• ४ असार २०८१, मङ्गलबार

दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको दोस्रो अडिटमा सुरुङको काम सुरु

blog

गलेश्वर (म्याग्दी), असार १ गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिका– ६ मा निर्माणाधीन २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको छ्यारछ्यारे माथिको ढाँडखर्कमा अडिट नं २ सुरुङको काम सुरु भएको छ ।

गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न सुरु गरेको सो आयोजनाको सुरुङ खन्ने काम पाँच महिनादेखि रोकिएको थियो । विसं २०७५ देखि पूर्वाधार निर्माण सुरु भएको यस आयोजनाको करिब एक किलोमिटर लम्बाइको पहिलो अडिटको काम सकिएको आयोजनाका प्रमुख गोपाल रेग्मीले जानकारी दिनुभयो ।

“सुरुङ खन्ने जिम्मा लिएका ठेकेदार काम छोडेर माघमा बेपत्ता भएपछि काम रोकिएको थियो”, आयोजना प्रमुख रेग्मीले भन्नुभयो, “अहिले आयोजनाले नै कामदार खोजेर अडिट नं २ को काम काम सुरु गरेका छौँ ।”

मालिका गाउँपालिका–६ को गोचाखोलादेखि पूर्वतर्फ पाँच सय मिटर र गोजुवा (इल्पु)तर्फ पाँच सय मिटर गरी एक किमी सुरुङ खनिसकिएको उहाँले बताउनुभयो ।

आयोजना प्रमुख रेग्मीका अनुसार जेठ मसान्तसम्म जलविद्युत् आयोजनाको कूल १५ प्रतिशत र सुरुङ खन्ने काम ४२ प्रतिशत पूरा भएको छ । उहाँका अनुसार जम्मा दुई हजार नौ सय मिटर सुरुङ निर्माण गर्नुपर्नेमा अहिलेसम्म एक हजार मिटर मात्र खनिएको छ ।

मालिका–५ देवीस्थान, ७ बिमको सिमानामा पर्ने इल्पुमा बाँध रहने आयोजनाको सुरुङमार्गबाट ल्याइने पानीलाई दुखुबेँसीमा रहने आउटलेटबाट बालौटेमा निर्माण हुने विद्युत गृहमा खसालेर विद्युत् उत्पादन गर्ने तयारी छ ।

पाँच अर्ब १५ करोड कूल लागत अनुमान गरिएको आयोजनामा ३० प्रतिशत प्रवर्द्धक र सर्वसाधारणको सेयर लगानी रहनेछ । न्यु लगानी वित्तीय संस्थाबाट ऋण लगानी हुने आयोजनाले जनाएको छ ।

मालिका गाउँपालिकाका पूर्वअध्यक्ष श्रीप्रसाद रोकाले म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन तथा निर्माणका क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रणालीमा आबद्ध गराउन निर्माणाधीन अवस्थामा रहेको डाँडाखेत–राहुघाट प्रसारण लाइन र सबस्टेसनको काम सम्पन्न भएपछि निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् आयोजनाले पनि धमाधम गति लिने बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७ बिमदेखि रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेशन निर्माण थालेको छ । सबस्टेशन र राहुघाट जोड्ने प्रसारण लाइन निर्माण सुरु भएसँगै अनुमति लिएर बसेका प्रवर्द्धक सक्रिय भएका छन् । 

सन् २०२१ को डिसेम्बर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी)सँग २६ मिलियन अमेरिकी डलरमा सबस्टेशन र प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । आयोजनाको ठेक्का अवधि ३० महिनाको छ । ठेक्का अवधि समाप्त हुनै लाग्दासमेत सबस्टेशन र प्रसारण लाइनको निर्माणले भने गति लिन सकेको छैन । कूल २५ किमी दूरीको १२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनको ७७ वटा टावर निर्माण हुनेछन् । टावर निर्माण हुने जग्गाको पहिचान र नापजाँच तथा अधिग्रहणका लागि मुआब्जा वितरणको काम सकिएको छ । रासस