• १३ असार २०८१, बिहिबार

आठ वर्षमा पनि बनेन सभा भवन

blog

गाईघाट समाचारदाता 

गाईघाट, असार ५ गते । उदयपुरको त्रियुगा नगरपालिका–१३ स्थित पुरानो गाईघाटको हवाई मैदानमा निर्माणाधीन कोशी प्रदेशकै सबैभन्दा ठुलो र सुविधासम्पन्न सभा भवन निर्माणको काम अझै पूरा हुन सकेको छैन । मदन भण्डारी स्मृति सभा भवन तथा अतिथिगृह भनी नाम दिइएको भवन बजेटको अभावमा आठ वर्षमा पनि निर्माण सम्पन्न हुन नसकेको हो । 

प्रथम चरणको काम सम्पन्न हुनै लाग्दा बजेट अभाव भएपछि सभा भवन निर्माणको कामले निरन्तरता पाउन सकेन । भवन डिभिजन कार्यालयका इन्जिनियर सुशील चौधरीका अनुसार मदन भण्डारी सभा भवन क्रमागत योजना भएकाले आर्थिक वर्ष २०७६/७७ मा सम्पन्न गर्ने गरी रविना जोशी पाथीभरा जेभी निर्माण कम्पनीसँग २०७४ साल वैशाखमा प्रथम चरणको ठेक्का सम्झौता गरिएको थियो तर त्यसबेला करिब ९५ प्रतिशत काम पूरा भएपछि बजेटको अभावमा निर्माणको सबै काम रोकियो । योजना अलपत्र प¥यो । 

करिब ६० करोड रुपियाँको लागतमा सम्पन्न हुने गरी मदन भण्डारी स्मृति सभा भवन निर्माणको काम आव २०७३/७४ बाट सुरु भएको हो ।

प्रथम चरणको काममा निर्माण व्यवसायीलाई २० करोड नौ लाख ९० हजार रुपियाँ भुक्तानी दिइसकिएको छ भने दोस्रो चरणको कामका लागि २०८१ साल जेठ १३ सम्ममा निर्माण सम्पन्न गर्ने गरी सुनकोशी निर्माण सेवा प्रालिसँग २०७९ साल मङ्सिर १४ गते १८ करोड दुई लाख १६ हजार रुपियाँमा ठेक्का सम्झौता गरिए पनि सो अनुसार निर्माणको काम पूरा हुन सकेको छैन ।

भवन निर्माणसम्बन्धी कामको पछिल्लो स्थितिको त्रियुगा नगरपालिकाका नगरप्रमुख वसन्तकुमार बस्नेत र सघन सहरी तथा भवन निर्माण आयोजना सप्तरीका कार्यालय प्रमुख डिई प्रदीपकुमार सिंहले स्थलगत अनुगमन गर्दा चालु आवका लागि करिब चार करोड रुपियाँ र आगामी आव २०८१/८२ का लागि थप १० करोड रुपियाँ गरी अब १४ करोड रुपियाँको बजेट आवश्यक पर्ने देखिएको नगरप्रमुख बस्नेतले बताउनुभयो ।

भवनको चारैतर्फको पर्खाल निर्माण, ट्रस निर्माण, रङरोगन, टायल, फर्निचर, मार्बल लगाउने, झ्यालढोका, शौचालय निर्माण, पानी धारा तथा बिजुलीबत्ती जडानलगायतका धेरै काम बाँकी नै रहेको र हाल ट्रस्ट निर्माणको काम भइरहेको भए पनि छाना लगाउन भने रकम अभाव हुने निर्माण व्यवसायीको भनाइ छ । 

सघन सहरी तथा भवन निर्माण आयोजना सप्तरीका कार्यालय प्रमुख डिई प्रदीपकुमार सिंहका अनुसार आगामी आव २०८१/८२ का लागि छ करोड रुपियाँ मात्र विनियोजन गरेकोले चार करोड रुपियाँका लागि पुनः बजेट अभाव हुने स्थिति छ । 

त्रियुगा नगरपालिकाका नगरप्रमुख वसन्तकुमार बस्नेत भन्नुहुन्छ, “यो सभा भवनले गाईघाटलाई आधुनिक सहर बनाउने छ । यो हाम्रो प्रदेशकै ठुलो तथा अत्याधुनिक सभा भवन हो । यो भवनमा  दुई वटा ठुला सभा कक्ष हुने छन् । एउटा एक हजार पाँच सय सिट क्षमता भएको र अर्को पाँच सय सिट भएको बैठक कक्ष तथा आधुनिक डिजाइनका दुई वटा अतिथिगृहसमेत बन्ने छन् ।”