिवेशन आयोजना हुन लागेको हो ।

नयाँ पार्टी निर्माण गरेपछि यस पार्टीले पहिलो पटक आयोजना गर्न लागेको महाधिवेशन त्यसै पनि ऐतिहासिक महत्वको हुने नै भयो तर ऐतिहासिक मात्रैभन्दा केवल शब्दमा मात्रै सीमित हुन पुग्छ । ऐतिहासिक यस अर्थमा हुनु पर्छ कि सिद्धान्त, विचार, कार्यदिशा, सङ्गठन, कार्यशैली, जीवनशैली र नेतृत्वको हिसाबले नयाँ ढङ्गको क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गरेर कम्युनिस्ट आन्दोलनलाई सही दिशाबोध गर्दै मुलुकमा वैज्ञानिक समाजवादको ध्येय लक्ष्यका साथ समाजवाद स्थापना गर्नुपर्ने जुन अभिभारा छ, यो महाधिवेशनले कम्युनिस्ट आन्दोलनमा नै ‘ब्रेक थ्रु’ गर्ने हिसाबले वा कम्युनिस्ट आन्दोलनको कोसेढुङ्गा हुने हिसाबले सही सिद्धान्त, विचार, कार्यदिशा, कार्यक्रम निर्धारण गरेर सङ्गठन निर्माण, क्रान्तिकारी कार्यशैली र सर्वहाराकृत जीवनशैलीको अवलम्बन गर्ने र सक्षम, गतिशील वैचारिक एव साङ्गठनिक हिसाबले कुशल नेतृत्व निर्माण गर्न सक्नु पर्छ । अनि मात्रै एकीकृत समाजवादी पार्टीको महाधिवेशन ऐतिहासिक हुने छ ।

गणतन्त्र स्थापना भए यताका १८ वर्षमा मुलुकको कम्युनिस्ट आन्दोलन यथास्थितिमै रहेको छ । २०६२/६३ मा भएको युगान्तकारी परिवर्तनबाट गणतन्त्र स्थापना भएको २४० वर्षसम्म राजनीतिक हिसाबले नेतृत्व गर्दै आएको सामन्ती राजतन्त्रको अन्त्य भएको र युगान्तकारी परिवर्तनबाट प्राप्त उपलब्धिहरू जनता सार्वभौम भएको गणतान्त्रिक व्यवस्था, धर्मनिरपेक्षता, सङ्घीयता, समावेशी आदि संविधानमै उल्लेख भयो । यसपछि मुलुकमा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भएको निष्कर्ष निकाल्दै अब मुलुकमा समाजवादी क्रान्ति गरेर मुलुकलाई समाजवादी दिशामा अगाडि बढाउनु पर्ने निष्कर्ष निकालिएको थियोे तर आर्थिक सामाजिक रूपान्तरणका कार्यक्रम लागु गरेर अगाडि बढ्ने काम हुन सकेन । 

अब यस महाधिवेशनले छुट्टै पार्टीको औचित्य पुष्टि गर्दै सिङ्गो कम्युनिस्ट आन्दोलनमा नयाँ दिशाबोध गर्ने अर्थात् कोसेढुङ्गा साबित हुने गरी विचार, सिद्धान्त, सङ्गठन, कार्यशैली, जीवनशैली र नेतृत्व निर्माणको हिसाबले साँच्चिकै नयाँपन प्रदान गर्न सक्नु पर्छ । माक्र्सवादको आलोकमा नेपालको विशिष्ट परिवेशमा नेपाली विशेषताको समाजवादी क्रान्तिको कार्यक्रमका साथ अगाडि बढ्न जरुरी छ । यस क्रममा मुलुकको राष्ट्रियताको संरक्षण र संवर्धनमा उत्पन्न चुनौतीलाई राष्ट्रिय मुद्दाको रूपमा उठाउँदै राष्ट्रियताका लागि पहरेदारको भूमिका निर्वाह गर्नु पर्छ र मुलुकको आर्थिक सामाजिक रूपान्तरण गरेर गरिबी, बेरोजगारी हटाएर मुलुकलाई सामाजिक न्यायसहित समृद्ध र आत्मनिर्भर देश बनाउने समाजवादी कार्यक्रमले सम्बोधन गर्नु पर्छ ।

