• ४ असार २०८१, मङ्गलबार

संस्कृतिलाई जोड्दै कास्कीको गुरुङ सम्पदा पदमार्ग

blog

फाइल तस्बिर

गण्डकी, असार १ गते । गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशले गुरुङ समुदायका प्राचीन बस्तीलाई समेट्दै गुरुङ सम्पदा पदमार्ग (गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल)को प्रवर्द्धन र विकासमा जुटेको छ । जथाभाबी बाटो खन्ने नाममा पदमार्ग मासिँदै गएका अवस्थामा सङ्घले गुरुङ जातिको उद्गमस्थल क्होलासोँथरसँगै प्राचीन बस्तीलाई समेट्दै त्यहाँका संस्कार संस्कृतिसमेत पदयात्रा पर्यटनसँग जोड्ने गरी प्रवर्द्धनका कार्यक्रम अघि बढाइएको हो । 

सङ्घले गुरुङहरूको प्राचीन बस्ती ताङतिङदेखि करापुडाँडा-ताप्रो-क्होलासोँथर-ठूलो लेक-थुर्जु-दुध पोखरी-गुरुङ देउराली-डाँफे खर्क-तिमाङ हुँदै बेँसीसहरसम्मलाई समेटेर गुरुङ सम्पदा पदमार्गका रूपमा विकास गर्न खोजेको गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङले बताउनुभयो । सङ्घले हालै नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय गण्डकी प्रदेश र पदमार्ग क्षेत्रका मादी, क्होलासोँथर, मर्स्याङ्दी र चामे गाउँपालिकाको सहयोगमा यही जेठ २१ गतेदेखि ३० गतेसम्म उक्त क्षेत्रमा १० दिने पदयात्रा अन्वेषण एवम् प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको उहाँले जानकारी दिनुभयो । 

मौलिक भाषा, धर्म र संस्कृतिले सम्पन्न गुरुङ समुदायका आफ्नै मातृभाषा, मौलिक पोसाक र लिपि रहेका छन् । आफ्ना संस्कार र संस्कृतिलाई पुस्तौँदेखि संरक्षण गर्दै आएको यो समुदायका घाँटु, सोरठीजस्ता परम्परागत संस्कृति पनि छन् । परम्परागत रूपमा भेडापालनसँगै सिलाइबुनाइलाई मुख्य पेसाका रूपमा अपनाउँदै आएको यो समुदाय वर्तमानमा भने विभिन्न सेवा पेसा व्यवसायसँग आबद्ध भएको पाइन्छ । पछिल्ला वर्षमा पर्यटन क्षेत्रमा आकर्षित यस समुदायका व्यक्तिहरू ठाउँ ठाउँमा आफ्ना प्राचीन गाउँ बस्तीमा घरवास (होमस्टे) सञ्चालन गर्दै आएका छन् । 

गण्डकी प्रदेशको कास्कीस्थित घान्द्रुक, सिक्लेस, ताङतिङ, यान्जाकोट, भाचोक, हेम्जाकोटा जस्ता गाउँहरूका साथै लमजुङका घले गाउँ, भुजुङ, पस गाउँलगायतका स्थानमा घरवास सञ्चालनमा आइसकेको छ । आफ्नो मौलिक संस्कार र संस्कृतिलाई पर्यटनसँग जोड्ने उद्देश्यका साथ गुरुङ पर्यटन व्यवसायी सङ्घले गुरुङ हेरिटेज टुरिजम डेस्टिनेसन विकास गर्न लागेको सङ्घका संस्थापक अध्यक्ष गुरुङले बताउनुभयो ।

