• १ फागुन २०८२, शुक्रबार

आजपाले सार्वजनिक गर्‍यो घोषणापत्र

blog

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै आम जनता पार्टी (आजपा) का शीर्ष नेताहरू ।

काठमाडौँ, फागुन १ गते । आम जनता पार्टी (आजपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि आफ्नो चुनावी घोषणापत्र आज (शुक्रबार) सार्वजनिक गरेको छ । काठमाडौँको भृकुटीमण्डपमा आयोजित पत्रकार सम्मेलनमा आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह, नेता ऋषिराज धमला, सहअध्यक्ष तिलक थापामगर लगायतका नेताहरूले संयुक्त रूपमा सो घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।

घोषणापत्रमा पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली, करको सीमा र निःशुल्क आधारभूत सेवासहितका व्यापक सुधारका एजेन्डा अघि सारेको छ । 

यस्तै, शासन प्रणालीदेखि अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, ऊर्जा र वैदेशिक नीतिसम्मका संरचनागत परिवर्तनका लागि प्रतिबद्धता व्यक्त गरिएको छ ।

प्रत्यक्ष कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणाली

घोषणापत्रमा प्रधानमन्त्री र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था, सङ्घ र प्रदेशमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली तथा निर्वाचित जनप्रतिनिधिले सन्तोषजनक काम नगरेमा कार्यकालभित्रै जनताले फिर्ता बोलाउन पाउने ‘राइट टु रिकल’ को अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता गरिएको छ । 

पार्टीले सरकारले कुल गार्हस्थ्य उत्पादनको २० प्रतिशतभन्दा बढी कर लगाउन नपाउने संवैधानिक व्यवस्था गर्ने प्रस्ताव गरेको छ । 

यस्तै, गैरआवासीय र विदेशीलाई नागरिकता दिने विद्यमान प्रावधानको पुनरावलोकन गर्ने एजेन्डा आजपाले अघि सारेको छ ।

भ्रष्टाचार नियन्त्रण र न्यायालयको डिजिटलीकरण

पार्टीले भ्रष्टाचारमाथि जनताको प्रत्यक्ष निगरानी रहने विशेष कानुनी संरचना बनाउने प्रतिबद्धता जनाएको छ । 

मुलुकमा पारदर्शिता कायम गर्न सरकारी खर्च र विकास आयोजनाको विवरण अनलाइनमार्फत सार्वजनिक गरिने, नीतिगत भ्रष्टाचारमा संलग्न राजनीतिक नेतृत्व वा व्यक्तिको सम्पत्ति जफत गरी कडा कारबाही गरिने र न्यायालयको पूर्ण अङ्कीकरण (डिजिटलीकरण) मार्फत न्यायिक सुधार गर्ने योजना अघि सारिएको छ ।

रोजगारीको ग्यारेन्टी

आजपाले ‘एक घर, एक रोजगारी’ कार्यक्रम लागू गर्ने र बेरोजगारलाई बेरोजगारी भत्ता दिने घोषणा गरेको छ । नेपाललाई ‘ग्लोबल आईटी हब’ बनाउने लक्ष्यसहित युवा उद्यमीलाई १० लाखदेखि २५ लाख रूपियाँसम्म प्रारम्भिक पुँजी (सीड मनी) उपलब्ध गराउने योजना सार्वजनिक गरिएको छ । 

हरेक विद्यार्थीले अनिवार्य रूपमा कम्तीमा एक उच्च प्राविधिक सीप सिक्नुपर्ने व्यवस्थाको प्रत्याभूति गर्ने घोषणापत्रमा उल्लेख छ ।

शिक्षा, स्वास्थ्य र आधारभूत सेवा निःशुल्क

पार्टीले पूर्ण साक्षर राष्ट्र, स्मार्ट कक्षाकोठा र ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रम लागू गर्ने प्रतिबद्धता जनाएको छ । 

स्वास्थ्य क्षेत्रमा डिजिटल हेल्थ कार्ड, गम्भीर रोगको पूर्ण निःशुल्क उपचार र प्रत्येक पालिकामा विशेषज्ञ अस्पताल स्थापना गर्ने योजना सार्वजनिक गरिएको छ । त्यस्तै, शिक्षा, स्वास्थ्य, खानेपानी र विद्युत् आधारभूत रूपमा निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता आजपाले व्यक्त गरेको छ ।

पूर्वाधार, ऊर्जा र आवास

पार्टीले मुख्य राजमार्गको स्तरोन्नति, सडक सुरक्षामा उच्च प्रविधिको निगरानी प्रणाली र ठूला सहरमा व्यवस्थित सार्वजनिक पार्किङको व्यवस्था गर्ने एजेन्डा अघि सारेको छ । 

राजमार्गमा अप्टिकल फाइबर विस्तारसहित डिजिटल करिडोर विकास गर्ने योजना घोषणापत्रमा समावेश छ । विद्युत् उत्पादन र निर्यात वृद्धि गर्दै ‘हिमालयन ओरिजिन’ ब्रान्डमार्फत बोतलको पानी अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने दाबी गरिएको छ ।

 यस्तै, भूमिहीनका लागि ‘भर्टिकल हाउजिङ’ निर्माण र योजनाबद्ध नयाँ सहर विकास गर्ने प्रतिबद्धतासमेत जनाइएको छ ।