• १ फागुन २०८२, शुक्रबार

काठमाडौँ - १ : सबै उम्मेदवारको जित्‍ने आ-आफ्नै दाबी

blog

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं. १ का उम्मेदवार ।

काठमाडौँ, फागुन १ गते ।  प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं. १ का उम्मेदवारले आ–आफ्नो जित सुनिश्चित हुने दाबी गर्नुभएको छ । 

नेकपा (एमाले) का मोहनराज रेग्मी, नेपाली कांग्रेसका प्रबल थापा, नेपाली कम्युनिस्ट पार्टीका मेनुका भण्डारी कृतु, राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीका रन्जु न्यौपाने दर्शना, जनता समाजवादी पार्टी नेपालका प्रकाश नायजु, नेपाल मजदुर किसान पार्टीका रमिला ज्याख्व सुवाल, प्रगतिशील लोकतान्त्रिक पार्टीका सबिन सिग्देल उम्मेदवार हुनुहुन्छ ।

राजनीतिक दलबाट १६ र स्वतन्त्र उम्मेदवार १३ गरी प्रतिनिधि सभा सदस्यका लागि काठमाडौँ–१ मा जम्मा २९ जना उम्मेदवार रहनुभएको छ । जसमध्ये २५ पुरुष र चार महिला उम्मेदवार रहनुभएको छ । 

साङ्गठनिक बलको आधार

एमालेका मोहनराज रेग्मी पार्टीको साङ्गठनिक बलको आधारमा निर्वाचनमा जित सुनिश्चित भएको बताउनुहुन्छ । देशको संविधान तथा वर्तमान व्यवस्था रक्षाका लागि पनि निर्वाचन आवश्यक रहेको उहाँको भनाइ छ ।  

रेग्मीले भन्नुभयो, “हाम्रो जनलहर, स्ट्रेन्थ कायमै रहेको हुनाले एउटा आधार यो हो । अर्को आधार भनेको नेकपा (एमाले) ले स्थानीय उम्मेदवार दिएको छ । नेकपा (एमाले) मा आस्था राख्ने युवा, कार्यकर्तादेखि सम्पूर्ण सङ्गठित सदस्य, साथीले उत्साहजनक रुपमा स्वागत गर्नुभएको छ । तेस्रो भनेको म यही हुर्केको, पेशा, व्यवसाय गरेको र यही विद्यार्थी आन्दोलनमा हुर्केको हुनाले पनि माया, ममता राख्ने साथी धेरै हुनुहुन्छ । यसले गर्दा निर्णायक मतको मैले आशा गरेको छु ।”


उहाँले एमाले लोकतन्त्र र जनताप्रति विश्वास गर्ने पार्टी भएकोले पनि आफ्नो जितको एउटा बलियो आधार यो पनि भएको भनाइ राख्नुभयो । 

उहाँले भन्नुभयो, “लोकतन्त्र स्थापना गरेको हिजोको आन्दोलनको कुरा छन्, यो मर्मलाई बुझ्ने गरी अगाडि बढ्नुपर्छ । हाम्रो पार्टीले उठाएका एजेण्डा छन् । नेकपा (एमाले) भनेको सबैभन्दा स्थापित पार्टी हो । हामी लोकतन्त्रप्रति र जनताप्रति विश्वास गर्ने पार्टी भएकोले गर्दा नेकपा (एमाले) को यहाँ एउटा आधार छ । यसको एउटा इतिहास छ ।” 

जितको निरन्तरता दोहोरिने विश्वास 

नेपाली कांग्रेसका प्रबल थापा काठमाडौँ क्षेत्र नं. १ मा कांग्रेसको राजनीतिक इतिहास मजबुत रहेको भन्नुहुँदै आफ्नो जित सुनिश्चित भएको दाबी गर्नुहुन्छ । 

थापा भन्नुहुन्छ, “काठमाडौँ क्षेत्र नं. १ को संसदीय राजनीतिलाई हेर्नुहुन्छ भने २०६४ सालदेखि नेपाली कांग्रेसले प्रतिनिधित्व गर्दै आएको शिलशिला यो क्रममा पनि जोडिन्छ । यसको प्रमुख आधार भनेको नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि अहिले स्थानीय तह, प्रदेश तह, प्रतिनिधि सभामा प्रतिनिधित्व गर्नुभएका साथीले जनआकाङ्क्षा, जनभावनालाई उचित रुपले प्रतिनिधित्व गरेको र नेपाली कांग्रेसको साङ्गठनिक बल, सङ्गठनमा भिजेर आम जनता, मतदाताको हरेक सुख, दुखमा सँगै रहेको कारण जितको निरन्तरता यो पटक पनि दोहोरिन्छ भन्नेमा म पूर्ण विश्वस्त छु ।” उहाँले सुशासन, भ्रष्टाचार निवारण, पारदर्शीता, जवाफदेहीतासहितको प्रतिबद्धता आम मतदाता समक्ष व्यक्त गर्दै आएको बताउनुभयो । 


