• ९ असार २०८१, आइतबार

बजेटमा सूचना प्रविधि क्षेत्रलाई विशेष प्राथमिकता

blog

काठमाडौँ, असार २ गते । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको बताउँदै भौगलिक वस्तुस्थिति र प्राविधिक जनशक्तिको विकासले नेपाल प्रतिस्पर्धीका रूपमा विकास हुँदै गइरहेको बताउनुभयो ।

शनिबार आयोजित राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पुनले सूचना प्रविधि क्षेत्रमा नेपाललाई प्रतिस्पर्धी बनाउन सरकारले सबै खालको वातावरण निर्माण गर्ने प्रतिबद्ध रहेको बताउनुभयो । आइटी क्षेत्रमा प्रतिस्पर्धाका आधार देखिएको भन्दै राज्यले उच्च प्राथमिकता दिने उहाँले बताउनुभयो ।  

उहाँले भन्नुभयो, “बजेटले पनि आर्थिक सुधारको नीति अगाडि सारेको छ । नयाँ आविष्कार गर्ने वातावरण राज्यले बनाउने छ । अवसरको समानता कायम गर्ने छ । नयाँ पुस्ताको अपेक्षालाई सम्बोधन गर्ने छ ।” मन्त्री पुनले बजेटमा प्रतिस्पर्धी सुधारको प्रस्ताव गरिएको बताउनुभयो । 

एआईको विकासले लाखौँ रोजगारी गुम्ने कुरा अन्तर्राष्ट्रिय अध्ययनले देखाएको भन्दै मन्त्री पुनले नयाँ प्रविधिलाई अनुसरण गरेर नयाँ रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “हामी जस्तो पछौटे परम्परागत जागिरमा कम प्रभाव पार्छ भन्ने छ तर हामी यसमै रहँदैनौँ ।”  

सूचना प्रविधि क्षेत्रलाई प्रवर्धन गर्न सरकारले अगामी बजेटमा निकै ठुलो महत्वाकाङ्क्षा लिएको बताउँदै उहाँले १० वर्षमा ३० खर्बको सेवा वा उत्पादन निर्यात गर्न सक्ने महत्वाकाङ्क्षी बजेट रहेको तर आइटी सेक्टरका मान्छेले त्यसलाई महत्वाकाङ्क्षा भनेका छैनन्, राम्रो वातावरण भयो भने १० वर्ष नलाग्ने दाबी गर्नुभयो । 

पाँच वर्षसम्म यससम्बन्धी करका नीति परिवर्तन नगर्ने बताउँदै उहाँले काठमाडौँ र सातै प्रदेश राजधानीलाई आइटी हब बनाउने बताउनुभयो । काठमाडौँका १० ठाउँमा शुल्क नलिएर सेन्टरहरू सञ्चालन गर्ने पनि उहाँले बताउनुभयो ।  

एआई अनुसन्धानकर्ता डा. विवेक पौडेलले एआईलाई विविध बनाउन जरुरी रहेको बताउनुभयो । विविधताका लागि डेटा जरुरी छ जो यहाँ छैन ठुलो कम्पनीसँग मात्रै भयो भने विविधता नहुने बताउनुभयो । उहाँले सुशासनको सवालमा पनि एआई मोडलको प्रयोग गर्न सकिने बताउनुभयो । कृषि, जमिन, जङ्गल, प्राकृतिक प्रकोपको पूर्वानुमान, कहाँ खतरा छ, त्यसको मोडल बनाउन सकिने उहाँले बताउनुभयो । 

डिजिटल मिडिया फाउन्डेसनका अध्यक्ष प्रवेश सुवेदीले राज्यको ध्यान नपुग्दा सूचना प्रविधि क्षेत्रमा नेपाल पछि परेको बताउनुभयो । सन् १९९५ देखि २००५ सम्मको समय फर्केर हेर्दा संसारका धेरै देश इन्टरनेट र संरचना प्रयोगको हिसाबले पछाडि थिए, नेपाल त्यतिबेला अगाडि थियो अहिले पछाडि परेको बताउनुभयो । 

नीतिगत रूपमा केही कमजोरी रहेका कारणले पछाडि परेको बताउँदै उहाँले एक खालको सङ्क्रमणकालीन अवस्थाबाट पार भएको अब राज्यले ध्यान दिनुपर्ने सुझाव दिनुभयो । सरकारले बजेटमा प्राथमिकता दिए जस्तै गुणात्मक रूपमा परिवर्तन ल्याउन उहाँले सुझाव दिनुभयो । सम्मेलनमा च्याट जिपिटीले स्वागत मन्तव्य राखेको थियो । एआईमार्फत सम्मेलनसम्बन्धी जानकारीमूलक सूचना पढिएको थियो ।