• १३ असार २०८१, बिहिबार

छाउगोठमा एक जना किशोरी बलात्कृत

blog

रमेशबहादुर रावत 

अछाम, असार ५ गते । छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छिन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाकी १६ वर्षीया किशोरीलाई सोमबार राति सामूहिक बलात्कृत भएको हो । 

किशोरी बलात्कारको आरोपमा प्रहरीले स्थानीय १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । पञ्चदेवल विनायक नगरपालिकामा मामाघरमा बस्दै आएकी १६ वर्षीया किशोरी मामाघरको नजिक रहेको छाउगोठमा मङ्गलवार बिहान अचेत अवस्थामा भेटिएकी हुन । उनी ११ वर्षदेखि मामाघरमै बस्दै आएकी थिइन ।

उनलाई अचेत अवस्थामा देखेपछि मङ्गलवार बिहान स्थानीय एक जना किशोरीले प्रहरीलाई खबर गरेकी थिइन । स्थानीय किशोरीले जानकारी दिए लगत्तै इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउने लगायतले उनको उद्धार गरेर जिल्ला अस्पताल अछाम पठाएको थियो । अछाम जिल्ला अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणमा उनी बलात्कृत भएको पुष्टि भएको थियो । 

अस्पतालमा उपचार पश्चात् होसमा आएकी ती किशोरीले आफू माथि बलात्कार भएको प्रहरीलाई भनेकी थिइन । उनले स्थानीय १७ वर्षीय किशोर लगायत ३÷४ जनाले बलात्कार गरेको बताएकी थिइन । आँखा र घाँटीमा कपडाले  बाँधेकोले अन्य व्यक्तिलाई आफूले चिन्न नसकेको पीडित किशोरीको भनाई छ । 

अछाम प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले किशोरी बलात्कृत भएको पुष्टि गनुभयो । उहाँ सहितको टोलीले मङ्गलवार बेलुकी घटनास्थल पुगेर घटनाबारे थप जानकारी लिनुभएको अछाम प्रहरीले बताएको छ । 

मङ्गलवार बिहान उनको उद्धारमा गएकी नगरप्रमुख अम्बिका चलाउनेको टोलीले छाउगोठ भत्काएको छ । उनलाई अचेत अवस्था सम्म गोठमै राखिएको भन्दै नगरप्रमुख चलाउनेले गोठ भत्काएकी हुन । किशोरी  होसमा नआउन्जेल सम्म उनी बिरामी भएको भन्दै उद्धार गरिएको थियो । 

घटनाको थप अनुसन्धान भइरहेका अछाम प्रहरी प्रमुख सन्तोष पाठकले बताउनु भयो ।