• १२ असार २०८१, बुधबार

पहिरोले लिम्बू सांस्कृतिक सङ्ग्रहालयमा क्षति

blog

माथिदेखि झरेको पहिरोले क्षति गरेको ऐतिहासिक लिम्बू सांस्कृतिक सङ्ग्रहालय।

चन्द्र पन्दाक

ताप्लेजुङ, असार ४ गते। ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेमा रहेको ऐतिहासिक लिम्बू सांस्कृतिक सङ्ग्रहालयमा पहिरोले क्षति गरेको छ। निरन्तरको वर्षासँगै माथिदेखि झरेको पहिरोले सङ्ग्रहालयमा क्षति गरेको हो।

मामाङ्खेमा रहेको लिम्बू सांस्कृतिक सङ्ग्रहालयलाई पहिलो सङ्ग्रहालयका रूपमा लिने गरिएको छ। गएको बुधबारदेखि हुँदै आएको निरन्तर वर्षाका कारण माथिदेखि झरेको पहिरोले सङ्ग्रहालयको बाह्य संरचनामा क्षति गरेको मामाङ्खेका स्थानीय कैलाश माबोले जानकारी दिनुभयो।

माबोका अनुसार पहिलो पुरानो संरचनामा रहेको सङ्ग्रहालय भवनलाई पहिरोले क्षति पुर्‍याएको छ। पहिलोले सङ्ग्रहालय भवनलाई धराप बनाई दिएको छ भने सङ्ग्रहालय परिसरमा माथिदेखि झरेको पहिरो थुप्रिएको उहाँले बताउनुभयो। वर्षा भइरहने र थप पहिरो झरेमा स सङ्ग्रहालयको संरचना (भवन) लाई पूर्णरुपमा क्षति गर्ने खतरा रहेको पनि उहाँले बताउनुभयो।

लिम्बू संस्कृतिको संरक्षण साथै संवर्द्धन गर्ने उद्देश्यसहित २०६३ सालमा लिम्बू सांस्कृतिक सङ्ग्रहालय स्थापना भएको हो। सङ्ग्रहालयमा लिम्बू समुदायको पहिचान झल्काउने हातहतियार, सिकार गर्दा प्रयोग गर्ने सामग्री तथा लिम्बू समुदायको जन्म साथै मृत्यु संस्कारमा आवश्यक पर्ने सामग्रीहरू राखिएको छ।

त्यसैगरी विक्रम संवत् १८१४ र १८३१ मा राजा पृथ्वीनारायण शाहले लिम्बूसँग गरेको सन्धि–सम्झौताका दस्ताबेज, युद्धमा प्रयोग गरिएका ढाल, तरबार, तीर तथा काँणहरूसमेत सङ्ग्रहालयमा सङ्ग्रहित (सुरक्षित) गरिएको सङ्ग्रहालय व्यवस्थापन समितिले जनाएको छ। लिम्बू समुदायको ऐतिहासिक सांस्कृतिक सङ्ग्रहालयलाई पहिरोले क्षति गरेकाले चिन्तित बनाएको व्यवस्थापन समितिले जनाएको छ।