• १३ असार २०८१, बिहिबार

दलको सदस्यता त्याग्दै शिक्षक

blog

काठमाडौँ, असार ५ गते । पछिल्लो समय मुलुकभरका ८२५ जना शिक्षकले राजनीतिक दलको सदस्यता त्याग गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मङ्गलबार एक सय दिनको उपलब्धि सार्वजनिक गर्नेक्रममा उक्त जानकारी दिनुभएको हो । 

मन्त्री श्रेष्ठले यस अवधिमा ४५ जना शिक्षकका सम्बन्धमा उजुरी प्राप्त भएको तथा ४२१ जना शिक्षकलाई स्पष्टीकरण सोधिएको जानकारी दिनुभयो । त्यस्तै चार जना शिक्षकले सफाइ पाएको तथा २० जना शिक्षकले शिक्षण पेसाबाट राजीनामा दिएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो । उहाँले गत फागुन २३ गते मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । मन्त्रीको जिम्मेवारी सम्हाल्नेबित्तिकै मन्त्री श्रेष्ठले शिक्षकलाई दलीय आबद्धता त्याग गर्न आह्वान गर्नुभएको थियो । 

यसबिचमा शिक्षक सरुवासम्बन्धी निर्देशिका जारी गरिएको, शिक्षक सेवा आयोग नियमावली तथा शिक्षा नियमावली दसौँ संशोधन प्रक्रिया थालनी गरिएको, शिक्षकको दरबन्दी मिलानका लागि अध्ययन सुरु गरिएकोलगायतको विषयलाई मन्त्री श्रेष्ठले मुख्य उपलब्धि मान्नुभएको छ ।