• ११ असोज २०८१, शुक्रबार

दोस्रो काँक्रेविहार राष्ट्रिय हाफ म्याराथन प्रतियोगिताको तयारी पुरा

blog

म्याराथन प्रतियोगिता तयारीका विषयमा जानकारी दिन काँक्रेविहारमा आयोजित पत्रकार सम्मेलन ।

नवीन सुवेदी

सुर्खेत, असार ५ गते । सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालन हुन लागेको राष्ट्रिय स्तरको दोस्रो काँक्रेविहार राष्ट्रिय हाफ म्याराथन प्रतियोगिताको तयारी पुरा भएको छ । बुधबार म्याराथन प्रतियोगिता तयारीका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा दोस्रो काँक्रेविहार हाफ म्याराथनका संयोजक प्रमोद हमालले सबै तयारी पुरा भएको बताउनुभयो । 

विश्व ओलम्पिक डे का अवसरमा शुक्रबार हुन लागेको हाफ म्याराथनमा देशभरका दुई हजार बढी धावकहरू सहभागी रहने संयोजक हमालले बताउनुभयो । कर्णाली खेलकुद विकास परिषद्को सहयोग तथा मीड वेष्टन फिटनेस सेन्टरको आयोजनामा प्रतियोगिता सञ्चालन हुनेछ । संयोजक हमालले खेलकुदसँग सरकार र निजी क्षेत्रलाई जोड्ने ध्येयले म्याराथन आयोजना गरिएको बताउनुभयो ।

"हामी म्याराथन खेलकुदमार्फत कर्णाली र नेपाललाई विश्वसामु चिनाउने ध्येयमा छौँ", उहाँले भन्नुभयो, "सोही अनुसार सरकारी निकायको लगानीको खाँचो छ, तर मेलामहोत्सव लाखौँ खर्च गर्ने निजी क्षेत्रको पनि यसमा ध्यान जाओस् ।"

हाफ म्याराथन २१ किलोमिटरको हुनेछ । पहिलो संस्करणमा कर्णाली प्रदेशका खेलाडी मात्रै सहभागी प्रतियोगितामा यस वर्षबाट देशैभरका धावक, धाविका सहभागी हुनेछन् । एथेलेक्टिसका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा काँक्रेविहारको पहिचान स्थापित गर्न र आसन्न दसौँ राष्ट्रिय खेलकुदको पूर्वसन्ध्यामा कर्णालीले जुनसुकै खेल पनि खेलाउन सक्छ भन्ने सन्देश प्रवाह गराउन म्याराथन आयोजना हो । 

हाफ म्याराथनको विजेतामध्ये २१ किलोमिटर प्रथम हुने खेलाडीलाई एक लाख राशिको पुरस्कार प्रदान गरिने छ । यस्तै प्रतियोगिताको द्वितीय स्थान प्राप्त गर्नेले ५० हजार, तृतीय हुनेलाई ३० हजार र सान्त्वना स्थान हासिल गर्ने खेलाडीलाई ३० हजार रकम पुरस्कार स्वरूप प्रदान गरिने आयोजकले जनाएको छ । 

यस्तै, क्रमशः १० किलोमिटर तर्फ प्रथम १०, द्वितीय ७ र तृतीय पाँच हजार, पाँच किलोमिटर तर्फ प्रथम पाँच, तद्धित तीन र तृतीय स्थान हासिल गर्ने खेलाडीलाई दुई हजार नगद पुरस्कार प्रदान गरिने छ ।