• १२ असार २०८१, बुधबार

मेलम्ची आयोजनाद्वारा हेडबक्स सार्ने प्रक्रिया सुरु

blog

काठमाडौँ, असार ४ गते । मेलम्ची खानेपानी आयोजनाले आयोजनाको हेडबक्स सार्नका लागि परामर्शदाता छनोट प्रक्रिया अघि बढाएको छ । मन्त्रिपरिषद् बैठकले आयोजनाको हेडबक्स सार्नका लागि सैद्धान्तिक अनुमति दिने निर्णय गरेसँगै आयोजनाले विस्तृत अध्ययनका लागि परामर्शदाता छनोट प्रक्रिया अघि बढाएको हो ।

गत जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकले आयाेजनाकाे हेडबक्स सुरक्षित स्थानमा सार्नका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको थियो । सो निर्णयसँगै आयोजनाले असार मसान्तभित्र सम्ममा विस्तृत अध्ययनका लागि परामर्शदाता छनोटका लागि इओआई निकाल्ने गरी तयारी अघि बढाएको आयोजना प्रमुख रत्न लामिछानेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘त्यसैले हेडबक्सलाई आठ सय मिटरदेखि एक हजार मिटरको दूरीमा र दुवैपट्टी रक भएको स्थानमा टावर इन्टेक बनाएर टनेलभित्र नै संरचना बनाएर १२ महिना काठमाडौँ पानी पठाउन सक्छौँ । हेडबक्सलाई सुरक्षित क्षेत्रमा स्थान्तरण गर्न मन्त्रिपरिषद् बैठकले पनि सैद्धान्तिक सहमति दिने भन्ने निर्णय भएकाले अहिले हामीले हेडबक्स सार्ने कामका लागि अन्तर्राष्ट्रिय परामर्श दाताहरु छनोट गर्ने प्रक्रियामा इओआई निकाल्दैछौं । हेडबक्स सार्नका लागि विस्तृत अध्ययनका लागि परामर्शदाताहरुको छनाेट प्रक्रियामा अघि बढ्छौँ ।’’    

२०७८ साल असार १ गते आएको बाढीपहिरोले हेडबक्सको ९० प्रतिशत भूभाग गेग्रानले पुरेको थियो । त्यसलगत्तै हेडबक्स वरपरको गेग्रान सफा गरिसकेपछि फेरि २०८० साउन २७ गते आएको बाढीले गेग्रान थुपारेको थियो । अहिलेको हेडबक्सको क्षेत्र नजिकै सधैँ पहिरो बगिरहने ठुलो पहाड छ । विषय विज्ञहरुबाट गराइएको विभिन्न अध्ययनले हेडबक्सलाई पुनः सोही स्थानमा निर्माण गर्नु थप जोखिमयुक्त रहने देखाएकाले हेडबक्स सार्ने निर्णयमा पुगेको आयोजनाले जनाएको छ ।

दातृ निकाय एसियाली विकास बैंकले दुई वर्षअघि नै हेडबक्स सार्न खानेपानी मन्त्रालयलाई सुझाव दिएको भए पनि सरकारले केही दिनअघि मात्रै यसमा सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो । हेडबक्सका संरचना बगरमुनि नै पुरिएका छन् र गेग्रान निकाल्न सकिने अवस्था छैन । हेडबक्सका पुरिएका संरचनालाई खोतलेर इन्टेकमाथि जालीको प्रबन्ध गरी गेग्रान छानेर पानी पठाउन सक्ने अवस्था नभएपछि विज्ञसँगको लामो परामर्शपछि आयोजनाले हेडबक्सलाई झण्डै एक हजार मिटरमाथि सार्ने भएको हो ।

दुईवटा पहाडका बिच खोचमा सार्न लागिएको हेडबक्स निर्माणको विस्तृत अध्ययनका लागि असार मसान्तभित्र सूचना प्रकाशित गर्ने तयारी आयोजनाले गरेको प्रमुख लामिछानेले जानकारी दिनुभयो ।

