• १२ असार २०८१, बुधबार

सरकार परिवर्तन हुँदैन : प्रधानमन्त्री

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चितवनको भरतपुर विमानस्थलमा स्वागत गरिँदै । तस्बिर : सनद अधिकारी/रासस

वसन्त पराजुली
भरतपुर, असार ३ गते ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका सम्बन्धमा बाहिरी हल्लामा सत्यता नभएको बताउनुभएको छ । भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सरकार राम्रैसँग अगाडि बढ्ने दाबी गर्नुभयो ।

“सरकार अगाडि जान्छ । राम्रैसँग जान्छ । बाहिर कतिपय सन्दर्भमा मिडियामा आउने रियूमरहरुमा कुनै सत्यता छैन । यो समीकरण राम्रैसँग जाने छ”, सरकारमा रहेका दलहरुबाट सरकार प्रति सार्वजनिक असन्तुष्टिका सन्दर्भभमा पत्राकारहरुले उठाएको जिज्ञासामा जवाफ दिँदै प्रधानन्त्रीले भन्नुभयो ।

उहाँले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निति तथा कार्यक्रम र बजेटका विषयलाई लिएर दिनुभएको असन्तुष्टिलाई पनि ठुलो रुपमा हेर्न नहुने तर्क गर्नुभयो । 

“केपी ओलीजीले पनि असन्तुष्टि जस्तो मात्रै पो गर्नुभएको हो । असन्तुष्टि नै गर्नुभाछैन नि”, प्रधानमन्त्री प्रचण्डको जवाफ थियो । उहाँले पछिल्लो गठबन्धन सरकारको सय दिन सन्तोषजनक रहेको पनि बताउनुभयो ।

“सरकारको सय दिन समग्र रुपमा सन्तोषजनक र राम्रो नै छ । नीति तथा कार्यक्रम र बजेट जनताको पक्षमा राष्ट्रको पक्षमा प्रस्तुत भएको छ । यो राम्रैसग प्रतिनिधि सभाबाट पारित हुनेछ” उहाँले भन्नुभयो ।

उहाँले सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिका क्षेत्रमा पनि थुप्रै सकारात्मक पहलहरु अगाडि बढाएको धारणा राख्नुभयो । सरकारका सय दिन सन्तोषजनक रहँदा रहँदै पनि अझै जनभावना अनुसारका  कामहरु भने हुन नसकेको उहाँको भनाइ छ ।

“यो (सरकारको सय दिन ) सन्तोषजनक छ । तर पनि अझै पनि राष्ट्र र जनताको अपेक्षा अनुसार गति दिन आवश्यक छ भन्ने ठानेको छु”, उहाँले स्पष्ट शब्दमा भन्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले राजीनामा खल्तीमा बोकेर हिँडेको भन्दै दिने अभिव्यक्ति उहाँहरुको पहिचानको अभिव्यक्ति मात्रै भएको प्रधानमन्त्रीको टिप्पणी छ । 

“रविजीले सुरुमै भन्नुहुन्थ्यो आफ्नो पहिचानका निम्ति पनि उहाँहरुले यस्तो कुरा भन्नुपर्ने आवश्यकता होला । तर मैले बुझे अनुसार त्यस्तो केही पनि छैन” उहाँले भन्नुभयो ।

उहाँले अहिले आइजिपी पनि परिवर्तन नहुने धारणा राख्नुभयो ।

“अस्ति तीन जना आइजिपीहरुलाई बोलाएरै मैले भनेको छु । अहिले आइजिपी परिवर्तन हुँदैन तपाईंहरु ढुक्कसँग काम गर्नुस् भनेको छु”, उहाँले पत्रकारहरुसँग पनि भन्नुभयो, “आइजिपी परिवर्तन हुन्छ भन्ने कुरा रुमर मात्रै हो ।”