• १३ असार २०८१, बिहिबार

सङ्कटमा तानसेनका सम्पदा

blog

रेखीराम राना

तानसेन, असार ५ गते । सेनकालीन कला, संस्कृति र इतिहास बोकेको पाल्पाको तानसेनको ऐतिहासिक र सांस्कृतिक सम्पदा खस्कँदो अवस्थामा रहेको छ । यसको संरक्षणमा सम्बद्ध पक्षको खासै चासो पुग्न सकेको छैन । तानसेनको ऐतिहासिकता, कला र सांस्कृतिक सम्पदाको दुईहप्ते अध्ययनपछिको प्रारम्भिक निष्कर्षमा यस्तो तथ्य सार्वजनिक भएको हो । काठमाडौँ इन्जिनियरिङ कलेजका विद्यार्थी तथा प्राध्यापकको टोलीले तानसेनको दुईहप्ते अध्ययन र अवलोकन गरेको छ । कलेजका ४६ जना विद्यार्थी र चार जना प्राध्यापकको टोलीले तानसेनका ऐतिहासिक तथा सांस्कृतिक अध्ययन र अवलोकन गरेका थिए । सोसम्बन्धी प्रतिवेदन तयार पारी तानसेन नगरपालिकालाई बुझाइने जनाइएको छ । 

अध्ययन टोलीको संयोजक एवं कलेजका आर्किटेक विभाग प्रमुख प्रा. मुनसिं डङ्गोलका अनुसार आठ वटा समूह बनाएर बजारको ऐतिहासिकता, सांस्कृतिक पक्ष, कला, त्यसले पर्यटन क्षेत्रमा पार्न सक्ने प्रभावलगायत विषयमा अध्ययन गरिएको छ । अध्ययनको क्रममा एकै स्थानमा पनि काठमाडौँको भन्दा फरक फरक कला संस्कृति एवं ऐतिहासिक पक्ष फेला परेको छ । पर्यटकीय दृष्टिकोणले तानसेन एकदमै सम्भावना बोकेको स्थान भए पनि पछिल्लो समय तानसेनले आफ्नो ऐतिहासिक सम्पदा गुमाउँदै गएको अध्ययनको प्रारम्भिक निष्कर्ष निकालिएको छ ।

अध्ययनपछि तानसेनको पुराना सम्पदाको संरक्षण गर्दै उपयोगमा कसरी ल्याउने र त्यसबाट आर्थिक समृद्धिका योजना कसरी बनाउने भन्ने सुझाव दिइएने छ । यसले सम्पदाको संरक्षण, उपयोग र टोल अनुसारको भवन आचारसंहिता कार्यान्वयन गर्न सहयोग पुग्ने बताइएको छ । नयाँ घर बनाउने मानिसलाई समेत तानसेनको सम्पदा संरक्षणमा प्रोत्साहित गर्ने र सांस्कृतिक नगरीका रूपमा विकास गर्न सहयोग पुग्ने सम्पदा संरक्षण अभियन्ता पदम न्यौपानेले बताउनुभयो । टोलीले तानसेनको टक्सारटोल, भीमसेन टोल, असनटोल र भगवती टोलमा अध्ययन गरिएको छ । तानसेन नगरपालिका, कलेज र तानसेन गुठीको सहयोगमा अध्ययन गरिएको जनाइएको छ । तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेनको ऐतिहासिकता, कला र सांस्कृतिक प्रतिवेदन तानसेनको सम्पत्तिका रूपमा लिँदै नगरको दीर्घकालीन विकासमा सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो ।