• १२ असार २०८१, बुधबार

अर्को आन्दोलनको तयारीमा सङ्घर्ष समिति

blog

पत्रकार सम्मेलनमा सहभागी पहिचानवादी नेताहरु । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, असार ३ गते । कोशी प्रदेश नामाकरण विरुद्ध सङ्घर्षरत रहेको प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले नयाँ चरणको आन्दोलनको तयारी गरेको छ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गर्दै प्रदेश सरकारबाट हालसम्मको आन्दोलनलाई बेवास्ता भएकोभन्दै समितिले अर्को नयाँ चरणको आन्दोलनको तयारी गरेको हो ।

शनिबार र आइतबार दुई दिन बसेको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सङ्घर्ष समितिले कोशी नामकरणविरुद्ध नयाँ चरणको आन्दोलन गर्ने जनाएको हो । सङ्घर्ष समितिका संयोजक एवम् किराँत याक्थुङ चुम्लुङका सङ्घीय अध्यक्ष प्रेम येक्तेनले आगामी मङ्सिर २ गते विराटनगरमा विशाल जनप्रदर्शनसहित नयाँ चरणको आन्दोलन सुरु गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

कोशी नाम खारेज गरी पहिचानको आधारमा पुनः नामाङ्कन गर्नुपर्ने मुद्दासहित भइरहेको आन्दोलनलाई सम्बोधन गर्नेतर्फ सत्तापक्ष अग्रसर नदेखिएकाले अर्को चरणको आन्दोलनको तयारी गरिएको येक्तेनले बताउनुभयो । उहाँकाअनुसार नयाँ चरणको आन्दोलनअन्तर्गत स्थानीय तहबाटै समानान्तर सत्ता सञ्चालनको अभ्याससहित सङ्घर्ष समितिले आन्दोलनलाई सशक्त बनाउने छ ।

प्रदेश सरकारले कोशी नामको प्रस्तावक रामबहादुर राना मगरकै नेतृत्वमा वार्ता टोली गठन गर्नु खेदजनक भएको उल्लेख गर्दै आन्दोलनका विषयमा निष्कर्षमा पुग्नेगरी वार्ता गर्ने भए अब भने अस्तित्वमा रहेका दलका नेतासहित मुख्यमन्त्रीको नेतृत्वमा मात्र वार्ता गर्ने समितिका नेतृत्व बताएका छन् । दुई दिने बैठकले कोशी खारेज गरी पहिचानका आधारमा पुनः नामाङ्कन गर्नुपर्ने लगायतका विभिन्न ११ बुँदे महत्त्वपूर्ण निर्णयहरू गरिएको सङ्घर्ष समितिका सदस्य तथा किराँत राई यायोक्खाका उपमहासचिव अर्जुन जन्मेली राईले बताउनुभयो ।

राईका अनुसार ११ बुँदे निर्णयअन्तर्गत पाथीभरामा निर्माण गर्न लागिएको केबलकार परियोजनाविरुद्ध मुक्कुमलुङ संयुक्त सङ्घर्ष समिति र केबलकार निर्माण खारेजी सङ्घर्ष समितिले गर्दै आएको आन्दोलनप्रति ऐक्यबद्धता जनाउने रहेको छ । त्यस्तै कोशी नामका पक्षमा मतदान गर्ने ८२ जना प्रदेश सांसद र पहिचानविरुद्ध अभिव्यक्ति दिने नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, प्रतिनिधि सभा सदस्य योगेशकुमार भट्टराई र एमाले नेता महेश बस्नेतलाई दबाब दिन उहाँका परिवार वा आफन्तमार्फत अनुरोध गर्ने निर्णय भएको छ । 

यस्तै, उहाँहरूलाई सार्वजनिक कार्यक्रममा निमन्त्रणा नगर्न नगराउन सबैसँग अनुरोध गर्ने पनि समितिले निर्णय गरेको छ । यसैगरी पुनः नामाङ्कनको पक्षमा भएको आन्दोलनका क्रममा पक्राउ गरिएका हस्तबहादुर लिम्बू (आशिष् साँवा) को रिहाइका लागि पहल गर्न पहिचानवादी नेता डकेन्द्रसिंह थेगिमको संयोजकत्वमा एक टोली निर्माण गरिएको छ । 

त्यस्तै तेस्रो जनआन्दोलन र पहिचानको मुद्दालाई सशक्त बनाउन मुद्दा मिल्ने राजनीतिक दल र संस्थासँग सहकार्य साथै मोर्चाबन्दी गरेर अघि बढ्ने निर्णय पनि समितिले गरेको छ। 

सङ्घर्ष समितिको बैठकमा पहिचान पक्षधर नेताहरू कियाचु अध्यक्ष येक्तेन, ग्याल्जे शेर्पा, डकेन्द्रसिंह थेगिम, जीवन हाताचो राई, लाक्पा शेर्पा, प्रा.डा. महेन्द्र लावती, मपूर्वमन्त्री गोपाल किराँतीलगायत सहभागी हुनुभएको मुक्कुमलुङ संयुक्त सङ्घर्ष समितिका संयोजक श्री लिङ्खिमले जानकारी दिनुभयो । बैठक सदरमुकाम फुङ्लिङस्थित स्नो लियोपार्ड होटलमा भएको थियो ।