• १२ असार २०८१, बुधबार

जनयुद्ध र मधेश आन्दोलनलाई सम्झँदै अर्जुन चौपारी गाउँपालिका

blog

अर्जुन चौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी । तस्बिर: अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, असार ३ गते ।
अर्जुन चौपारी गाउँपालिका गाउँ सभाको १५ औँ अधिवेशनमा सोमबार जनयुद्ध र मधेश आन्दोलनलाई सम्झने प्रयास गरिएको छ ।

स्थानीय तहमा माओवादी केन्द्र तथा मधेशी दलले जितेको पालिकामा जनयुद्ध र मधेश अन्दोलनलाई समेट्नु स्वाभाविकै भए पनि नेपाली कांग्रेसले दुई तिहाईभन्दा बढी सिट जितेको गाउँपालिकामा आन्दोलनलाई ऐतिहासिक भएको बताइएको हो ।

धेरै दलले जनयुद्ध र मधेश आन्दोलनलाई हिंसाको रुपमा चित्रण गरे पनि यहाँ ऐतिहासिक र परिवर्तनको अङ्ग मानिन्छ । 

ऐतिहासिक जनआन्दोलन, जनयुद्ध र मधेश आन्दोलनका घाइते, अपाङ्ग, सम्पूर्ण दिवङ्गत योद्धाका टुहुरा, बेपत्ता एवम् तिनका परिवारजनलाई गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले नीति तथा कार्यक्रममा स्मरण गर्नुभएको छ ।

गाउँपालिकावासीबाट अनुमोदित भएको दोस्रो वर्ष पूरा भई तेस्रो वर्षमा प्रवेश गर्दा पालिकावासीहरूको मुहारमा सकारात्मकता छाएको महसुस गरेको नीति तथा कार्यक्रममा अध्यक्ष प्रकाश तिवारीले बताउनुभएको थियो ।

उहाँले क्षणिक लोकप्रियताका लागि नभई अर्जुनचौपारी गाउँपालिकाको सुरक्षित र गर्विलो भविष्य निर्माणका लागि बलियो आधार तय गर्नेतर्फ विगतमा पनि रहेको र अहिले पनि रहेको तिवारीले बताउनुभएको छ ।

बलियो जगले नै बलियो घर बनाउने बताउँदै नीति तथा कार्यक्रममा जनतासँग मुख्य प्रतिबद्धता व्यक्त गरे अनुसार सुशासित, समुन्नत र सुसंस्कृत गाउँपालिका बनाउन आजसम्म हामीले गरेका बहुपक्षीय प्रयासहरू नै गाउँपालिकाको समग्र विकासको मजबुत आधार बनेको बताइएको छ ।

शिक्षा सुधारको स्वर्ण वर्ष
पालिकास्तरीय परीक्षामा १७ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएकोमा गत वर्ष ५८.५८ प्रतिशत विद्यार्थीरु उत्तीर्ण हुन सफल भएका छन् ।

प्राथमिकता शिक्षाको गुणस्तर वृद्धि एवम् विद्यार्थीको सर्वाङ्गीण विकास भएको बताउँदै नीति तथा कार्यक्रममा आगामी वर्ष शिक्षा सुधारको स्वर्ण वर्षको रुपमा अगाडि बढाइने बताइएको छ ।

शैक्षिक सुधार विरोधी गतिविधिमा शून्य सहनशीलताको नीति अवलम्बन गरिनेछ भने पालिकाभित्र शैक्षिक पूर्वाधारहरूमा लगानी बढाउँदै सम्पूर्ण विद्यार्थीलाई सुदृढ वातावरणमा पठनपाठन गर्ने व्यवस्था गरिनेछ ।

“म जिम्मेवार शिक्षक’’ को नारासहित विभिन्न तहमा शिक्षण सिप र क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिनुका साथै गाउँपालिकाका सबै माध्यमिक विद्यालयहरूमा विद्युतीय हाजिरीको व्यवस्था गरिनेछ ।

बदलिदो समयमा विद्यार्थीहरूमा नैतिक शिक्षा र संस्कारसम्बन्धी चेतनामा कमी भएकाले यस शैक्षिक सत्रदेखि पालिकाभित्र कक्षा ६, ७ र ८ मा संस्कार शिक्षा लागू गरिएको छ ।

विद्यालयमा स्वास्थ्य कार्यक्रम
“नागरिकलाई टेवा –टोलटोलमा स्वास्थ्य सेवा’’ भन्ने कार्यक्रमको पहुँच, गुणस्तर र दायरा फराकिलो बनाउने र स्वास्थ्य संस्थाहरूको पूर्वाधारहरू व्यवस्थित एवम् थप गर्ने नीति पालिकाले लिएको छ ।

पालिकावासीको आँखा उपचारमा पहुँच पुर्‍याउन हिमालय आँखा अस्पतालको सहकार्यमा पालिका प्रशासकीय भवनमा आँखाउपचार केन्द्र पनि सफलतापूर्वक सञ्चालनमा ल्याएको पालिकाले विद्यार्थीहरूको स्वास्थ्य र सरसफाईको नियमित जाँच गर्न “विद्यालय स्वास्थ्य कार्यक्रम’’ सञ्चालनमा ल्याउनेछ ।

