• २४ असार २०८२, मङ्गलबार

सीमान्तकृत समुदायलाई कृषिऔजार वितरण

blog

गुणबहादुर रोका 

सुलीकोट, जेठ २ गते । गोरखाको गण्डकी गाउँपालिकाले दलित, विपन्न, तथा सीमान्तकृत समुदायलाई कृषिऔजार वितरण गरेको छ । 

पालिकाको गरिबी न्यूनीकरण तथा क्षमता विकास कार्यक्रम अन्तर्गत सङ्घीय सरकारको विशेष अनुदानतर्फ गण्डकी गाउँपालिका भित्रका ८ वटा वडाका दलित, विपन्न, तथा सीमान्तकृत समुदायलाई गरिबी न्यूनीकरण गर्न तथा क्षमता विकास कार्यक्रम अन्तर्गत हाते टयाक्टर, थ्रेसर, सिलाई मेसिन, आरन र पञ्चेबाजा वितरण गरेको छ ।

गण्डकी गाउँपालिकाले शनिबार एक कार्यक्रमबिच ८ वटा वडाका १६० जना दलित, विपन्न, तथा सीमान्तकृत समुदायका लागि आवश्यक सामग्री वितरण गरी गाउँपालिका भित्रका गरिब, दलित तथा सीमान्तकृत समुदायलाई आर्थिक रूपमा माथि उकास्न तथा गरिबीको सङ्ख्यमा कमी ल्याउन साथै सीप सिकेर क्षमता विकास गराउन गाउँपालिकाबाट निःशुल्क कृषिऔजार सहयोग गरिएको गाउँपालिका अध्यक्ष दीपक तिमेल्सनाले जानकारी दिनुभयो । 

कृषि पेसालाई आधुनिकीकरण तथा व्यवस्थित गरी उत्पादन बढाउन गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०–२०८१ को बजेटबाट गरिबी न्यूनीकरण गर्न तथा क्षमता विकास कार्यक्रम अन्तर्गत कृषि सामग्री निःशुल्क अनुदानमा किसानलाई ५० लाख रुपियाँको कृषि सामग्री उपकरण सहयोग गरिएको अध्यक्ष तिमिल्सेनाले बताउनुभयो । 

स्थानीय किसानलाई व्यावसायिक कृषि क्षेत्रमा आकर्षित गर्न कृषि उपकरण वितरण गरिएको गण्डकी गाउँपालिका अध्यक्ष दीपक तिमिल्सेनाको भनाइ छ । किसानलाई कृषि उपकरणको सही सदुपयोग गरी आफूले जानेको सीप भरपुर प्रयोग गर्न आग्रह समेत गर्नुभयो ।

गाउँपालिकाले दिएको सामग्रीबाट व्यावसायिक हुँदै स्वरोजगार भई आर्थिक उपार्जनमा सहयोग पुग्ने विश्वाससहित ५० लाख बराबरको सामान हस्तान्तरण गरिएको हो । कृषि उपकरणले स्थानीय रूपमा उत्पादन बढाउन गाउँपालिकामा कृषिमा आत्मनिर्भर बनाउन योगदान पुग्ने विश्वास लिइएको छ ।  

गण्डकी गाउँपालिकामा अत्यधिक मात्रामा दलित र सीमान्तकृत समुदायको बसोबास भएकाले आफ्नो सीपअनुसार दक्षता हासिल गरी दलित तथा सीमान्तकृत समुदायको आयस्तरमा आम्दानी बढाउन गाउँपालिकाले विशेष कार्यक्रममार्फत उहाँहरूलाई सहयोग गरेको छ । 

गाउँपालिकामा केही सीमान्तकृत समुदायमा कृषिमा पनि आत्मनिर्भर हुने भएकाले उहाँहरूलाई हाते टयाक्टर, थ्रेसर मेसिन, वितरण गरिएको छ । दलित समुदायलाई आफ्नो सीपअनुसार पञ्चेबाजा, सिलाइ मेसिन, आरन वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटीले बताउनुभयो ।

गाउँपालिकाले दिएको पञ्चेबाजा, सिलाइ मेसिन र फलामका भाँडाकुँडा बनाउने आरनले व्यावसायिक सफलता पाउने गाउँपालिकाले विश्वास लिएको प्रमुख प्रशासकीय अधिकृत उपरकोटीको भनाइ छ ।