• १२ असार २०८१, बुधबार

सार्वजनिक बिदामा पनि सेवा प्रदान

blog

जिल्ला प्रशासन कार्यालयमा सोमबार सेवा लिन आएका सेवाग्राही । तस्बिर अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, असार ३ गते ।
 जिल्ला प्रशासन कार्यालय तनहुँले सार्वजनिक बिदाको दिन पनि नागरिकहरू लाई सेवा प्रदान गरेको छ । सरकारले मुस्लिम धर्मालम्वीहरुको दोस्रो महान् पर्व बकर इद (उल अजहा) सोमबार दिएको सार्वजनिक बिदा दिए पनि नागरिकहरूले जिल्ला प्रशासन कार्यालय तनहुँमार्फत सरकारी सेवा प्राप्त गरेका छन् ।

प्रशासकीय अधिकृत विकास श्रेष्ठसहित १३ जना कर्मचारीहरू नियमित काममा खटिएका छन् । सार्वजनिक बिदाको दिन पनि सहज र सरल ढङ्गबाट सेवा लिन पाउँदा सेवाग्राहीहरू अत्यन्तै  खुसी भएका छन् ।

भानु नगरपालिका–११ रुपाकोटका ७५ वर्षीय लालबहादुर गुरुङले १५ मिनेटमै प्रतिलिपि बनाउनुभयो । गुरुङले भन्नुभयो, ‘‘आज भिड कम भएकाले सेवा लिन सहज भयो । धेरै बेर लाइनमा बस्नु परेन ।’’

भीड नभएकाले राष्ट्रिय परिचयपत्रको काम समेत एकै दिनमा भएको उहाँले बताउनुभयो ।  ८६ वर्षीय ससुरा बुबा चित्रसिंह विकको राष्ट्रिय परिचयपत्र बनाउन आउनुभएको व्यास नगरपालिका–३ देउराली नगरकी हरिमाया बिक सार्वजनिक बिदाको दिन कुनै झण्झण्ट बिना सेवा पाएकोमा खुसी लागेको बताउनुभयो ।

विकले भन्नुभयो, “झण्झण्ट पनि भएन, सेवा पनि छिटो पाइयो सार्वजनिक बिदाको दिन सेवा प्रदान गरेकोमा सरकारलाई धेरै–धेरै धन्यवाद ।”

राष्ट्रिय परिचयपत्र बनाउन आउनुभएका व्यास नगरपालिका–३ पुलचोकका धुव्र पौडेलले  भीड  कम भएकाले छिटो काम भएकोमा खुसी लागेको बताउनुभयो ।

सरकारले आधुनिक प्रविधिको प्रयोग र जनशक्ति थप गरेर पालो कुर्न नपर्ने गरी आधा घण्टा भित्रै सबै काम पूरा गर्ने व्यवस्था गरे झन् राम्रो हुने सुझाव पौडेलले दिनुभयो । 

खरदार पदमा कार्यरत प्रेमकुमारी थापाले थप पैसा नपाए पनि देशको आर्थिक अवस्था कमजोर भएकाले सेवा गर्न तयार रहेको बताउनुभयो । यसैगरी, कम्प्युटर अपरेटर प्रताप पण्डितले सेवा दिन भनेर सरकारले खटाएकाले आफूलाई काम गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

सरकारको निर्णयले हामी बेखुसी छैनौँ ।  अतिरिक्त कामको पैसा दिएर उत्साह थप्न आवश्यक छ । चालु आर्थिक वर्षमा परेका सबै सार्वजनिक बिदाका दिनसमेत कार्यालय खुल्ने निर्णय सरकारले गरेकाले जिल्ला प्रशासन कार्यालयबाट सोमबार सेवा प्रदान गरिएको हो । सार्वजनिक बिदाका दिन पनि नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायतको कार्यालयबाट प्रदान हुने सबै सेवा प्रवाह गरिएको प्रशासकीय अधिकृत विकास श्रेष्ठले बताउनुभयो ।

सार्वजनिक बिदाको दिन सेवा प्रदान गरे बापत सट्टा बिदा पाइने व्यवस्था भए पनि तनहुँमा इलाका प्रशासन कार्यालय नहुँदा सधैँ सेवाग्राहीको भीड हुने गरेकाले सेवा प्रवाह प्रभावित हुने भएकोले सबै कर्मचारीले बिदा नलिने गरेको बताउनुभयो ।

श्रेष्ठले भन्नुभयो, ‘‘अतिरिक्त काममा लगाएपछि सरकारले सुविधा थप्नु पर्छ । ट्रेडयुनियन अधिकारको संरक्षण हुनुपर्छ ।’’ 

मन्त्रिपरिषद् बैठकले सेवाग्राहीको चाप हुने सरकारी निकाय दसैँ, तिहार, छठजस्ता ठुला चाडबाहेकका जात्रा, पर्व, दिवस, जयन्तीजस्ता सार्वजनिक बिदामा खुला राख्ने निर्णय गरेसँगै बकर इद पर्वको सार्वजनिक बिदा भए पनि जिल्ला प्रशासन कार्यालय खुला थियो ।