• १३ असार २०८१, बिहिबार

सुदूरपश्चिमका स्थानीय तहका लागि दुई अर्ब बयानब्बे करोड विनियोजन

blog

केशवचन्द्र महरा

दिपायल, असार ५ गते  । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा स्थानीय तहमा आगामी आव २०८१/८२ का लागि ५७ करोड बढी रकम विनियोजन गरेको छ ।

चालु आवमा स्थानीय तहमा दुई अर्ब ३४ करोड ७५ लाख ७० हजार वित्तीय हस्तान्तरणतर्फ विनियोजन गरेकोमा आगामी आवमा ५७ करोड ९४ लाख ४० हजार रकम वृद्धि गरेको हो ।

प्रदेशका ८८ वटा स्थानीय तहलाई समानीकरण, ससर्त, विशेष र समपूरक गरी दुई अर्ब ९२ करोड ७० लाख १० हजार रकम विनियोजन गरेको व्यय अनुमान विवरणमा उल्लेख छ । जसमा चालुतर्फ एक अर्ब ४४ करोड ५५ लाख १० हजार र पुँजीगततर्फ एक अर्ब ४८ करोड १५ लाख रहेको छ ।

स्थानीय तहको खर्च आवश्यकता, मानव विकास सूचकाङ्कको अवस्था, राजस्व क्षमता तथा स्थानीय तहबिच रहेको आर्थिक, सामाजिक र अन्य असमानताका आधारमा राष्ट्रिय प्राकृतिक स्रोत तथा सङ्घीय वित्त आयोगद्वारा निर्धारित सूत्र अनुसार स्थानीय तहलाई प्रदेश सरकारले हरेक वर्ष अनुदान रकम विनियोजन गर्दै आएको छ ।

प्रदेश सरकारले स्थानीय तहमा समानीकरणतर्फ ८६ करोड, ससर्ततर्फ ५६ करोड ७० लाख १० हजार, विशेषतर्फ ५० करोड र समपूरकतर्फ एक अर्ब विनियोजन गरेको छ ।

प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा प्रदेश सरकारले आठ करोड २८ लाख २८ हजार रकम विनियोजन गरेको छ । जसमा समानीकरणतर्फ दुई करोड ६९ लाख छ हजार, ससर्ततर्फ एक करोड ७९ लाख ५५ हजार, विशेषतर्फ ८० लाख र समपूरकतर्फ दुई करोड ८९ लाख ६७ हजार रहेको छ ।

प्रदेशमा ३३ वटा नगरपालिकामा एक अर्ब २८ करोड ४३ लाख ५२ हजार रकम विनियोजन गरेकोमा ५४ वटा गाउँपालिकामा एक अर्ब ५५ करोड ९८ लाख ३० हजार विनियोजन गरेको छ ।

प्रदेश सरकारले सबैभन्दा बढी कैलालीमा र कम डडेलधुराका स्थानीय तहमा रकम विनियोजन गरेको छ । 

व्यय अनुमान विवरण अनुसार १३ वटा स्थानीय तह रहेको कैलालीमा ५३ करोड १५ लाख ६६ हजार रकम विनियोजन गरिएको छ भने सात स्थानीय तह रहेको डडेलधुरामा २३ करोड २५ लाख १० हजार रकम विनियोजन गरेको छ ।

व्यय अनुमान अनुसार बाजुरामा २८ करोड ९५ लाख ७४ हजार, बझाङमा ३७ करोड ८७ लाख ४६ हजार, डोटीमा २६ करोड ३१ लाख ७२ हजार, अछाममा २७ करोड ९१ लाख ८३ हजार, दार्चुलामा २९ करोड ७८ लाख ४५ हजार, बैतडीमा ३० करोड एक लाख ४४ हजार रकम विनियोजन गरेको छ भने कञ्चनपुरमा ३५ करोड ४२ लाख ६३ हजार विनियोजन गरिएको छ ।