कम्युनिस्ट आन्दोलनमा हुर्किएको व्यक्तिवाद, अहङ्कारवाद, निरङ्कुश एवं स्वेच्छाचारी प्रवृत्ति, चरम गुटबन्दी, दक्षिणपन्थी अवसरवाद र विसर्जनवादविरुद्ध तीखो वैचारिक सङ्घर्ष सञ्चालन गर्दै वैचारिक, राजनीतिक, साङ्गठनिक अभियानसँगै राष्ट्रियताको संरक्षण र संवर्धननमा देखा परेका ज्वलन्त मुद्दा र जनसरोकारका विषयलाई माग र आन्दोलनका रूपमा अगाडि बढाउँदै जनपरिचालन गरेर मात्रै क्रान्तिकारी पार्टी निर्माण गर्न सकिन्छ र राष्ट्र र जनताको दायित्व पूरा गर्न सकिन्छ । अब, समाजवादी पार्टीले कम्युनिस्ट आन्दोलनभित्र हुर्किएका विकृति, विसङ्गतिपूर्ण गतिविधिलाई हटाई बिल्कुलै नयाँ ढङ्गको कम्युनिस्ट पार्टी निर्माण गर्न कार्यशैली र जीवनशैलीमा आमूल सुधार र परिवर्तन गरी पार्टीलाई सर्वहाराकृत दृष्टिकोण र शैलीबाट सञ्चालन गर्नु पर्छ । 

यस्तै सबै तहका कमिटीमा योजनाबद्ध वार्षिक कार्ययोजना निर्धारण गरी कमिटीहरूलाई नियमित रूपमा सञ्चालन गर्ने, पार्टीलाई टोल बस्तीसम्म पु¥याउन एक टोल एक कमिटीको अभियानलाई देशव्यापी रूपमा सञ्चालन गर्नु पर्छ । पार्टीका बैठक, भेला, प्रशिक्षण होटल, पार्टी प्यालेसमा आयोजना गरेर बढी खर्च गर्नको सट्टामा स्थानीय जनताको घरआँगनमा गर्ने गरेर जनतासँगको सम्बन्धलाई सजीव बनाउने, पार्टी नेताको सुरक्षाका लागि पार्टीभित्र नै प्रशिक्षित सुरक्षा दस्ता निर्माण गर्ने, जनताको राहत उद्धारका लागि पार्टीभित्र स्वयंसेवक दस्ता निर्माण गर्ने, पार्टी कार्यकर्ताको सहभागिता र पहलमा व्यापक रूपमा उत्पादनमूलक सहकारी अभियान सञ्चालन गरेर उत्पादन वृद्धि एवं रोजगारी र आयमूलक अभियान सञ्चालन गर्ने, स्थानीय पार्टीको नेतृत्वमा श्रममूलक शिविर, जनचेतनामूलक अभियान, स्वास्थ्य शिविर सञ्चालन गर्ने, पार्टीको वैचारिक मुखपत्र समाजवादमा समाजवादी अर्थराजनीतिका सैद्धान्तिक वैचारिक लेख रचना प्रकाशित गरेर तल्लो तहसम्म अध्ययन र प्रशिक्षणको विषय बनाउने काम गर्नु पर्छ । यस्तै, हरेक तहका पार्टी कार्यकर्ताको कामको मूल्याङ्कन गर्ने पद्धतिको विकास गर्ने र पार्टीभित्र हुर्केको गुटबन्दी, परिवारवाद, आत्मकेन्द्रित सोचको अन्त्य गर्न पार्टीभित्र संस्थागत निर्णय, टिम स्प्रिट, सामूहिक कमरेडली भावना, पार्टी कार्यकर्ताको योगदान र लगावको कदर र प्रशंसा, नेताप्रधान होइन नीतिप्रधान हो भन्ने मान्यतालाई स्थापित गर्ने कामको पनि थालनी गर्न जरुरी छ ।

