• १२ असार २०८१, बुधबार

भारतमा रेल दुर्घटनामा परी पाँच जनाको मृत्यु

blog

नयाँदिल्ली, असार ३ गते । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा सोमबार मालवाहक रेल र यात्रु बाहक रेल आपसमा ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै २५ जनाभन्दा बढी घाइते भएको उत्तरपूर्वी रेल सेवा, नर्थइस्ट फ्रन्टियर रेलवे (एनएफआर) का अधिकारीले बताएका छन् ।

दार्जिलिङ जिल्लाको फान्सिडेवा क्षेत्रको रङ्गापानी रेलवे स्टेसन नजिकै स्थानीय समय अनुसार बिहान करिब नौ बजे मालवाहक रेल ‘कञ्चनजङ्घा एक्सप्रेस’ यात्रुवाहक रेलसँग ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले सामाजिक सञ्जाल एक्समा दार्जिलिङ जिल्लाको फान्सिडेवा क्षेत्रमा भएको रेल दुर्घटनाबाट उहाँ स्तब्ध भएको उल्लेख गर्नुभएको छ ।

जिल्ला मजिस्ट्रेट, प्रहरी अधीक्षक, चिकित्सक, एम्बुलेन्स र विपद् टोलीलाई उद्धार र चिकित्सकीय सहायताका लागि घटनास्थलमा खटाइएको छ । घटनाको अनुसन्धान भइरहेकोले थप विवरण अनुसन्धानपछि आउने प्रहरीले बताएको छ । रासस/एएफपी