बालबालिकाको हुर्किने बेलामा आवश्यक पोषणको उपलब्धताको सुनिश्चितता गर्न पोषण तथा खाद्य सुरक्षा कार्यक्रम पालिकाले आफ्नै स्रोतले निरन्तरता पालिकाले दिनेछ ।

हरेक वडामा कालोपत्रे
हरेक वडा कार्यालयसम्म पक्की सडक पुर्‍याउने नीति अनुरुप वडा नं ३ मा पुर्‍याएको पालिकाले आगामी आर्थिक वर्षमा वडा नम्बर २ र वडा नम्बर ४ लाई कालोपत्रे सडकले जोड्ने छ ।

मुख्य सडकदेखि वडा कार्यालय, स्वास्थ्य संस्था र बिद्यालयहरूको पहुँच मार्ग सहज बनाउन सहायक सडकहरूको स्तरोन्नति गरिनेछ भने प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत  गोरेटो बाटो निर्माणला निरन्तरता दिइने नीति तथा कार्यक्रममा समेटिएको छ ।

कार्यक्रम र योजनाहरुको सामाजिक, लेखापरीक्षण गरिनेछ । घर नक्सा पासलाई अनिवार्य गरी अभिलेखका लागि निश्चित समयसीमा दिई समयमै अभिलेखीकरण गर्नेलाई प्रोत्साहन गर्ने नीति लिइनेछ ।

सीपमूलक र रोजगारमूलक कार्यक्रम
असहाय तथा अपाङ्ग भएका व्यक्ति, गरिब तथा विपन्न, सीमान्तकृत अल्पसङ्ख्यक र पिछडिएको वर्गहरूको सबलीकरण र सशक्तीकरणका लागि सीपमूलक र रोजगारमूलक कार्यक्रम सञ्चालन गर्ने नीति पाालिकाले लिएको छ ।

यहाँ सीपमूलक रोजगार प्रवर्द्धनका लागि रोजगार सेवा केन्द्र, गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम, गरिबसँग विशेश्वोर कार्यक्रम, स्थानीय रोजगार कार्यक्रम र दलित उत्थान केन्द्रका कार्यक्रमहरू प्राथमिकताका साथ अगाडि बढाइनेछ ।

महिलाहरुको नेतृत्व र निर्णायक भूमिका स्थापित गर्ने नीति लिइएको छ भने सामुदायिक विकासका कार्यहरूमा समान सहभागिताका लागि उपयुक्त वातावरण प्रदान गरिनेछ ।

लैङ्गिक हिंसा, घरेलु हिंसा, जातीय छुवाछूत, भेदभाव र बोक्सीका आरोप जस्ता कुरीति, कुप्रथा अन्त्य गर्न निरोधात्मक, संरचनात्मक र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा छ ।

कृषि श्रमिक पलायनले परेको प्रभावलाई न्यूनीकरण गर्न आमा समूह तथा कृषि समूहमार्फत सामूहिक खेती गर्ने नीति पालिकाले लिएको छ ।

वडा नम्बर १, २ र ३ नम्बर वडामा सुन्तला खेतीको प्रचुर सम्भावनालाई दृष्टिगत गर्दै गाउँपालिकासँगको साझेदारीमा सुन्तला खेती विस्तार गर्नेछ ।

ऐतिहासिक, धार्मिक र सांस्कृतिक ठाउँ तथा कला र सम्पदाको पहिचान एवम् खोज गरी संरक्षण गर्ने नीति लिएको छ ।

गाउँपालिकालाई विद्यार्थीहरूको शैक्षिक गन्तव्यको रुपमा विकास गर्न “म्याथमेटिकल पार्क र बाेटानिकल पार्क’’ का लागि आवश्यक स्रोत सुनिश्चित गर्ने नीति लिइएको छ ।

औद्योगिक ग्राममा न्यूनतम १० जनालाई रोजगारी दिने उद्योग सङ्घ संस्थालाई भाडा छुटको व्यवस्था पालिकाले गरेको छ ।

राजस्व भुक्तानी विद्युतीय प्रणाली
सार्वजनिक जग्गा एवम् सम्पत्ति संरक्षणका लागि आवश्यक कानुनको निर्माण गर्ने र पालिकामा विद्युतीय प्रणाली (कियुआर)कोड मार्फत राजस्व भुक्तानीको व्यवस्था गर्नेछ ।

अनावश्यक निर्माण, अनावश्यक अनुदान र फजुल खर्चलाई कटौती गर्ने र क्षतिपूर्ति, आर्थिक सहायता वितरण र पालिकाबाट उपलब्ध सेवा सुविधालाई पारदर्शी र वैज्ञानिक बनाउने नीति पालिकाले लिएको छ ।

खाना पकाउँदा निस्कने धुवाँको न्यूनीकरणको लागि वैकल्पिक उर्जा, सुधारिएको चुलो जडान गरिने छ भने पारदर्शिता  र जबाफदेहिताको  नीति अवलम्बन गर्नेछ ।