• १२ असार २०८१, बुधबार

गोसाइँकुण्डमा गङ्गा दशहरा स्नान गर्ने बढे

blog

रसुवा, असार ४ गते । यस वर्ष गोसाइँकुण्डमा गङ्गा दशहरा स्नान गर्ने बढेका छन् । गोसाइँकुण्डमा यस वर्ष एक हजार छ सयभन्दा बढी तीर्थालुले गङ्गा दशहरा स्नान गरेको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।

गत जेठ २५ गतेदेखि यही असार २ सम्म आठ सय ८७ महिला र आठ सय पुरुषले गङ्गा दशहरा स्नान गरेको निकुञ्ज कार्यालयका संरक्षण अधिकृत मिलन सापकोटाले जानकारी दिनुभयो । यो सङ्ख्या गत वर्षको तुलनामा ३० प्रतिशतले बढी भएको उहाँको भनाइ छ ।

समुन्द्री सतहदेखि चार हजार तीन सय ८० मिटरको उचाइमा पर्ने पवित्र तीर्थस्थल गोसाइँकुण्डमा जानेहरूको सुरक्षामा सशस्त्र र नेपाल प्रहरीको संयुक्त गस्तीटोली खटिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक केशव भट्टराईले बताउनुभयो ।

गङ्गा दशहरा स्नानका अवसरमा स्वदेशीसँगै ४९ जना विदेशी पनि सहभागी थिए । स्नानका लागि एक सयभन्दा बढी यात्रुहरू हेलिकोप्टरमार्फत गोसाइँकण्ड पुगेका थिए ।

चालु आर्थिक वर्षसम्म असार १ गतेसम्म गोसाइँकुण्डमा २१ हजार पाँच सय १८ नेपालीहरू पुगेको निकुञ्जका संरक्षण अधिकृत सापकोटाले जानकारी दिनुभयो । केही वर्षअघिसम्म गङ्गा दशहरामा १० दिन र जनैपूर्णिमा पाँच दिन गरी वर्षमा १५ दिन मात्रै गोसाइँकुण्डमा तीर्थ गर्ने चलन थियो ।

काठमाडौँबाट मोटरमा धुन्चे पुगेपछि सोही दिन खन्ती, देउराली र चन्दनवारीलगायतका स्थानमा बास बस्न पुग्न सकिन्छ । खाना र बस्नका लागि गोसाईंकुण्ड, लौरीविनायक, चोलाङपाटी,  चन्दनवारी, डिम्सा, देउराली, खन्ती तिवारीवगर समेतका स्थानमा होटल तथा लज सञ्चालनमा रहेको  होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष निसान गजुरेलले बताउनुभयो । रासस