‘‘अहिले हामीले अल्टरनेट डाइभर्सन टनेलबाट हिउँदको समयमा काठमाडौँमा पानी पठाउने काम गरिरहेका छौँ । यो २०७८ सालको बाढीपछि सफा गरिसकेपछि फेरि २०८० साउन २७ गते भरिएको हो । यहाँ देखिएको टावरभएको क्षेत्र हेडबक्सको क्षेत्र हो । यहाँको पारी पटी बगिरहने पहिरो छ । त्यसैले यही स्थानमा हेडबक्स बनाएर काठमाडौँमा दीर्घकालीन रुपमा पानी लगिरहने अवस्था देखिँदैन ।’’ आयोजना प्रमुख लामिछानेले भन्नुभयो, ‘‘बाढी ल्याएर ठुुलो गेग्राान थुपारेकाले यसको तहमा आइपुग्न ५ किलोमिटरदेखि नदीको च्यानल खोल्दै ल्याउनुपर्ने हुन्छ र यसका लागि असाध्यै धेरै लगानी गर्नुपर्ने हुन्छ । तर पछि माथिबाट आउन सक्ने गेग्रान र देब्रेसाइटमा रहेको निरन्तर पहिरो आइरहने पहाडका कारण जो जोखिमरहित हुनसक्ने अवस्था देखिँदैन । त्यसैले यसका लागि नेपालका विज्ञ, प्रोफेसरलगायतसँग हामीले परामर्श गरेका छौँ ।’’

पुरानो हेडबक्सभन्दा झण्डै १ हजार मिटर दूरी अगाडि (माथि) बनाउन लागिएको हेडबक्सका लागि झण्डै साढे तीन अर्ब लागत लाग्ने अनुमान आयोजनाले गरेको छ । असारभित्रै हेडबक्सको डिपिआरका लागि परामर्शदाता छनोट गर्न सूचना प्रकाशित गर्ने तयारी गरेको आयोजनाले समयमै काम सम्पन्न भएमा चार वर्षभित्र हेडबक्सका सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने प्रक्षेपण गरेको छ ।

मेलम्ची परियोजनासँगै याङ्ग्री र लार्के खोलाको पानी पनि हेडबक्समार्फत नै सुरुङमा पठाइने हुँदा झण्डै याङ्ग्री र लार्के परियोजनाको डिपिआर पनि सँगै गरिने प्रमुख लामिछानेले जानकारी दिनुभयो । हेडबक्स सारे पनि त्यस भेमाथाङ विपत्तिको क्षेत्र भएकाले मेलम्ची, याङ्ग्री र लार्के परियोजना सम्पन्न गर्न अझै पनि कम चुनौतीपूर्ण छैन । दोस्रो चरणको परियोजनाअन्तर्गत याङ्ग्री र लार्केको पानी नदीमा मिसाएर हेडबक्स हुँदै काठमाडौँ ल्याउने सरकारको योजना थियो । तात्कालीन समयमा प्राविधिक हिसाबले यी दुई खोलाको पानी मिसाउन सकियोस् भनेर हेडबक्स हेलम्बुको पुछारमा बनाइएको थियो ।

हेडबक्सलाई पानीसँग सम्बन्धित संरचनामा प्राथमिक गेटवे मानिन्छ । पानी जम्मा हुने, थिग्रिने,  बालुवा तथा ढुङ्गा छानिनेलगायत संरचनाहरु हेडबक्सभित्र रहने गर्दछ । पहिला हेडबक्स बाहिर राखिएको थियो भने अबको संरचना टनेलभित्र नै राख्ने गरी व्यवस्थापन गरिने आयोजनाले जनाएको छ । हेडबक्स प्रयोगमा भएको संयन्त्रले वर्षाद्को समयमा पानीमा मिसिएर आउने बालुवालाई छान्ने गर्दछ ।

भेमाथाङ क्षेत्रमा आएको बाढीले आयोजनाको मुख्य हेडबक्स क्षेत्रमा ठूलो नोक्सान पुर्‍याएको थियो । त्यहाँ रहेका १९ गेटमध्ये दुई गेट मात्रै खोलेर अहिले काठमाडौँमा पानी ल्याइएको छ । मेलम्चीको बाढी आउनु एक वर्षअघि २०७७ चैतमा काठमाडौँमा पानी ल्याइएको थियो । सञ्चालनमा ल्याउने तयारीकै बिच बाढीका कारण हेडबक्स पुरिएपछि हिउँदको समयमा मात्रै वैकल्पिक टनेल बनाएर काठमाडौँमा पानी पठाउँदै आएको आयोजनाले वर्षा हुने क्रम बढ्दै गएपछि विस्तारै बन्द गर्ने तयारी गरेको छ । यसअघि असार १ गतेदेखि काठमाडौँ पठाउँदै आएको पानी वितरण रोक्ने बताइएको थियो तर वर्षा र जोखिमलाई आँकलन गरेर मात्रै पानी बन्द गर्ने तयारी गरेको आयोजनाले अहिले नै पानी रोकिसकेको छैन ।