• १३ असार २०८१, बिहिबार

बजेटको तयारीमा स्थानीय तह

blog

सर्लाही समाचारदाता

सर्लाही, असार ५ गते । सर्लाहीका स्थानीय तह बजेटको तयारीमा जुटेका छन् । असार १० गतेभित्रै गाउँ सभा, नगर सभा बोलाएर आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था अनुसार गाउँपालिका तथा नगरपालिकाले बजेटको तयारी अगाडि बढाएका हुन् । केही स्थानीय तहले कार्यपालिकाको बैठक राखेर बजेटबारे छलफल सुरु गरिसकेका छन् । 

बजेटकै तयारीस्वरूप लालबन्दी नगरपालिकाको कार्यपालिका बैठक सोमबार सम्पन्न भएको छ । बैठकले असार ६ गते नगर सभाको उद्घाटन गर्ने निर्णय गरेको कार्यपालिका सदस्य एवं लालबन्दी नगरपालिका–७ का वडाध्यक्ष कृष्णकुमार कार्कीले जानकारी दिनुभयो । बैठकले प्रत्येक वडालाई बजेटको खाका दिएको छ । 

सोही अनुसार बजेट बनाएर १७ वटै वडाले कार्यक्रम प्रस्तुत गर्ने छन् । हरिपुर नगरपालिका १ का वडाध्यक्ष नानीबाबु थापाले चालु आव २०८०/८१ को योजना लगभग पूरा हुने चरणमा रहेको र नयाँ आवका लागि बजेटको तयारीमा जुटेको बताउनुभयो । उहाँले बजेटबारे छलफल गर्न कार्यपालिका बैठक बस्नै बाँकी रहेको बताउनुभएको छ । आवको अन्तिमतिर योजना सम्पन्न गर्न व्यस्त रहेका पालिकालाई यहीबेला बजेट तयार पारेर असार १० भित्रै गाउँ सभा, नगर सभामा प्रस्तुत गर्नुपर्ने बाध्यता छ । 

सदरमुकाम मलङ्गवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले बजेट निर्माणको प्रक्रिया प्रारम्भ भइसकेको बताउनुभयो । जनप्रतिनिधिबिच राम्रै सम्बन्ध रहेको पालिकाले असार १० भित्रै बजेट ल्याउने तयारी गरेका छन् । जनप्रतिनिधिबिच किचलो रहँदै आएको पालिकामा भने समस्या छ । जिल्लाको हरिपुर्वा नगरपालिका र चन्द्रनगर गाउँपालिकाले जनप्रतिनिधिबिचको विवादका कारण चालु आवको बजेट निकै ढिलो गरी पारित गरेका थिए ।