• १३ असार २०८१, बिहिबार

आयुर्वेद अस्पताललाई प्रतिष्ठानमा विकास गरिने

blog

दमक समाचारदाता

दमक, असार ५ गते । पर्याप्त मात्रामा भौतिक पूर्वाधार भए पनि पूर्ण रूपमा सञ्चालन हुन नसकेको झापाको लखनपुरस्थित प्रादेशिक आयुर्वेद अस्पताललाई कोशी प्रदेश सरकारले कोशी आयुर्वेद प्रतिष्ठानका रूपमा विकास गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा यस अस्पताललाई जनशक्ति र आवश्यक उपकरण उपलब्ध गराउने उल्लेख गर्दै प्रतिष्ठानका रूपमा विकास गरिने उल्लेख छ ।

नागरिकलाई निरोगी बनाउन स्वस्थ जीवनशैली, आहारविहार, योग, ध्यान, व्यायाम प्रवर्धन गर्दै अस्पतालको विकासका लागि यो पटक प्रदेश सरकारले पहिलाभन्दा बढी बजेट विनियोजन गरेको हो । आयुर्वेद क्षेत्रको विकास र प्रवर्धन गर्न साढे १८ करोड रुपियाँ बजेट प्रदेश सरकारले छुट्याएको छ ।

स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिव डा. राधिका थपलियाले सुविधायुक्त तवरले आयुर्वेद अस्पताल सञ्चालनका लागि यो पटक बजेट विनियोजन भएको बताउनुभएको छ । यहाँ ५० शय्या क्षमताको अस्पताल भए पनि जनशक्ति अभाव, स्वास्थ्य उपकरणको अभाव, औषधीको अभाव रहँदै आएको थियो । 

उहाँले भन्नुभयो, “थप कर्मचारी व्यवस्थापन र अति आवश्यकीय उपकरण खरिदका लागि यो पटक बजेटमा समावेश भएको छ ।” उहाँले प्रादेशिक आयुर्वेद प्रतिष्ठान र आयुर्वेद औषधी उत्पादन केन्द्रका रूपमा विकास गर्ने तयारी भइरहेको चाँडै सम्भाव्यता अध्ययन सुरु हुने बताउनुभयो । 

प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरका निमित्त निर्देशक सिद्धार्थकुमार ठाकुरले आयुर्वेद क्षेत्रको शैक्षिक जनशक्ति उत्पादन गर्ने गरी आयुर्वेद प्रतिष्ठान बनाउनका लागि सरकारले नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेर यस क्षेत्रलाई प्राथमिकतामा राखेपछि यसले आफूहरूसहित स्थानीयलाई पनि उत्साही बनाएको बताउनुभयो । अस्पतालले आयुर्वेदको मुख्य पञ्चकर्म र व्यवस्थित रूपमा विशेषज्ञ सेवा सुरु गरेको दुई वर्ष पनि नभएकाले अहिले केही अप्ठ्यारा र चुनौतीको सामना गर्नु परेको उहाँको भनाइ छ । उहाँका अनुसार अस्पतालबाट चौबिसै घण्टा सेवा प्रदान गर्ने, प्रदेशको विशिष्टीकृत आयुर्वेद अस्पतालका रूपमा विकास गर्ने, बिमा सेवा सञ्चालन गर्नुपर्ने छ ।