• १२ असार २०८१, बुधबार

सवारीसाधन किन्न विद्यालयलाई अनुदान

blog

रुपन्देही समाचारदाता

रुपन्देही, असार ३ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नगरभित्रका सामुदायिक विद्यालयलाई पालिकाले सवारीसाधन सञ्चालनका लागि अनुदानको व्यवस्था गरेको छ । नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयलाई सवारीसाधन खरिद गर्न ५० प्रतिशत अनुदान रकम उपलब्ध गराएको हो । 

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले समुदायमा शिक्षाको पहुँच बढाउन यस्तो अनुदानको कार्यक्रम लागु गरिएको जानकारी दिनुभयो । २०७४ सालदेखि यस्तो अनुदानको कार्यक्रम सुरु गरिएको हो । हालसम्म मावि तहका १५ वटा विद्यालयलाई १० लाखका दरले पालिकाले रकम उपलब्ध गराएको छ । यो ५०  प्रतिशत रकम हो । 

पालिकाभित्र आधारभूत तथा मावि तहका ४२ वटा सामुदायिक विद्यालय छन् । बाँकी रहेका विद्यालयलाई क्रमशः रकम वितरण गरिने पालिकाले जनाएको छ । नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख गङ्गाराम आचार्यले मावि तहका विद्यालयलाई रकम वितरण गरेपछि आधारभूत तहका विद्यालयलाई क्रमशः वितरण गरिने उल्लेख गर्नुभयो । नगरभित्र दुई वटा गुरुकुल आवासीय विद्यालय पनि छन् । 

नगरपालिकाले सवारीसाधन खरिद गर्न अनुदान रकम उपलब्ध गराएका विद्यालयलाई हरेक वर्ष एक लाखका दरले तेल खरिद गर्नसमेत रकम उपलब्ध गराउने गरेको आचार्यले बताउनुभयो । तेल खरिद गर्न यो रकम पर्याप्त भने नभएको विद्यालयले जनाएका छन् । गौतम बुद्ध मावि तिलोत्तमाका प्राचार्य मृगेन्द्रप्रसाद रिजालले नगरपालिकाले उपलब्ध गराएको एक लाख रकम पर्याप्त नभए पनि केही महिनालाई सहयोग पुग्ने बताउनुभयो । यो अनुदानको कार्यक्रमले नगरको शैक्षिक विकासमा मद्दत पु¥याएको उहाँले उल्लेख गर्नुभयो । तिलोत्तमाका आधारभूत तहका विद्यालयले भने इरिक्सा सञ्चालन गरिरहेका छन् । 

विश्व शान्ति सामुदायिक आधारभूत विद्यालयका प्राचार्य डोलराज पाण्डेले आधारभूत तहका विद्यालयलाई पनि सवारीसाधन सञ्चालनका लागि अनुदान रकम उपलब्ध गराउनुपर्ने माग गर्नुभयो । मावि तहका विद्यालयलाई दिइने तेल खर्च आधारभूत विद्यालयलाई पनि उपलब्ध गराउनुपर्ने उहाँको भनाइ छ । आधारभूत तहका विद्यालयलाई खर्च व्यवस्थापन गर्न कठिन रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

आगामी आर्थिक वर्षमा तिलोत्तमाका मधवलिया मावि र बरबलिया माविलाई सवारीसाधन खरिद गर्न रकम उपलब्ध गराउने योजना रहेको नगरपालिकाले जनाएको छ । नगर कार्यपालिकाको बैठकले हरेक वर्ष विद्यालयमा विद्यार्थीको चाप र आवश्यकता हेरेर उक्त रकम उपलब्ध गराउँदै आएको छ । हालसम्म सवारीसाधन खरिद गर्न र तेल खर्चबापत तीन करोड रकम वितरण गरिसकेको नगरपालिकाले जनाएको छ ।