• १३ असार २०८१, बिहिबार

पाइलट अभावले उडान प्रभावित

blog

काठमाडौँ, असार ५ गते । नेपाल वायु सेवा निगममा वाइडबडी र न्यारोबडी जहाज उडाउने (चालक) पाइलट अभावले उडान प्रभावित हुन थालेको छ । हाल निगमका चार जना वरिष्ठ पाइलट निलम्बनमा परेका छन् भने केही पाइलट जागिरबाट पलायन भएका छन् । चालक अभावकै कारण उडान प्रभावित हुन थालेपछि निगमले तत्काल दस जना चालक करारमा नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ भने हाल जिम्मेवारीमा रहेका पाइलटलाई सकेसम्म बिदा नलिन आग्रह गरेको छ ।

निगमका प्रवक्ता रमेश पौडेलले भन्नुभयो, “हाल निगमसँग अन्तर्राष्ट्रियतर्फ उडान गर्न दुई वटा वाइडबडी र दुई वटा न्यारोबडी जहाज छन् । वाइडबडी र न्यारोबडी जहाज उडाउन ३३ जोर चालक आवश्यक पर्ने भए पनि झन्डै २० जोर मात्रै चालक रहेका छन् । मौजाद चालकमध्ये चार जना वरिष्ठ चालक निलम्बनमा परेपछि उडान व्यवस्थापनमा त्यसको असर देखिन थालेको छ ।”

वाइडबडी जहाजका लागि ३४ जना र न्यारोबडी जहाजका लागि ३२ जना चालक आवश्यक रहेकोमा अहिले निगमसँग वाइडबडी उडाउन १७ जना र न्यारोबडी उडाउन २२ जना मात्रै चालक रहेको उहाँले बताउनुभयो । प्रवक्ता पौडेलका अनुसार अन्तर्राष्ट्रिय उड्डयन नियम अनुसार एक जना पाइलटले दैनिक अधिकतम १० घण्टा र एक महिनामा एक सय घण्टा मात्रै उडान गर्न पाउने नियम रहेको छ । उक्त नियम अनुसार लगातार १० दिन आफ्नो पूरा क्षमतामा उडान भर्ने चालक महिनाको २० दिन खाली बस्नु पर्छ ।

पहिलेदेखि नै चालक अभाव झेल्दै आएको निगमले हाल चार जना अनुभवी चालक निलम्बनमा रहेपछि त्यसको असर काठमाडौँ–हङकङ–काठमाडौँ उडानमा देखिएको छ । निगम स्रोतका अनुसार हप्तामा तीन दिन काठमाडौँ–हङकङ उडान गर्दै आएको निगमले असार ११ गतेयताका सबै उडान कटौती गरेको छ ।

स्रोतका अनुसार अब निगमले असार ११ र १५ गते मात्रै काठमाडौँ–हङकङ उडान गर्ने तालिका रहेको छ । स्रोतका अनुसार जेठ १९ देखि असार १६ गतेसम्म एक महिनाको अवधिमा निगमले सात दिन मात्रै उडान गर्ने तालिका रहेको छ । निगमले हाल सात देशका दस गन्तव्यमा नियमित अन्तर्राष्ट्रिय उडान गर्दै आइरहेको छ ।