• १४ असार २०८१, शुक्रबार

'कवि विमल गुरुङ कृति पुरस्कार'का लागि कृति आह्वान

blog

निशा राई 

धरान, असार ५ गते । कवि विमल गुरुङको स्मृतिमा स्थापित कवि विमल गुरुङ स्मृति पुस्तकालयले ‘कवि विमल गुरुङ कृति पुरस्कार’ का लागि कृति आह्वान गरेको छ ।

नेपाली वाङ्मयको उन्नयनका लागि स्वदेश र विदेशमा रहेका साहित्य साधक, लेखक, कवि, साहित्यकारहरुलाई सम्मान गर्दै ’कवि विमल गुरुङ कृति पुरस्कार’का लागि कृति आह्वान गरेको आयोजकले जनाएको छ । 

कृति पुरस्कार राशी नगद दुई लाख रुपियाँसहित ताम्रपत्र रहेको पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङले बताउनुभएको छ । कृति पुरस्कारका लागि सहभागी हुन इच्छुक कवि, लेखक-साहित्यकारहरुले वि.सं २०८० तदनुसार सन् २०२३ अप्रिल १४ देखि २०२४ अप्रिल १२ भित्रको समयसीमाभित्र नेपाली भाषामा प्रकाशित गरेको जुनसुकै विधाकाे आफ्नो कृति ४-४ प्रति आगामी असोज १५ गते सम्ममा पुस्तकालयमा दर्ता हुने गरी पठाउन आह्वान गरिएको उहाँले बताउनुभयो । 

कवि विमल गुरुङको ५३ औँ जन्मजयन्ती तथा ३३ औँ राष्ट्रिय कविता महोत्सवका लागि स्वदेश र विदेशमा रहेका कवि साहित्यकारहरु समक्ष नेपाली भाषामा लेखिएका कविता आगामी असोज मसान्तसम्ममा आइपुग्ने गरी इमेलमार्फत पठाउन आह्वान गरिएको आयोजकले जनाएको छ । 

कविता पठाउँदा युनिकोडमा वा प्रीति फन्टमा लेखिएको वर्डफाइलमा हुनुपर्ने र कविको नाम, ठेगाना र सम्पर्क नम्बर अनिवार्य उल्लेख गर्नुपर्ने आयोजकले बताएको छ । 

'कवि विमल गुरुङ कृति पुरस्कार’ र प्रतियोगितामा विजेता प्रथम, द्वितिय र तृतीय हुने कविहरुलाई आगामी कात्तिक २४ गते कवि विमल गुरुङको ५३ औँ जन्मजयन्तीको अवसरमा आयोजना हुने ३३ औँ राष्ट्रिय कविता महोत्सवमा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।