उहाँ भन्नुहुन्छ, “अहिलेको प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि सुशासन र समुन्नति भन्ने नारा लिएर आएको छु । सुशासन, गुड गर्भनेन्सका कुरा, भ्रष्टाचार निवारणमा शून्य सहनशीलता, पारदर्शीता, जवाफदेहीता, एउटा राज्य संयन्त्र र म जनप्रतिनिधि हुँदा पनि मैले गरेका क्रियाकलाप पनि पारदर्शी हुनुपर्छ ।”

नेता होइन, सेवा बन्न उम्मेदवार

नेपाली कम्युनिस्ट पार्टीका मेनुका भण्डारी (कृतु) अहिले निरन्तररुपमा नागरिक माझ गएर सुझाव सङ्कलन गर्ने कार्य भइरहेको बताउनुहुन्छ । यो निर्वाचनमा सुशासन कायम गर्ने, भ्रष्टाचार नगर्ने र गर्न नदिने लगायतका स्थानीय एजेण्डा उठान गरिएको उहाँको भनाइ छ ।

भण्डारी भन्नुुहुन्छ, “उम्मेदवारको हैसियतले सुझाव, अपेक्षा सङ्कलन गरिरहेका छौं । नागरिकका घरदैलो, आँगनमा गएर उहाँहरुलाई आफ्नो विषय भन्दै र उहाँहरुको सुझाव लिने क्रम निरन्तर ढङ्गले अगाडि बढिरहेको छ । खासगरी, जेनजी विद्रोह पश्चात् देशमा जुन परिस्थिति सिर्जना भयो यसको समाधानका लागि नागरिक के चाहन्छन् ? समृद्ध देश निर्माणका लागि कस्ता–कस्ता विषयमा हामीले काम गर्नुपर्छ ? कस्ता विषयलाई प्राथमिकता दिनुपर्छ भन्ने सुझावहरु सङ्कलन गर्ने क्रममा छौं । 


उहाँले काठमाडौँ – १ मा धेरै उम्मेदवार प्रतिस्पर्धामा रहेको भन्नुहुँदै आफ्नो जितको मुख्य आधार सङ्गठन नै भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “विभिन्न कम्युनिस्ट विचारधाराका २२  घटकलाई एक बनाएर संयुक्त पार्टी निर्माण गरेका छौं । वामपन्थी आन्दोलनलाई एकीकृत गर्ने र स्थापित गर्ने अभियानमा छौं । यही सन्दर्भमा व्याख्या नगरी सश्लेषण गरेर भन्नुपर्दा हाम्रो सङ्गठनको आधार राम्रो, ठुलो छ र हामी प्रतिस्पर्धामा छौं । धेरै उम्मेदवार प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । मेनुका भण्डारी नेता होइन, सेवक बन्न यो क्षेत्रमा आएको छ । यही मेरो जितको आधार हो ।”

फरक पार्टीका मतदाताको समेत समर्थन छ

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रविन्द्र मिश्र विगतका निर्वाचनमा फरक–फरक पार्टीमा भोट हालेका स्थानीयबासी समेत यो पटक आफ्नो पक्षमा देखिएको भन्नुहुँदै यो पटक आफ्नो जित सुनिश्चित भएको बताउनुहुन्छ । 

मिश्र भन्नुहुन्छ, “पहिला पनि म १२५ भोटले मात्रै पराजित भएको हो । यो पटक गत निर्वाचनमा फरक–फरक पार्टीमा भोट हाल्ने साथीहरु सबैले तपाईंले जित्नुपर्छ भनेर त्यति धेरै सद्भाव देखाइरहनुभएको छ । 

सामाजिक सञ्जालमा पनि रविन्द्र, रविन्द्र भनेर समर्थन जनाइराख्नुभएको छ । त्यसो हुनाले यो पटकको जित सुनिश्चित हुने आधार भनेको के हो भने गत निर्वाचनमा थोरै मतान्तर मात्रै थियो । यो पटक फरक–फरक पार्टीका मान्छेले सार्वजनिक रुपमा मेरो समर्थन नगर्नुभएको छ । मेरो जित्ने आधार यही नै हो ।”