पार्टी निर्माण र विस्तार अत्यन्तै चुनौतीपूर्ण काम हो । वर्ग सङ्घर्ष केन्द्रित आन्दोलनको अगुवाइ गरेर मात्रै पार्टीलाई आमकिसान, महिला, श्रमिक, युवा र विद्यार्थीबिच पु¥याउन सकिन्छ । पार्टी निर्माण र विस्तारका लागि आधारभूत तहबाट नै काम उठाउन राजनीतिक कमिसार एवं सहजकर्ताहरू परिचालन गर्न आवश्यक हुन्छ । पार्टीका नेता कार्यकर्ताले सर्वहाराकृत जीवनशैली अवलम्बन गर्न ठोस नीति अवलम्बन गर्न जरुरी छ । जनताको औसत जीवनस्तरभन्दा भद्दा बुर्जुवा शैलीको जीवनशैली भएमा कम्युनिस्ट पार्टी र बुर्जुवा पुँजीवादी पार्टीमा केही फरक हुन्न । पार्टीको लोकप्रियता भनेको नेता कार्यकर्ताको जीवनशैली र जनतामा प्रदर्शित गर्ने व्यवहार नै हो । पार्टीका हरेक नेता कार्यकर्ता जनताको अगाडि आँखाको नानी झैँ हुन सक्नु पर्छ । यसका लागि पार्टीभित्र सुस्पष्ट आचारसंहिता बनाएर लागु गरिनु पर्छ । कम्युनिस्ट पार्टीमा कामको अनुगमन, समीक्षा असाध्यै महत्वपूर्ण काम हो तर कामको प्रभावकारी अनुगमनको अभाव र जवाफदेही नबनाउने परिपाटीले आज कम्युनिस्ट पार्टीहरू समस्याग्रस्त बनेका छन् ।

समय परिवर्तनशील रहेको छ । जनताले परिवर्तनको चाहना गरेका छन् । युवा पुस्ताको राजनीतिमा चासो हुन थालेको छ । सँगसँगै नेताहरूको हिजो देखिको सङ्घर्ष, योगदान र नेतृत्वमा आन्दोलन यहाँसम्म आइपुगेको छ । यतिबेला जनताले नयाँ र रूपान्तरणकारी नेतृत्व चाहना गर्न थालेका छन् । यसै सन्दर्भमा नेपाली राजनीतिमा स्वतन्त्र उम्मेदवारका नाममा निर्वाचनमा खडा भएका उम्मेदवार र उनीहरू विजयी भएको घटनाले पनि नयाँ ढङ्गबाट पार्टीका काम, भूमिका र नेतृत्व निर्माण गर्नुपर्ने टड्कारो चुनौती खडा भएको छ । सैद्धान्तिक वैचारिक र साङ्गठनिक कुशलताका साथ नेतृत्व गर्न सक्ने नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गरेर मात्रै पार्टीलाई जनस्तरमा स्थापित गर्न सकिन्छ । तसर्थ कम्युनिस्ट पार्टीभित्र एउटै व्यक्तिले निर्विकल्प नेतृत्व गरी रहने विषयले आन्दोलनले गति लिन सक्दैन भन्ने सच्चाइलाई आत्मसात् गर्न जरुरी छ । अब पार्टीभित्र पहिलो पुस्ताका नेताहरूको ज्ञान, अनुभव र निर्देशनमा दोस्रो पुस्ताले दैनिक साङ्गठनिक कामको नेतृत्व गर्ने नीति अवलम्बन गर्दा नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र रूपान्तरण हुँदै जाने छ । यसले पार्टीलाई जनव्यापी र राष्ट्रव्यापी रूपमा सकारात्मक प्रभाव पार्ने छ । साथै राष्ट्रिय राजनीतिमा नयाँ पुस्ताको आकर्षण बढेर जान्छ । यसले कम्युनिस्ट पार्टीबिचमा एकताको आधार पनि निर्माण गर्ने छ । साथ साथै मुलुकको राजनीतिमा पनि सकारात्मक प्रभाव पर्ने विश्वास लिन सकिन्छ । एकीकृत समाजवादीले नयाँ ढङ्गबाट नीति, सिद्धान्त, विचार, कार्यशैली, जीवनशैली अवलम्बन गर्नुका साथै नयाँ ढङ्गबाट नेतृत्व निर्माण गर्न सक्दा वाम आन्दोलनमा एकता र सहकार्यको आधार निर्माण हुने छ । भर्खर निर्माण भएको पार्टीको महाधिवेशन एकताको महाधिवेशन हुन नितान्त आवश्यक छ । कार्यकर्ताहरूलाई यो समूह र त्यो समूह भनेर विभाजित गर्नु हुँदैन । विचार र नीति निर्माणमा एकता अनि नेतृत्व निर्माणमा पनि एकताको विधिलाई अवलम्बन गर्नु पर्छ । पार्टीको नेतृत्वका बिचमा टकराव उत्पन्न गर्ने खालका गतिविधि, अभिव्यक्ति र व्यवहारलाई हटाउनु पर्छ ।

