• १३ असार २०८१, बिहिबार

ठेकेदारको बदमासीले ठेक्का लागेको दश वर्षदेखि गुल्मीको सडक अलपत्र

blog

सांकेतिक फाइल तस्बिर

गुल्मी, असार ५ गते । २०७१ सालमा टेन्डर लागेको सडक कालोपत्रे अझै पनि निर्माण हुन सकेको छैन । २०७२ चैत ३० गते सम्पन्न गर्ने गरी सात करोड १९ लाख ८७ हजार ७० रुपियाँमा लोहनी एन्ड ब्रर्दश प्रालि चितवनले २०७१ असार ३१ गते सम्झौता गरेको थियो । तर अझै सडक कालोपत्रे हुन सकेको छैन । 

ठेकेदारले राजनीतिक आड र नियमन गर्ने निकायलाई प्रलोभनमा पारेर सडक निर्माणको जिम्मा लिएर दश वर्ष देखि काम नगरी अलपत्र पारेको हो । स्थानीयको दवाव पछि गुल्मीमा टेन्डर भएको झन्डै एक दशकपछि सडकको कालोपत्रेको काम सुरु गर्ने भएको छ । तम्घास – खाम्सेपानी – नयाँगाउ – नादी – सूर्यटारी सडकको अर्घाखाँची जिप पार्कदेखि जन्ते ढुङ्गा (सिस्ने हार) सम्मको सडक कालोपत्रे अव कालोपत्रे हुने भएको छ । 

पटक–पटकको ताकेता र दबाबपछि मात्र निर्माण कम्पनीले लामो समयपछि धेरै पुरानो ठेक्का अर्घाखाँची जिप पार्कदेखि जन्ते ढुङ्गासम्म करिब तीन किलोमिटर सडक कालोपत्रे सम्पन्न गर्न लागेको हो । निर्माण कार्य सम्पन्न गर्नका लागि पटक(पटक म्याद थप्दा पनि काम सम्पन्न नभएपछि अहिले अन्तिम पटक असार मसान्तसम्म म्याद थप गरिएको थियो ।

निर्माण व्यवसायीको लापरबाहीका कारण काम हुन नसक्दा यो सडक अलपत्र अवस्थामा रहेको रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो । 

सडक कालोपत्रे हुनासाथ यस क्षेत्रका नागरिकहरूले पाएको सास्तीको अन्त्य हुनेछ । गुल्मीको रेसुङ्गादेखि प्युठानको स्वर्गद्वारी जोड्ने यो एउटा महत्त्वपूर्ण सडक रहेको भन्दै पछिल्लो समय लुम्बिनी प्रदेशको राजधानी दाङ पुग्न पनि अत्यन्तै छोटो सडकका रूपमा रहेको नगरप्रमुख पन्थीले बताउनुभयो ।

यस सडक खण्डको साढे दुई किलोमिटरभन्दा बाँकी खण्डको केही ठाउँमा भने २ वर्षअघि नै कालोपत्रे भएको थियो ।