यो भन्दा अगाडिको निर्वाचनमा फरक–फरक पार्टीमा भोट हाल्ने मतदताले मेरा कार्यक्रम आयोजना गरिरहनुभएको छ । तपाई संसदमा पुग्नैपर्ने मान्छे हो, पछिल्लो समय पनि १२५ भोटमा मात्रै तलमाथि पर्‍यो भन्नुहुन्छ । त्यसो हुनाले म एकदमै राम्रोसँग अगाडि बढीरहेको छु ।”


सांसदको मुख्य एजेण्डा भनेको देशको दीर्घकालीन हित, अहिलेको भूराजनीतिक संवेदनशीलता र आन्तरिक परिस्थितिलाई मनन् गरेर ३० वर्ष पछिको नेपाललाई सही नीति, कानुन, ऐन, नियम निर्माणमा आफ्नो क्षमता र इमानले भ्याएसम्म इमानदारीपूर्वक योगदान गर्नसक्नुपर्ने उहाँ बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “त्यसबाहेक सांसदको क्षेत्रीय दायित्व भनेको आफ्नो क्षेत्रमा कुनै पनि समुदायमा बिजुली, ढल पुगोस्, सुरक्षा, डुबानको होस् या फुटपाथको जेसुकै समस्या परोस् त्यो समस्याको बेलामा त्यो समुदायले समस्या पर्‍यो भनेर सार्वजनिक फोन गर्दा सांसद उपस्थित हुने र सँगसँगै त्यो समस्या वडाले हल गर्नुपर्ने हो कि, महानगरपालिका वा कुनै विभागले हल गर्नुपर्ने हो या मन्त्रालयले हल गर्नुपर्ने हो त्यो निक्र्यौल गरेर स्थानीय प्रतिनिधिलाई पनि साथमा लिएर सम्बन्धित निकायको ढाको ढक्ढक्याएर त्यो समस्या समाधान गर्न सघाउने सांसदको दोस्रो दायित्व हो ।” 

आफू परिचित र अनुभवी उम्मेदवार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रञ्जु न्यौपाने (दर्शना) काठमाडौँका लागि आफू परिचित र अनुभवी उम्मेदवार भएकोले आफ्नो जितको आधार बलियो भएको बताउनुभयो ।

न्यौपाने भन्नुहुन्छ, “मत जित्ने आधार चाहिँ यो सरकार गठन गर्ने पार्टीको उम्मेदवार भएर हो । अर्को उम्मेदवार आफैंमा योग्य पनि छ । पढाइको हिसाबले पनि अनुभवको हिसाबले पनि र ठुलो ठुलो वाचा गरेको छैन । सकिने काम यी – यी हुन् यसरी गर्न सकिन्छ भनिएको छ । त्यो हुनै नसक्ने कुराहरु हावादारी कुरा गरेको छैन । त्यसकारण, मतदाताहरुले मतदान गर्नुहुन्छ भन्ने लाग्छ ।”


उहाँका अनुसार रास्वपाले फागुनको पहिलो साता पार्टीको घोषणापत्र सार्वजनिक गर्दैछ । काठमाडौँ–१ मा सुकुम्बासी, भूमिहिनसँग सम्बन्धित समस्या, फोहोरमैला, खोला, नाला अतिक्रमण र सुरक्षा चुनौतीदेखिका समस्याको उचित प्रवर्द्धन गर्नुपर्ने उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “काठमाडौँ क्षेत्र नं. १ मा एकदमै धेरै बस्तीहरु छन्, खुला ठाउँ छैनन् । ती विषयहरु आइरहेका छन् । अर्को जेनजी विद्रोहको प्रमुख माग सुशासन छ त्यो चाहिँ पहिलो एजेण्डा बन्नुपर्छ । बच्चाबच्चीलाई मार्ने अधिकार, जेनजीको त्याग, बलिदान खेर जान दिनुहुँदैन ।”

काठमाडौँ–१ मा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि स्वतन्त्र उम्मेदवार कमल कोइराला, राजु भुजेल, शम्भु पोखरेल, सुरेन्द्रप्रसाद ढकाल, सागर जोशी, असिम मान सिंह बस्न्यात, किरण शाह, कुमार शाही, राज कुमार बजगाई, शान्ति श्रेष्ठ, कुशल खत्री, संगित बम्म र रमेश प्रसाद जोशी उम्मेदवार हुनुहुन्छ । 


Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।