• १२ असार २०८१, बुधबार

‘बोक्सीको घर’ ले पूरा गर्‍यो ५१औँ दिन

blog

काठमाडौँ, असार ३ गते । यो वर्ष प्रदर्शनको ५१औँ दिन पूरा गर्ने दोस्रो चलचित्र ‘बोक्सीको घर’ बनेको छ । काठमाडौँस्थित रञ्जना सिनेप्लेक्समा प्रदर्शनको ५१औँ दिन पूरा गरिरहँदा चलचित्रले व्यावसायिक रुपमा पनि सफलता प्राप्त गरेको हो ।

निर्माण पक्षले दश करोड हाराहारीमा चलचित्रले कुल व्यापार (ग्रस कलेक्सन) गरेको बताएका छन् । यो अभिनेत्री केकी अधिकारीको पहिलो सर्वाधिक सफल चलचित्र बनेको छ । सयौँ साङ्गीतिक श्रव्यदृश्य (म्युजिक भिडियो) मा अभिनय गरेपछि डेढदशक अगाडि अधिकारी ‘स्वर’ चलचित्रमार्फत अभिनेत्रीको रुपमा ठूलो पर्दामा आउनुभएको थियो । स्वर चलचित्रमा उहाँ बाहेक प्रायः नयाँ कलाकार हुनुभएकाले दर्शकलाई चलचित्र भवनसम्म ल्याउने श्रेय उहाँलाई गयो ।

निरन्तर चलचित्र क्षेत्रमा व्यस्त अभिनेत्री अधिकारीले दुई वर्ष आगाडि चलचित्र ‘बोक्सीको घर’ मा अभिनय गर्न अडिसन दिएको बताउनुभयो । उहाँले भूमिका निर्वाह गर्न सक्ने वा नसक्ने भन्ने थाहा पाउन निर्देशक सुलक्षण भारतीले क्यामेरा अगाडि अभिनय गर्न लगाउनुभएको थियो ।

“मलाई त्यो भूमिका निर्वाह गर्नुथियो । मैले गरिरहेको कामभन्दा फरक भएकाले मैले नयाँ कलाकार जस्तै अभिनय सिकेर, अडिसन दिएर काम गरेकी हुँ”, अभिनेत्री अधिकारीले भन्नुभयो । डेढ दशकपछि अडिसन दिनुको कारण उहाँलाई उक्त पात्र निर्वाह गर्दा देखाउन सकिने कलाकारिता र चलचित्रले उठान गरेको विषय थियो ।

कोरोना महामारी अगाडि उहाँले मण्डला नाटकघरमा नै बोक्सीको घर नामक नाटक हेर्नुभयो । नाटक हेरेपछि शीर्ष भूमिका निर्वाह गर्नुभएकी सरिता गिरी र निर्देशक भारतीलाई बधाई दिएको उहाँले स्मरण गर्नुभयो । 

गम्भीर विषयलाई मनोरञ्जनात्मक प्रस्तुति दिन सकिन्छ भन्ने लागेकाले कोरोना महामारीको बन्दाबन्दीमा पनि अभिनेत्री अधिकारीले ‘बोक्सीको घर’ चलचित्र बनाउने सोच बनाएको बताउनुभयो ।

पहिलो निर्मित चलचित्र भारतीयको नक्कल रहेको आरोप खेप्नुभएकी अभिनेत्री अधिकारीले यसपटक मौलिकसँगै सामाजिक विषयलाई पर्दामा ल्याउने अठोट गर्नुभयो । “मैले यो कथालाई बढीभन्दा बढी दर्शकलाई देखाउनुपर्छ भनेर बनाउने प्रस्ताव लिएर निर्देशक भेटेँ । उहाँले सुरुमा अस्वीकार गर्नुभयो, मैले निरन्तर प्रयास गरेर सहमत गराएँ”, उहाँले भन्नुभयो ।

उहाँ आफूलाई उक्त पात्रमा तयार गर्ने श्रेय निर्देशक भारतीलाई दिनुहुन्छ । उहाँले चलचित्र सुरु हुनुअघि छ महिना प्रशिक्षण लिनुभयो । “यो पात्रलाई बाँच्नु थियो । त्यसैले मैले दैनिक बिहान ५ बजेदेखि ८ बजेसम्म उक्त पात्रबारे कार्यशाला (वर्कशप) गर्थे । महिलाको यो कथालाई अगाडि ल्याउनु थियो । मलाई उक्त पात्रमा तयार गर्न निर्देशकले निकै मेहनत गर्नुभएको छ”, अभिनेत्री अधिकारीले भन्नुभयो ।

प्राय नेपाली चलचित्रमा अभिनेत्रीलाई अभिनेताका लागि मात्र राखिने गरेकोबारे उहाँ अवगत हुनुहुन्छ । उहाँले पनि यस्तै भूमिका निर्वाह गर्दै आउनुभएको छ । अभिनेत्रीले निर्माण गर्ने चलचित्रले महिला सशक्तीकरणको विषयसँगै मौलिक कथालाई अगाडि ल्याउनुपर्छ भन्नेमा उहाँ स्पष्ट हुनुहुन्थ्यो ।

“धेरै चलचित्रमा अभिनेत्रीले परनिर्भर भूमिका निर्वाह गरेका छन् । सायद, पुरुष हिरो हुँदा चलचित्र चल्छ भन्ने मान्यता पनि होला । त्यही कारण पनि यसपटक चलचित्रमा अधिकांश मुख्य पात्र महिला नै राख्यौँ”, अभिनेत्री अधिकारीले भन्नुभयो, “कमै नाटकलाई चलचित्र बनाइने गरिन्छ । नाटकघरमा नाटक मञ्चन हुँदा व्यावसायिक दबाब कम हुन्छ । चलचित्र भवनमा आउँदा लागत बढ्ने भएकाले बजारलाई ध्यान दिनु अत्यावश्यक हुन्छ ।”

कोरोना महामारीपश्चात् नाटकबाट चलचित्र बनेको ‘पानीफोटो’ र ‘डिग्री माइला’लाई दर्शकले साथ दिए पनि ‘बोक्सीको घर’ भने चलचित्रको भाषामा ‘ब्लकबष्टर’ नै भएको अधिकारीको भनाइ छ । रासस