• १३ असार २०८१, बिहिबार

कुलाेमा डुबेर एक जनाको मृत्यु, एक बेपत्ता

blog

एकिन्द्र तिमिल्सेना
टीकापुर, असार ५ गते ।
गर्मी छल्न कुलोमा नुहाउन पुगेका लम्कीचुहा नगरपालिका–५ थापापुरका युवा कैलाश विष्टको ज्यान गएको छ ।

जानकी गाउँपालिका–५ अमौरास्थित कुलरिया खर्गौली बडका बिच्की कुलोको इन्टेकमा नुहाउने क्रममा मङ्गलबार दिउँसो विष्ट डुब्नुभएको थियो । सात जना युवाहरू सँगै नुहाइरहेका बेला विष्ट पानीमा डुबेर बेपत्ता हुनुभएको थियो ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीका अनुसार साँझ ५ बजे फेला परेका विष्टलाई टीकापुर अस्पताल पुर्‍याइएको र  चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरिएको छ । १८ वर्षका विष्ट स्थानीय राष्ट्रिय माविबाट यस वर्ष एसइई परीक्षा दिएर बसेका विद्यार्थी हुन् ।

रानी जमरा कुलरिया सिँचाइ आयोजना बनेपछि नहरहरू बस्ती नजिक भएर गएका र जेठमै नहर र कुलामा प्रशस्त पानी प्रवाह भएपछि नहर र कुलामा पस्नेहरू डुब्न थालेका छन् । पछिल्लो छ महिनामा डुबेर मृत्युका छ वटा घटना भएका छन् ।

छ दिन अघि टीकापुर नगरपालिका–५ स्थित रानी कुलामा डुबेर बेपत्ता हुनुभएका ५५ वर्षका खुसीराम चौधरी पनि अझै भेटिनु भएको छैन । चौधरीको झोला, लुगाहरू कुलोको किनारमा भेटिएकाले कुलामै डुबेको अनुमान छ ।

प्रहरी नायव उपरीक्षक अधिकारीका अनुसार नहर सुकाएर पनि खोजिएको छ, टोली खटाएर दैनिक खोजी कार्य जारी छ तर फेला पार्न सकेको छैन ।