समाजवादी क्रान्तिका लागि माक्र्सवादी लेनिनवादी क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण हुनु पर्छ । यस्तै समाजवादी क्रान्ति गर्ने नीति तथा कार्यक्रम र कुशल नेतृत्व निर्माण हुनु पर्छ । सर्वहारा श्रमिक वर्ग, किसान, बुद्धिजीवीको व्यापक सङ्गठित अवस्था र राष्ट्रव्यापी रूपमा समाजवादी चेतनाको फैलावट हुनु पर्छ । वर्ग सङ्घर्ष केन्द्रित आन्दोलनको सघन विकास र विस्तार हुनु पर्छ । दलाल पुँजीवादको नियन्त्रण गरी राष्ट्रिय पुँजीको निर्माण, गरेर औद्योगिकीकरणको थालनी, व्यापक राष्ट्रिय उत्पादन र रोजगारी वृद्धि, उत्पादनका साधनस्रोतमा सार्वजनिक स्वामित्व, समाजवादी लक्ष्य ध्येय लिएका राजनीतिक शक्तिबिचको समाजवादी मोर्चा निर्माण हुनु पर्छ । राज्य सत्तामा कम्युनिस्ट एवं समाजवादी राजनीतिक शक्तिको नेतृत्व हुने गरी निर्वाचनमा वर्चस्व कायम गर्ने भूमिका निर्वाह गर्नु पर्छ । यस्तै समाजलाई रूपान्तरण गर्ने आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा समाजवादी संस्कृति र कार्यक्रम अन्तर्राष्ट्रिय भाइचाराको विकास र विस्तार, सहयोग र ऐक्यबद्धता आवश्यक हुन्छ । अतः यो महाधिवेशनले समाजवादी क्रान्तिका लागि ठोस नीति तथा कार्यक्रम निर्धारण गर्नु पर्छ ।

एकीकृत समाजवादी पार्टीको महाधिवेशन माक्र्सवादको सृजनात्मक प्रयोग गर्दै समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्ने र दक्षिणपन्थी अवसरवादविरुद्ध वैचारिक सङ्घर्ष गर्दै सुदृढ, एकताबद्ध क्रान्तिकारी पार्टी निर्माण गर्ने कार्यदिशाका साथ अगाडि बढ्न सके यो महाधिवेशन वाम आन्दोलनलाई एकताबद्ध बनाउन कोसेढुङ्गा साबित हुने विश्वास लिन सकिन्छ ।