• १२ साउन २०८१, शनिबार

कृषि प्रवर्धनका लागि एफएओ र एएफयुबिच सम्झौता

blog

काठमाडौँ, असार ५ गते । कृषक समुदायको उत्थान तथा कृषिमा जलवायु कार्यलाई सम्बोधन गर्न संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) र नेपालको कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) बिच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्रीसमेत रहनुभएका कृषि तथा वन विज्ञान विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा भुटान र नेपालका लागि (एफएओ) का प्रतिनिधि केन सिमिजु र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मीले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ । 

यो सम्झौताको उद्देश्य सम्बन्धित संस्थाको विशेषज्ञता, ज्ञान, सञ्जाल र स्रोतलाई कृषि उत्पादकत्व वृद्धि गर्न, किसान र कृषक समुदायको उत्थान, कृषिमा जलवायु परिवर्तनलाई सम्बोधन गर्न सहयोग पुग्ने एफएओका कार्यक्रमविज्ञ अरुण जिसीले बताउनुभयो । 

नेपालमा कृषि खाद्य प्रणाली रूपान्तरण र खाद्य सुरक्षा र पोषणमा योगदान पु¥याउने उद्देश्य पनि यो सम्झौता रहेको बताउँदै विज्ञ जिसीले कृषि अनुसन्धान र विकासलाई सुदृढ गर्न यो सम्झौताले सहयोग पु¥याउने विश्वास लिएको बताउनुभयो । यो सम्झौतापछि दुवै पक्षबिच अनुसन्धान, ज्ञान विकास तथा  प्राविधिक विशेषज्ञताको क्षेत्रमा कार्य हुने बताइएको छ । 

सम्झौताले नेपालमा कृषि खाद्य प्रणालीलाई रूपान्तरण गर्ने पारस्परिक प्रतिबद्धतालाई जोड दिँदै लामो समयदेखिको साझेदारीलाई बलियो बनाउन रणनीतिक आधार तयार गर्ने बताइएको छ । यो सम्झौताले व्यापक रूपमा सहकार्यका मुख्य क्षेत्रलाई समेटेको छ । 

एफएओको विश्वव्यापी विशेषज्ञता र एएफयुको राष्ट्रिय विशेषज्ञताले नेपाली खेती र प्राकृतिक स्रोत व्यवस्थापन समुदायको फाइदाका लागि सहकार्य गर्ने सम्झौतापत्रमा उल्लेख छ । 

यस साझेदारीमार्फत, एएफयुका सङ्काय र विद्यार्थीले एफएओ विशेषज्ञसँग नजिकबाट काम गर्ने मौका पाउने छ । विद्यार्थीको शैक्षिक र अनुसन्धान क्षमताहरू अभिवृद्धि गर्न अमूल्य अन्तरदृष्टि र सिपहरू प्राप्त गर्ने छन् । 

त्यस्तै एएफओले शैक्षिक पाठ्यक्रम र क्षमता विकास गतिविधिलाई पनि अध्यावधिक गर्नुका साथै अत्याधुनिक अभ्यास र प्रविधिको विकासलाई सञ्चालनका लागि अनुसन्धान गर्ने बताइएको छ ।