“गुरुङ सम्पदा पदमार्गको प्रवर्द्धन र विकासलाई सङ्घले प्राथमिकता प्राप्त कार्यक्रमका रूपमा लिएको छ”, उहाँले भन्नुभयो, “हामीले लक्षित गरेको पदमार्ग छोटोमा चार दिनदेखि १२ दिनसम्म लम्ब्याउन सकिने छ ।” उहाँका अनुसार यस सम्पदा पदमार्ग प्राचीन गुरुङ गाउँहरू ताङतिङ, सिङ्दी, याम्जाकोट, पसगाउँ, भुजुङ, घलेगाउँ, सिउरुङ, जगत, तामाङ आदि जुन सुकै ठाउँबाट सुरु गर्न सकिन्छ । “गुरुङहरूको धर्म, संस्कृति र परम्परालाई पर्यटनसँग जोडेर संरक्षण र प्रचारप्रसार गर्न गुरुङ पर्यटन व्यवसायी सङ्घले नमुनाको रूपमा गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल अवधारणा ल्याएको हो”, उहाँले भन्नुभयो ।

गुरुङ सम्पदा पदमार्गलाई प्रकृति र संस्कृतिको सङ्गम थलोका रूपमा विकास गरिने गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष किसम कुमारी गुरुङले बताउनुभयो । गुरुङ समुदायको प्राचीन बस्तीका साथै त्यहाँ रहेका पुर्ख्यौली बाटोलाई पदयात्रा पर्यटनसँग जोड्ने आफूहरूको लक्ष्य रहेको उहाँको भनाइ छ । पदमार्ग क्षेत्रका अनुपम झरना, प्राकृतिक सौन्दर्यतालाई पदयात्रा पर्यटनसँग जोड्ने गरी आफूहरूले प्रयास थालेको उहाँले बताउनुभयो ।

पदमार्गका माथिल्लो भेगमा क्याम्पिङस्थलको विकाससँगै तल्लो भेगका गाउँका सामुदायिक घरवासलाई जोड्ने योजना रहेको गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका महासचिव तुल गुरुङ बताउनुहुन्छ । यस पदमार्गले पास गाउँ, भाचोक, याङजाकोट, तान्तिङ, सिक्लेसलगायत स्थानका सामुदायिक घरवासलाई पनि जोड्ने उहाँले बताउनुभयो । कास्कीको लमजुङ हुँदै मनाङसम्म जोडिने यस पदमार्ग क्षेत्रमा परापूर्वकालमा भोटमा नुन लिन जाने मार्गलाई पनि पदयात्रा पर्यटनसँग जोड्न खोजिएको उहाँको भनाइ छ ।

यस अभियानअन्तर्गत सङ्घले पदमार्ग पहिचानसँगै मानव जीवनका संस्कृति र यहाँमो जीवनशैलीका सूचना सङ्कलन, ब्रोसर प्रकाशन गरिने जनाएको छ । प्रवर्द्धन एवम् अन्वेषण भ्रमणका क्रममा पर्यटकीय नक्साको लागि जिपिएस डाटा सङ्कलन तथा फोटो तथा फुटेजहरू सङ्कलनका साथै ट्रेल भिडियो, ट्रेल मार्किङसमेत गरिएको जनाइएको छ । गुरुङ सम्पदा पदमार्ग गण्डकी प्रदेशका लागि मात्र नभई नेपालकै एक महत्त्वपूर्ण पदमार्गका रूपमा स्थापित बन्ने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख नवीन पोखरेलले बताउनुभयो ।

वैकल्पिक पदमार्गको खोजी भइरहेका अवस्थामा यस पदमार्ग छोटो दूरीको हाइकिङदेखि लामो दूरीको पदयात्राका लागि पनि महत्त्वपूर्ण बन्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो । यस पदमार्गको प्रवर्द्धन र विकास हुनसकेमा पदमार्ग क्षेत्रमा पर्ने विशेषतः लमजुङ र कास्की जिल्लाका मादी, मर्स्याङ्दी, क्होलासोँथर, चामेलगायत गाउँपालिकाका स्थानीय बासिन्दासँगै पर्यटन व्यवसायी लाभान्वित बन्ने उहाँले बताउनुभयो । रासस