• १२ असार २०८१, बुधबार

पर्यटकीय स्थलमा फोटो खिचेर आम्दानी

blog

गोदावरीस्थित भाइरल पुलमा आगन्तुकलाई फोटो खिचाउन आग्रह गर्दै फोटोग्राफर । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी
धनगढी, असार ३ गते ।
कैलालीको विभिन्न पर्यटकीय स्थलमा फोटोग्राफी गरिरहेका फोटोग्राफरले राम्रो आम्दानी गर्न सफल भएका छन् ।

घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकहरुको फोटो खिचेर उनीहरुले आम्दानी गरिरहेका हुन् । पर्यटकीय स्थलमा फोटोग्राफी आम्दानीको गतिलो माध्यम बनेपछि त्यसतर्फ युवा पुस्ताको आकर्षण बढिररहेको छ । उनीहरुले दैनिक पाँच हजार रुपियाँसम्म कमाउने गरेका छन् ।

फोटोग्राफी गरेर राम्रो कमाइ हुन थालेपछि यस कार्यमा युवाको आकर्षण बढिरहेको कैलालीको गोदावरी नगरपालिका–४ गोदावरीस्थित भाइरल पुलमा फोटोग्राफीमा सक्रिय युवा नितिन भट्टराईले बताउनुभयो । उहाँले एउटै पुलमा २६ जना युवाले फोटोग्राफी गर्ने कार्य गरिरहेको बताउनुभयो ।

“पहिले हामी थोरै यो काममा थियौं”, भट्टराईले भन्नुभयो,“अहिले यहाँमात्रै २६ जना फोटोग्राफर छन् ।”

घुम्न आएका हरकोहीले आफ्नो घुमफिरलाई यादगार बनाउन फोटो र भिडियो खिचाउने गरेका छन् । फोटोग्राफरहरुले एक सय रुपियाँमा पाँच वटा फोटो खिचेर तत्कालै मोबाइलमा दिने गरेका छन् । घुमफिर गर्न आएकाहरुको भिडभाडको बेला बढी आम्दानी हुने गरेको भट्टराईको भनाइ छ ।

युवाले धनगढीस्थित जाखोर ताल, घोडाघोडी नगरपालिकास्थित घोडाघोडी ताल, भाटभटेनी सुपर मार्केटमा फोटो खिच्ने काम गरिरहेका छन् । यस्ता पर्यटकीय स्थलमा विभिन्न जातजातिको मौलिक पहिरन भाडामा दिएर आम्दानी गर्ने कार्य पनि भइरहेको छ । गोदावरीस्थित भाइरल पुलमा घुम्न आएकाहरुलाई मौलिक पहिरन भाडामा दिएर दैनिक आठ हजार रुपियाँसम्म कमाउने गरेको बताउनुभयो ।