• ४ असार २०८१, मङ्गलबार

मनाङको स्यार्कु जङ्गलमा आगलागी

blog

यदुप्रसाद भट्ट
मनाङ, असार १ गते । 
वर्षाको मुखैमा मनाङको जङ्गलमा आगलागी भएको छ । चामे गाउँपालिका–१ तिमाङ स्यार्कुको जङ्गलमा शनिबार १ बजेदेखि आगलागी भएको हो । सो आगलागी भएको जङ्गल क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत पर्दछ ।

जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले आगो नियन्त्रणमा लिने कार्य भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल प्रहरीका १५ जनाले आगो निभाउने कार्य गरिरहेको छ । ‘‘आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । भिरालो क्षेत्र भएकाले सहजै आगो नियन्त्रणमा लिन भने समस्या भएको छ,’’ उहाँले भन्नुभयो । उक्त क्षेत्रमा टेलिफोन सम्पर्क समेत नहुँदा समस्या भएको उहाँले बताउनुभयो ।

डिभिजन वन कार्यालयका प्रमुख अरुण पराजुलीले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको क्षेत्रअन्तर्गतको जङ्गलमा आगलागी भएको जानकारी दिनुभयो । आगलागी नियन्त्रणका लागि सो क्षेत्रमा प्राविधिक टोली परिचालन गरी नियन्त्रणको प्रयास भइरहेको छ ।

प्रमुख पराजुलीले भन्नुभयो, ‘‘अहिले जङ्गलमा मात्रै आगलागी भएको छ, समयमा नै आगो नियन्त्रण गर्न सकिएमा बस्तीसम्म आउने अवस्था छैन । आगलागी भएको जङ्गलको वरिपरि बस्ती रहेको छ । समयमा आगो नियन्त्रण गर्न सकिएन भने बस्तीसम्म पुग्ने सम्भावना छ । भिरालो क्षेत्र भएकाले सकस भने रहेको छ ।’’ अहिलेसम्म कति क्षेत्रफलमा आगलागी भएको छ भन्ने आङ्कलन भने गर्न नसकिएको प्रमुख पराजुलीले बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले आगो नियन्त्रणका लागि नेपाल प्रहरीले आगो निभाउने कार्य गरिरहेको र सशस्त्र प्रहरी बल जाने तयारीमा रहेको जानकारी दिनुभयो । आगो अझै बढ्ने सम्भावना भएमा नेपाली सेनासमेत परिचालन गर्ने गरी तयारी अवस्थामा राखिएको जनाइएको छ ।

आगलागी भएको क्षेत्रमा फोन सम्पर्क समेत नहुँदा कति क्षेत्रमा आगलागी भएको र त्यहाँको अवस्थाका बारेमा जानकारी लिन समेत सकस भएको जिल्ला प्रशासन कार्यालयले मनाङले जनाएको छ ।