• १२ असार २०८१, बुधबार

नदीमा माछा मार्न प्रतिबन्ध

blog

व्यास नगरपालिका–३ र ५ मा बग्दै गरेको मादी नदी । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, असार ४ गते  ।
 तनहुँ, लमजुङ र कास्कीका चार पालिकाले नदीमा माछा मार्न प्रतिबन्ध लगाएका छन् । माछा संरक्षण गर्न नदीमा माछा मार्न प्रतिबन्ध लगाएका छन् ।

तनहुँको व्यास नगरपालिका, लमजुङको मध्य नेपाल नगरपालिका र कास्कीको रुपा र मादी गाउँपालिकाले मादी नदीमा माछा संरक्षण गर्नका लागि माछा मार्न प्रतिबन्ध लगाएका हुन्  ।  विनाशकारी ढङ्गले नदीमा विष तथा करेन्ट लगाएर माछा मार्न थालेपछि जलीय जैविक विविधतालाई असर परेकाले माछा मार्न प्रतिबन्ध लगाइएको हो ।

तनहुँ जलविद्युत आयोजनाको सहयोगमा पालिकाको आफ्नो क्षेत्रमा पर्ने मादी नदीले समेटेको क्षेत्रमा माछा संरक्षण कार्य थालिएको हो । व्यास नगरपालिका–५ को मादी दोभानदेखि मादी गाउँपालिकाको भैँसेपुलसम्मको करिब ४५ किलोमिटर मादी नदी क्षेत्रलाई माछा संरक्षण तथा व्यवस्थापन क्षेत्रको रूपमा संरक्षण गर्ने निर्णय अनुरूप असारदेखि भदौसम्म माछा मार्न प्रतिबन्ध लगाइएको तनहुँ जलविद्युत आयोजनाका प्रमुख श्यामजी भण्डारीले बताउनुभयो  ।

असारदेखि भदौसम्म गरी तीन महिनासम्म माछाको प्रजनन समय हुने हुँदा उक्त अवधिभर मादी नदीमा माछा मार्न प्रतिबन्ध लगाइएको उहाँले जानकारी दिनुभयो ।

तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको १४० मिटर अग्लो बाँधले गर्दा आवतजावत प्रभावित भई माछालाई क्षति पुग्ने भएकाले परिपूर्तिका लागि मादी नदीमा माछा संरक्षण गर्न सहयोग गरिएको भण्डारीले जानकारी दिनुभयो । माछा संरक्षणका लागि सूचना जारी गरिएको छ । करेन्ट लगाएर माछा मार्न, विषादी तथा विस्फोटक पदार्थ प्रयोग गरी माछा मार्न, तोकिएको क्षेत्रबाहेक अन्य ठाउँमा बालुवा वा ढुङ्गा निकाल्न, नदीको पानी प्रदूषण गर्न, असारदेखि भदौसम्म माछाको प्रजनन गर्ने अवधि भएकाले उक्त अवधिमा माछा मार्न निषेध गरिएको सूचनामा उल्लेख गरिएको छ ।

निषेधित गरिएको कार्य गरिएमा जलचर संरक्षण ऐन २०१७ (संशोधन २०१७ सहित दफा ५ गमा उल्लेख भएको व्यवस्था बमोजिम छ महिना कैद वा पाँच हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाए हुन सक्ने आयोजनाले जनाएको छ  ।  

आयोजनाका अनुसार ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ को सिमानामा पर्ने सेती नदीमा बन्ने बाँधले गर्दा सेती नदीको प्राकृतिक बहावमा अवरोध उत्पन्न भई जलचर प्रभावित हुने भएकाले संरक्षण कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ ।

मुख्यरुपमा त्यहाँ पाइने रैथाने असला र सहर प्रजातिका माछाको जीवन जोखिममा पर्ने देखिएकाले यसको क्षतिपूर्तिस्वरुप मादी नदीतर्फको प्राकृतिक बहावमा माछा संरक्षण योजना कार्यान्वयनमा ल्याइएको आयोजनाले जनाएको छ । नेपालका रैथाने असला र सहरलाई लोपोन्मुख तथा सङ्कटापन्न माछाको प्रजातिका रूपमा लिइन्छ । योजना मुख्यरुपमा सेती र मादी नदीको सङ्गमस्थलबाट मादीको माथिल्लो तटीय क्षेत्रमा कार्यान्वयन थालिएको छ ।

योजना कार्यान्वयनका लागि मादी नदीको तटसँग जोडिएका तनहुँको व्यास तथा लमजुङको मध्य नेपाल नगरपालिका प्रमुखहरू, कास्कीको मादी तथा रुपा गाउँपालिकाका अध्यक्षहरू, तनहुँ हाइड्रोपावर लिमिटेड र बोटे समाजको प्रतिनिधि रहने गरी माछा संरक्षण समन्वय समिति गठन गरिएको थियो । व्यास नगरपालिका ३, ४, ५, ६, ७ तथा १० नम्बर वडा, मध्य नेपालका ४, ५, ६, ७ तथा ८ नम्बर वडा, रुपा गाउँपालिका १, ३ तथा ७ नम्बर वडा र मादी गाउँपालिका ४, ५, ९, १०, ११ तथा १२ नम्बर वडालाई प्रभावित क्षेत्रमा मान्ने निर्णय तनहुँ जलविद्युत आयोजनाले गरेको छ ।