• १२ असार २०८१, बुधबार

धनगढीमा हेण्डपम्पमा पानी आउन छोड्यो

blog

धनगढी उपमहानगरपालिकाले सिद्धनाथ मावि जुगेडामा पठाएको पानीकाे ट्याङ्कर।

प्रकाशविक्रम शाह

धनगढी, असार ४ गते। धनगढी उपमहानगर–१२ ए गाउँडाँडाका धनबहादुर लामाको नल्का (हेण्डपम्प) पानी नआएको २५ दिन भयो। आफ्नो नल्कामा पानी नआएपछि उहाँ गाउँको बोरिङको भर पर्नुभएको छ।

धनगढीमा २० देखि ३५ फिटसम्ममा मज्जाले पानी आउने गरेको छ। लामाले चिसो र शुद्ध पानी आउँछ भनेर १५० फिट गहिरोमा नल्का (हेण्डपम्प) हाल्नुभएको थियो तर पानी नआउँदा उहाँ तनावमा हुनुहन्छ। 

उहाँले भन्नुभयो, गाउँको बोरिङ चल्दा पानी भरेर राख्छौं अनि खानेपानीको तिर्खा मेटाउँछौं । ‘गर्मीमा पानी धेरै खाने मात्र होइन गर्मी शरीरलाई शीतल बनाउन धेरै पटक नुहाउनुपर्ने  हुन्छ तर पानी आउँदैन’, उहाँले आफ्नो पीडा पोख्नुभयो।

 सो टोलका १० परिवारले आफूहरुलाई खानेपानीको समस्या भएको बताएका छन्।

सो टोलका हरि रिजाल, सीता तामाङ, त्रिलोक सिंह,, अविनाश कठायत, प्रेम नेपाली, सुजन गोले, सानुमाया तामाङलगायतले आफ्नो नल्का (हेण्डपम्प) मा पानी नआउँदा पानी खान र नुहाउन गाह्रो भएको बताउनुभयो।

यसैबिच विद्यार्थीलाई समेत पानी खान कठिनाइ हुन थालेपछि धनगढी उपमहानगरले सिद्धनाथ मावि जुगेडामा १२ हजार लिटरको ट्याङ्कर भरेर पठाएको छ। 

नेपाल खानेपानी संस्थान, धनगढीका प्रमुख शैलेन्द्र साहले अत्याधिक गर्मीका कारण धनगढी उपमहानगर क्षेत्रमा खानेपानीको सतह दुई मिटरसम्म घटेपछि खानेपानीको समस्या भएको बताउनुभयो।

उहाँका अनुसार नेपाल खानेपानी संस्थानका ग्राहकको सङ्ख्या नौ हजार एक सय रहेको छ बाँकी करिब ३६ हजार परिवार नल्का (हेण्डपम्प) कै पानीमा भर पर्छन्। राष्ट्रिय जनगणना २०७८ का अनुसार धनगढीमा ४४ हजार ७७९ परिवारको बसोबास छ। 

खानेपानी संस्थानले दैनिक १४ लाख लिटर पानी वितरण गर्दै आएको छ संस्थानका प्रमुख साहले भन्नुभयो अहिले  दैनिक १७ लाख लिटर पानीको माग भइरहेको छ।  

महाकाली बेसिन अत्तरियाका प्रमुख सञ्जयकुमार साहले कैलालीमा अझै तीन दिन पानी पर्ने सम्भावना नरहेको बताउनुभयो। हामीले तीन दिनको पानी पर्ने नपर्ने बारे अध्ययन गर्ने गरेका छौँ।