• ११ असार २०८१, मङ्गलबार

साहित्यकार न्यौपानेको 'ज्योतिर्गमय' कृति लोकार्पण

blog

कृति लोकार्पण कार्यक्रममा सहभागीहरू । तस्बिर : रेखीराम राना

रेखीराम राना

तानसेन, असार २ गते । साहित्यकार एवम् पत्रकार नीलकण्ठ न्यौपानेले लेख्नुभएको ‘ज्योतिर्गमय’ आत्मकथाको लोकार्पण गरिएको छ । पाल्पाको पर्यटकीय एवम् धार्मिक स्थल रम्भादेवीको मन्दिर परिसरमा प्रश्रित प्रतिष्ठान नेपाल रुपन्देहीका अध्यक्ष एवम् साहित्यकार प्रा.डा. कपिल लामिछाने, प्रतिनिधि सभाका सदस्य नारायणप्रसाद आचार्य लगायतले उक्त कृतिको लोकार्पण गर्नुभएको हो । 

लोकार्पण कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै साहित्यकार प्रा.डा. लामिछानेले प्रकाशित पुस्तकलाई लेखकले आत्मकथा भनेपनि यसलाई लेखककै जीवनी उल्लेख भएको पुस्तकका रूपमा लिन सकिने बताउनुभयो । पुस्तकमा बिम्बको प्रयोगमार्फत आफूले बाल्यकालदेखि भोगेका अनुभव, अनुभूति तथा यथार्थ भोगाइलाई सरल रूपमा प्रस्तुत गरिएकाले पाठकका लागि पुस्तक उपयोगी हुने लामिछानेले बताउनुभयो । 

यस्तै, प्रतिनिधि सभाका सदस्य नारायणप्रसाद आचार्यले न्यौपानेले लेख्नुभएको कृतिले नेपाली भाषा र साहित्यको उत्थान र विकासमा सहयोग पुग्ने विश्वास गर्नुभयो । आचार्यले गाउँ, समाज र देशलाई सही दिशातर्फ डोर्‍याउन साहित्यकारहरूले निरन्तर कलम चलाउनुपर्नेमा जोड दिनुभयो । जिल्ला समन्वय समितिका प्रमुख टङ्कनाथ खनालले साहित्यकार न्यौपाने एक सरल, निष्ठा र नैतिक मूल्य मान्यता स्थापित गर्न सफल रहेको बताउनुभयो । उहाँले कृतिमा लेखकको वास्तविक जीवन झल्केको र त्यसले नयाँ पुस्तालाई मार्गदर्शन गर्ने बताउनुभयो । 

पुस्तकका बारेमा समीक्षात्मक टिप्पणी गर्नुहुँदै साहित्यकार डा. टङ्क पन्थले समाजमा रहेका उज्यालो पक्षलाई कृतिमा समेटिएकाले त्यसले पाठकलाई सत्मार्गमा अघि बढ्न प्रेरणा मिल्ने बताउनुभयो । कृतिका लेखक न्यौपानेले रम्भापानीमा आफूले बाल्यकालमा गरेको तपस्याबाट वृहत् ज्ञान प्राप्त गरेकाले त्यसको ऋण तिर्न आफूले मन्दिर परिसरमा पुस्तक विमोचन गरेको जानकारी दिनुभयो । लेखक न्यौपाने मादक पदार्थ निरन्तर सेवन गर्ने व्यक्तिजस्तै आफूले निरन्तर लेख्न रुचाउने उल्लेख गर्नुभयो । 

निरन्तर लेख्ने बानीले नयाँ कृति प्रकाशित गर्न सहयोग मिलेको उहाँको भनाई छ । कार्यक्रममा पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्रगोपाल सिंह, रम्भा पर्यटन विकास प्रतिष्ठानका अध्यक्ष विनोद श्रेष्ठलगायतले धारणा राख्नुभयो । कार्यक्रममा रम्भादेवी पर्यटकीय स्थलको प्रचारप्रसार र विकासका बारेमा समेत चर्चा गरिएको थियो ।