• १२ साउन २०८१, शनिबार

फरार अभियुक्त २० वर्षपछि पक्राउ

blog

हत्या अभियोगमा २० वर्षपछि पक्राउ परेका सन्तबहादुर वाइवा। तस्बिर : अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, असार ४ गते। हत्या अभियोगमा २० वर्षदेखि फरार रहेका एक जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हत्या अभियोगमा १६ वर्ष कैद र तीन लाख जरिवानाको फैसला सुनाइएका फरार व्यक्तिलाई आइतबार पक्राउ गरिएको हो।

फरार रहेका इन्द्रसरोवर गाउँपालिका-१ स्थित नयाँ गाउँका ६१ वर्षीय सन्तबहादुर वाइवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। फरार प्रतिवादी वाइवालाई कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले २०७० सालमा १६ वर्ष कैद सजाय र ३ लाख रुपियाँ जरिवाना हुने फैसला गरेको थियो। 

वाइबाले २०६१ जेठ ३ गते तरकारी व्यापारको निम्ति मार्खु आएका काठमाडौँका ४२ वर्षीय केदारप्रसाद पराजुलीको साथमा रहेको ५० हजार रुपियाँ लुटेर भीरबाट लडाएर हत्या गरेका थिए।  हत्या पश्चात् फरार भएका वाइवा केही समयदेखि घरमा नै बस्दै आएको र खोजतलास गर्ने क्रममा घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो। वाइबालाई कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले २०७० मा कैद र जरिवानाको सजाय सुनाएको थियो।

२३७ फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा दुई सय ३७ जना फरार प्रतिवादी पक्राउ गरेको छ। प्रहरीले पक्राउ गरेका दुई सय ३७ जना फरार अभियुक्तमध्ये एक सय ९७ जना पुरुष र ४१ जना महिला छन्। उनीहरूबाट प्रहरीले एक सय आठ वर्ष चार महिना २९ दिन कैद र ३९ लाख ३२ हजार रुपियाँ असुली गरेको प्रहरी प्रवक्ता भण्डारीले जानकारी दिनुभयो।