• १२ साउन २०८१, शनिबार

महिला हत्या आरोपमा श्रीमान् र सौता पक्राउ

blog

जनार्जन खत्री

सर्लाही, असार ५ गते । सर्लाहीको बरहथवामा एक महिलाको हत्या भएको छ । बरहथवा नगरपालिका–१२, लौकाठ बस्ने ३५ वर्षीया लिलावती देवी महतोको हत्या भएको हो ।

महतोको शव सोमबार बिहान घरदेखि करिब डेढ किलोमिटर टाढा कमल रायको खेतमा फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । मृतक महिलाको अनुहार र घाँटीमा चोट देखिएको छ । प्रहरीले घटना लगत्तै मृतक महिलाका श्रीमान् ३८ वर्षीय शङ्कर महतो र सौता (श्रीमानको कान्छी श्रीमती) २१ वर्षीया सजन देवी महतोलाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ । 

घटनाबारे जानकारी पाए लगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको हो । घटनास्थलको प्रकृति मुचुल्का गरी मृतकको शव पोस्टमार्टमका लागि सोमबार दिउँसो प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ । 

प्रहरीका अनुसार घटना भएको परिवारमा बारम्बार झगडा परेर पञ्चायती बसेको थियो । सर्लाही प्रहरीका प्रमुख (एसपी) रवीन्द्रबहादुर सिंहले उक्त परिवारमा हिजो बेलुका पनि झगडा भएको पाइएको बताउनुभयो । 

“घटना भएको परिवारमा बारम्बार झैँ–झगडा भएको देखिन्छ, आइतबार बेलुका मात्रै पनि झगडा भएर मृतक महिलाले खाना नखाएको पाइयो,” एसपी सिंहले भन्नुभयो, “घटनाबारे हामी अनुसन्धानमै छौँ, हाम्रो नियन्त्रणमा रहेका मृतकको श्रीमान् र सौतासँग सोधपुछ हुँदै छ ।