• १२ असार २०८१, बुधबार

राष्ट्रिय परिचयपत्रका लागि जेष्ठ नागरिकलाई सास्ती

blog

राष्ट्रिय परिचयपत्रका लागि प्रशासनमा देखिएको ज्येष्ठ नागरिकको चाप । तस्बिर : लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा, असार ४ गते । उखर्माउलो गर्मीले ज्येष्ठ नागरिकले राष्ट्रिय परिचयपत्र बनाउन सास्ती खेप्नुपरेको छ । भैरहवाको तापक्रम केही दिनयता ४२ डिग्री भन्दामाथि छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा भने राष्ट्रिय परिचयपत्र बनाउनका लागि ९० वर्षसम्मका वृद्धवृद्धा पनि लाइनमा बसेको देखिन्छ ।

सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि परिचयपत्र बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा वृद्धवृद्धाको भिड लाग्ने गरेको छ । नागरिकता, राहदानी, सिफारिस लगायत नियमित कामसँगै राष्ट्रिय परिचयपत्रका लागि ज्येष्ठ नागरिकहरु थपिएपछि प्रशासनमा सेवाग्राहीको भिड बढेको छ भने चर्को गर्मीमा घण्टौ लाइन बस्नुपर्दा ज्येष्ठ नागरिकहरुलाई निकै सास्ती भएको देवदहबाट ९० वर्षीय बुबाको राष्ट्रिय परिचयपत्र बनाउन आउनुभएकी चुमकला बस्यालको भनाइ छ । उहाँका अनुसार जेष्ठ नागरिकको सहजताका सके नागरिकताबाटै नभए वडा कार्यालयबाटै परिचयपत्र बनाउने कामको थालनी गरे सहज हुने थियो । 

जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पछिल्लो एक साता यता सेवाग्राहीको भिड बढेको छ । भिड बढेपछि कार्यालयले बिहान ८ बजेदेखि नै सेवा सुरु गरेको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको भनाइ छ । जिल्ला प्रशासन कार्यालयले भने सेवा प्रवाहलाई चुस्त बनाउन तथा सकेसम्म एकैदिनमा सेवा दिनेगरी काम अगाडि बढाइएको अर्यालले जानकारी दिनुभयो ।  

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सेवाग्राहिको सहजताका लागि काम गरे पनि ९० वर्षसम्मका जेष्ठ नागरिकहरु दिउँसो १२ बजेको चर्को घाममा पनि पालो पर्खिएर परिचयपत्र बनाउन बाध्य छन् । पालो लगाउन बिहान सात बजे नै जिल्ला प्रशासन कार्यालयमा पुगे पनि कतिपय सेवाग्राहीले भने कागजात नपुगेको भन्दै फिर्ता हुनुपरेको गुनासो गरेका छन्।

जेठ असारको तराईको टन्टलापुर घाममा खुल्ला आकाशमुनि घण्टौं लाइनमा उभिएर पालो पर्खिँदा चक्कर लागेर ढल्ने अवस्थामा पुगेको तिलोत्तमा नगरपालिका–२ का तिर्थराज पौडेलको भनाइ छ । उहाँले सरकारले जेष्ठ नागरिकको सहजताका लागि काम गर्नेबेला दुःख दिने खालका कार्यक्रम ल्याएको भन्दै आक्रोश पोख्नुभयो । राष्ट्रिय परिचयपत्र बनाउन आएका अधिकांशले राष्ट्रिय परिचयपत्र निर्माणको कार्यलाई पालिका स्तरबाट सहज बनाउन माग गरेका छन् । 

सिद्धार्थनगर नगरपालिकाका पूर्व उपप्रमुख उमा काफ्लेले जेष्ठ नागरिकको सहजताको लागि स्थानीय सरकारको समन्वयमा राष्ट्रिय परिचय पत्र बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले जेष्ठ नागरिकको हितलाई ध्यानमा राखेर सरकारले काम गर्नुपर्ने बताउनुभयो । 

जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट गरी दैनिक साढे तीन सय बढी परिचयपत्र बन्ने गरेको छ । साउनभित्रै सबै जेष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्रमार्फत सामाजिक सुरक्षा भत्ता दिने तयारी गरेपछि परिचयपत्र बनाउनेको भिड बढेको हो । ज्येष्ठ नागरिकलाई सहज हुने गरी परिचयपत्र बनाउनेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने देखिन्छ ।