• १२ असार २०८१, बुधबार

भएन झोलुङ्गे पुलको जीर्णोद्धार

blog

अमृतप्रसाद पौडेल 

म्याग्दी, असार ३ गते । बेनी नगरपालिका–७, मङ्गलााघाट र ज्यामरुङकोटको हाँडेभिर–२ जोड्ने झोलुङ्गे पुल निर्माणका लागि तोकिएको अन्तिम मिति सकिए पनि निर्माण सम्पन्न भएको छैन । 

कुल ३४ लाख ९८ हजार ६३७ रुपियाँ ३८ पैसा लागत रहेको उक्त पुलको निर्माणको काम २०८१ साल जेठ मसान्तभित्र सकिनुपर्ने थियो । बेनी नगरपालिकाको २ र ७ का ८६८ घरधुरीका चार हजार ३४० जनसङ्ख्याले प्रयोग गर्ने उक्त पुल निर्माण सम्पन्न हुन नसक्दा यो वर्षामा पनि जनतालाई समस्या हुने देखिन्छ । मङ्गलाघाटका स्थानीय बासिन्दा सुवास श्रेष्ठले पुल निर्माणका लागि गैरसरकारी संस्था मिलनले प्राविधिक उपलब्ध गराउनुपर्नेमा समयमै उपलब्ध नगराउँदा ढिला भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जिल्लाकै पुरानोमध्येको मानिने उक्त पुलको जीर्णोद्धार भएको हो । यसलाई समयमै सक्नुपर्ने थियो तर प्राविधिककै कारणले गर्दा ढिलाइ भएको हो ।”

२०८० साल जेठ ९ गते सम्झौता गरेको उक्त पुल निर्माण २०८१ साल जेठ मसान्तभित्र सकिनुपर्ने थियो तर सकिएन । गैरसरकारी संस्था मिलन म्याग्दीको प्राविधिक तथा सामाजिक सहयोगमा निर्माण हुन लागेको उक्त पुलका लागि सङ्घीय सरकार, स्थानीय तहको आर्थिक तथा उपभोक्ताको जनश्रमबाट निर्माण सम्पन्न हुनुपर्ने थियो । सङ्घीय सरकारको क्षेत्रगत झोलुङ्गे पुल कार्यक्रमको बजेटमा मिलन म्याग्दीले सामाजिक तथा प्राविधिक सहयोग गरेको मिलन म्याग्दीकी अध्यक्ष दिलमाया बिटालुले जानकारी दिनुभयो ।