• १३ असार २०८१, बिहिबार

अजिरकोटले पालुङटारसँग दुनाटपरी किन्ने

blog

दुनाटपरी खरिद सहमति गरिँदै ।

गुणबहादुर रोका 

सुलीकोट, असार ५ गते । गोरखाको पालुङटार नगरपालिका र अजिरकोट गाउँपालिकाबिच दुनाटपरी खरिदबिक्री समझदारी भएको छ । पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तन र अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाबिच पालुङटारमा तयार भएका दुनाटपरी अजिरकोटले खरिद गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

दुई पालिकामा उत्पादित स्थानीय सामग्री बजारीकरण गरी स्थानीय उत्पादनलाई बढावा दिन सहयोग गर्ने सहमति भएको पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार पालुङटार नगरपालिकामा सालका रुख प्रशस्त पाइने क्षेत्र भएकाले सो नगरपालिकाका पाँच वटा वडाका महिलाले दुनाटपरी उत्पादन गर्ने उद्योग सञ्चालन गरेका छन् । ती दुनाटपरी अजिरकोट गाउँपालिकाले खरिद गर्ने लिखित सहमति भएको हो ।

यससँगै दुवै पालिकामा प्लास्टिकका सामान उपयोग र बेचबिखन गर्न नपाउने सहमति भएको छ । अब अजिरकोट र पालुङटारमा विवाह, पास्नी, महोत्सव र भोजभतेरमा दुनाटपरी प्रयोग हुने भएको अध्यक्ष देवकोटाले बताउनुभयो ।

पालुङटारमा उत्पादन भएका दुनाटपरी अजिरकोटले खरिद गर्ने अनि अजिरकोटमा उत्पादन भएका ढाकाका सामान पालुङटारले खरिद गर्ने समझदारी भएको बताइएको छ । यस सहमतिले नगरपालिका र गाउँपालिकाका व्यापार व्यवसायीहरूलाई फाइदा हुने भएको छ । सस्तो मूल्यमा स्थानीय रूपमा तयार भएका दुनाटपरी प्रयोग गर्नाले समयका साथै पानी, साबुनमा समेत खर्च कम हुने अजिरकोट गाउँपालिकाका अध्यक्ष देवकोटाको भनाइ छ ।