• १० असार २०८१, सोमबार

ऐतिहासिक मानेपानी ढुङ्गेधारो गुमनाम अवस्थामा

blog

गुणबहादुर रोका 

सुलीकोट, असार २ गते । गोरखा नगरपालिका–५ मानेपानीमा रहेको ऐतिहासिक मानेपानी ढुङ्गेधारो गुमनाम अवस्थामा छ । तत्कालिन राजा श्री ५ वडा महाराजधिराज पृथ्वीनारायण शाहले त्यसै धारोमा दैनिक १ माना पानी पिउने भएकाले त्यस धाराको नाम मानेपानी धारो हुन गएको इतिहासविद् तथा उपप्राध्यापक यदु अधिकारीले बताउनुभयो।

उहाँका अनुसार मानेपानी ढुङ्गेधारो गोरखकाली मन्दिरदेखि बिन्ध्यवासिनी माई मन्दिर जाने पदमार्गको बिचमा छ । यस ढुङ्गेधाराको मुख्य विशेषता भनेको जाडो वा गर्मी मौसममा तातोपानी आउने अनौठो विशेषता पनि रहेकाले ऐतिहासिक बन्न पुगेको उहाँको भनाइ छ । 

यस मानेपानी ढुङ्गेधाराको विषयमा मैले गोरखाका प्रसिद्ध इतिहास भन्ने पुस्तकमा समेत विभिन्न अग्रजहरुको भनाइका आधारमा पुस्तकमा लेखिएको उपप्राध्यापक अधिकारीको जिकिर छ । यस्तो महत्वपूर्ण इतिहास बोकेर पनि गुमनाम अवस्थामा रहनुपरेको छ । गोरखा सदरमुकामबाट करिब २ किलोमिटर पूर्व मानेपानी गाउँमा रहेको यो धाराले ऐतिहासिक महत्व बोकेर पनि प्रचारप्रसार हुन नसक्दा पछाडि परेको स्थानीय किसानले जानकारी दिनुभयो । 

अहिलेसम्म कुनै शिलापत्र र अभिलेख नभेटाए पनि गोरखा बजारको नजिकको दूरीमा पर्ने धारोदेखि दरबारसम्म सिंढी हुनु दरबार वरिपरि अन्य पानीका स्रोत नहुनु धाराको निर्माण प्नाचीन शैलीमा हुनु र गोरखा दरबारबाट दशैंको फूलपाती सेलाउन त्यही धारामा ल्याउनु विश्वास गर्ने बलियो आधार छ । 

तत्कालिन राजा पृथ्वीनारायण शाहले दैनिक रुपमा यसै धाराको पानी एक माना पिउने भएकाले यस ढुङ्गेधाराको नाम मानेपानी धारो रहन गएको जनविश्वास छ । अहिले याे गाउँ पनि मानेपानी गाउँ भनेर चिन्ने गरिएको छ । मानेपानी गाउँमा सार्की थरका ९९ प्रतिशत मानिसकाे बसोबास छ । तत्कालीन समयमा गोरखा दरबारका गोरखाली सेनाका जुत्ता सिलाउने सेते सार्की र भिउसने सार्कीका सन्तानहरु नै रहेको पुष्टि हुन्छ । 

गोरखा सदरमुकामसम्म आइपुग्न मानेपानीको बाटो भएर आवतजावत गर्ने गोरखाका सिरानचोक र अजिरकोटका तत्कलीन १३ वटा गाविसका मानिसहरु त्यस धाराको पानी नखाने खासै कम होलान् उतिबेला राजाले खाएको पानी मानेपानीमा एक माना खानुपर्छ भन्ने चलन नै चलेको बताउनुहुन्छ मानेपानी स्थानीय ८६ वर्षीय वृद्ध बालकृष्ण अच्छामी । 

त्यस्तै, गोरखा नगरपालिका-८ का पूर्व वडाध्यक्ष कृष्णबहादुर खत्रीले पनि मेरो बुबा र हजुरबुबाले पनि त्यस मानेपानीको पानी खानाले पनि गानोगोला ठिक हुने जनविश्वास भएको रहेकाले तत्कालीन बेलामाम पनि हजरबुबासहित परिवार नै गएर त्यस ठाउँकाे पानी खाएको उहाँको भनाइ छ ।