• ६ असार २०८१, बिहिबार

ज्येष्ठ नागरिकलाई लौरो र रेडियो

blog

तिलाचन पाण्डे

तम्घास, असार १ गते । चन्द्रकोट गाउँपालिकाले ज्येष्ठ नागरिकलाई लौरो र रेडियो सहयोग  गरेको छ । गाउँपालिका भित्रका ७९ वर्ष पूरा भएका र ८२ वर्ष ननाघेका १५२ ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप लौरो र रेडियो प्रदान गरिएको गाउँपालिका अध्यक्ष युवराज केसीले जानकारी दिनुभयो । 

ज्येष्ठ नागरिकलाई प्रदान गरिएको लौरो र रेडियोले बुढेसकालको सहारा बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । लौरोले हिँडडुल गर्नमा सहयोग गर्ने, रेडियोले एकल भएको महसुस नहुने र समाचारसँगै गीत सङ्गीतमा रमाउन सहयोग पुग्ने पालिकाले अपेक्षा लिएको छ । 

यस्तै ज्येष्ठ नागरिकहरूका समस्याहरू सुन्दै पालिकाले आगामी दिनमा गर्नुपर्ने कामहरूको बारेमा समेत सुझाव लिएको छ । ज्येष्ठ नागरिकले स्थानीय सरकार भएको महसुस हुनेगरी काम गर्न र सुख दुःखको सारथि बन्न आग्रह गरेको छ ।

पालिका अध्यक्ष तथा उपाध्यक्षले ज्येष्ठ नागरिकको साथमा पालिका सधैँ रहेको बताउनुभयो । गाउँपालिकाले गत वर्ष २२५ जना ज्येष्ठ नागरिकलाई थर्मस पनि वितरण गरेको छ ।